भीमदत्तनगर । आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन् ।
प्रहरीको सहयोगमा स्थानीयले बसन्तीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पु¥याएका थिए । तर उनको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
छोराछोरीलाई आइतबार बिहान स्कूल पु¥याउन हिँडेकी बसन्तीले श्रीमानसंगको विवादकै कारण उखुबारीमा गएर सो घटना घटाएको प्रहरीले जनाएको छ ।
स्कूल बिदा भइसक्दा पनि छोराछोरी घर नआएपछि गाउँमै रहेको स्कूल पुगेका रामलाललाई शिक्षकले स्कूलमा हाजिर नभएको जानकारी गराएका थिए ।
उखुबारीमा जस्मीन छट्पटाइरहेको अन्य स्कूले विद्यार्थीले देखेपछि तत्काल गाउँले उखुबारीमा पुगेका थिए ।
प्रहरीका अनुसार दीपेशको उखुबारीमै मृत्यु भइसकेको थियो भने जस्मीनको स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले परिवारका तीनै जनाको मृत्यु भएपछि रामलाल चौधरी पनि बेहोस भएका छन् ।
उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ ।
प्रहरीका अनुसार आइतबार उपचारका क्रममा रहेकी बसन्तीले श्रीमानसंगको विवादको झोकमा आफूले घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ । रासस