arrow

के तरूण दलमा पनि नेविसंघकै हावा लाग्या हो ?

logo
बाबु नेपाली
प्रकाशित २०७३ भदौ ६ सोमबार
tarun-dal.jpeg
काठमाडौं। जननायक वीपी कोइरालाको मूल प्रेरणामा वि.सं. २०१० कार्तिक १० गते गठित नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलमा अहिले एक लाखको हाराहारीमा सदस्य छन्। वर्षौदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान यसको गठन भए पनि तरूण दल भने पटकपटक आफ्नै बाटो बिराएर हिंडिरहेको छ। 
 
साढे ४ वर्षअघि छ महिनाभित्र चुनाव गर्नेगरी काँग्रेसले उदयशमशेर जवराको नेतृत्वमा ४५ सदस्यीय तदर्थ समिति गठन गरे पनि अहिलेसम्म चुनाव हुन सकेको छैन। यसपटक शेरबहादुर देउवा काँग्रेसको बागडोर सम्हाल्न आएपछि पहिलो प्राथमिकतामा भ्रातृ संगठनहरुको चुनावलाई राखे। 
 
सो अनुसार नेविसंघको महाधिवेशन १२ दिनको सकसपूर्ण घम्साघम्सीबीच सकिएको छ । महाधिवेशन भएपछि बल्ल छनोट भएका प्रतिनिधिले दिएको भोटबाट नैनसिंह महर अध्यक्ष बनेका छन् । ठीक त्यही स्थितिमा तरूण दल पनि रहेको छ । तरूण दलको महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म हुँदैछ । तर अहिलेसम्म जिल्लाकै अधिवेशन सकिएको छैन । 
 
तरूण दल प्रचारप्रसार विभाग संयोजक मेदिनी सिटौलाका अनुसार ४७ जिल्लामा अधिवेशन भएको छ । तीमध्ये धादिङ, बाँके र रुकुममा विवाद छ । त्यस्तै ११ जिल्लाको अधिवेशन हुने क्रममा छ । बाँकी जिल्लाको प्रक्रिया नै सुरु भएको छैन। अझ अनौठो त २ नम्बर प्रदेशमा एउटा जिल्लाको पनि अधिवेशन भएको छैन । 
 
तत्काल बाँकी जिल्लाको अधिवेशन हुने स्थिति छैन । काठमाडौंमा पनि अधिवेशन त भएको छैन नै काँग्रेसको तत्कालीन उर्दीले ठूलो समस्या पारेको छ। तदर्थ समितिमा भएकाहरुले महाधिवेशनमा भाग लिन नपाउने व्यवस्था नेविसंघमा झै भए तरुण दलका सबै ४५ जनाले चुनावी महाधिवेशनमा भाग लिन पाउने छैनन। तर यो अवस्था रहे नेतृत्वमा ठूलो खाडल पर्ने भन्दै वर्तमान कार्यसमितिका सबै यसलाई नेविसंघमा झै गर्न नहुनेमा लविङमा रहेका छन्। । 
 
प्रचारप्रसार संयोजक सिटौलाले भन्छन्, ‘अहिलेको मुख्य मुद्धा नै यही हो । हामीले तदर्थ समितिमा भएका सदस्यहरु पनि महाधिवेशनमा लड्न पाउनुपर्छ भनिरहेका छौं । पार्टीलाई निवेदन पनि दिइसकेका छौं । सुुनुवाइ भएको छैन ।’ 
 
सिटौलाले यो मागको सुुुनुवाइ केही दिनमै हुने हो भने जिल्ला अधिवेशन गराएर समयमै महाधिवेशन गर्न सकिने बताए । यदि पार्टीले बेवास्ता गरे महाधिवेशन हुने कुरामा शंका रहेको तरुण दलका नेताहरु बताउँछन्।  
 
तरूण दलका चार वटा उद्धेश्यमात्र छन् । ती हुन् –
१, राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहने ।
२, नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउने ।
३, समाजमा विद्यमान सामाजिक कुरीति, सामन्ती सोचाइ र संस्कार विरुद्ध संघर्ष गर्ने गराउने ।
४, स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाजको निर्माण गराउने ।
 
यी उद्धेश्यबाट अहिलेको तरूण दल अगाडि बढ्न सकिरहेको छैन। तरूण दलको गतिविधी पनि न्यून छ। बिना गतिविधि अगाडि बढिरहेको तरूण दलबाट नागरिकस्तरबाट धेरै अपेक्षा गर्न सकिदैन । जब राम्रो पक्षले तान्न सकेन भने नराम्रो पक्ष हावी हुन्छ । एकथरी तरूण दलको टिम अहिलेको कार्यसमितिलाई चुनावमा भाग लिन नदिने हो भने ठूलो भ्याकुम खडा हुन्छ भनिरहेका छन् । हो, अलि पहिचान बनाएका जति पनि सदस्य छन् ती सबै तदर्थ समितिमा छन् । त्यसले पक्कै भ्याकुम खडा गर्न सक्छ ।
 
यसै पनि तरूण दललाई साँच्चिकै तरूणको जत्था बनाउनु जरूरी छ। जसरी नेविसंघको राजनीति गर्ने उमेर ३२ वर्ष तोकिएको छ त्यसरी नै तरूण दलको सदस्य बन्न पनि ४५ वर्ष मुनीको तोक्दा के फरक पर्छ। अहिलेको तरुण नेतृत्व पनि कार्यसमितिमा पुग्न ४५ बर्षको हदबन्दीलाई कायम राख्नुपर्नेमा देखिएका छन्। तर उनीहरुको एउटै तर्क छ यो तदर्थ समितिमा रहेकाहरुले उमेद्वार बन्न नपाउने व्यवस्था भने खारेज हुनुपर्छ। तरूण दस्ताले उसका उद्धेश्य पूर्ति गर्नका लागि आपत् विपद्मा सघाउने काम गर्नुपर्छ। भयमुक्त वातावरण बनाउन मुठभेडमा पनि होमिन पर्ने हुनसक्छ । राम्रोका लागि कहिलेकाहीं शक्तिको प्रयोग हुन सक्छ। त्यसका लागि उमेर पाकेका कथित तरूण नेता तथा कार्यकर्ताको जरूरी पनि छैन । 
 
तरूण दलका सदस्य भनेका काँग्रेसका सिपाही हुन् । सिपाहीको उमेर त हुनैपर्छ । नेविसंघको अर्को कार्यकालदेखि तोकिए पनि तरूण दलको अहिले नै तोक्दा फरक पर्दैन। तसर्थ अहिले तरूण दलमा नेविसंघको हावा लागेजसरी विद्रोहका आवाज उठ्न थालेका छन् । राम्रा आवाजको स्वागत गर्दै गलत आवाजलाई बाहिर आउनै नदिने वातावरण बनाएर तरूण दलको चुनावी महाधिवेशन समयमै हुन सकोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ