काठमाडौं। आगामी संस्करणको जिम्मा टोकियोलाई सुम्पिँदै रियो ओलम्पिक २०१६ सकिएको छ। सोमबार बिहान मराकाना रंगशालामा एक विशेष समारोहबीच रियो ओलम्पिकको औपचारिक बिदाई भएको हो।
समापन भएसँगै रियो ओलम्पिकमा पदक तालिकाको पनि टुंगो लागेको छ। ओलम्पिकको अघिल्लो संस्करण, लन्डन ओलम्पिक २०१२ मा विभिन्न २६ खेल अन्तर्गत ३०२ इभेन्टमा प्रतिस्पर्धा भएकोमा, रियो ओलम्पिक २०१६ मा भने २८ खेल अन्तर्गत ३०६ इभेन्टमा प्रतिस्पर्धा भएको हो।
हरेक ओलम्पिक संस्करणमा प्रदर्शन मार्फत आफुलाई अब्बल साबित गर्ने अमेरिकाले रियो ओलम्पिक २०१६ मा पनि पहिलो स्थान हासिल गरेको छ। ४६ स्वर्ण हात पार्दे अमेरिकाले आफुलाई पहिलो स्थानमा सुरक्षित गरेको छ। अमेरिकाको कुल पदक भने १२१ छ। उसको खातामा ३७ रजत र ३८ काँस्य पनि छ।
ओलम्पिकको अघिल्लो संस्करण लन्डन ओलम्पिकमा पनि अमेरिकाले ४६ स्वर्ण नै हात पारेको थियो। तर रजत र काँस्य भने समान २९ वटा हात पारेको थियो। यसपटक भने उसले यी दुवै पदकमा सुधार गरेको छ। अघिल्लो संस्करणमा कुल १०४ पदक जितेको अमेरिकाले यो संस्करणमा भने कुल १२१ पदक हात पार्यो। यसकारण पनि अमेरिकाको लागि रियो ओलम्पिक महत्वपूर्ण हुन पुग्यो।
अघिल्लो संस्करण, लन्डन ओलम्पिक २०१२ मा तेस्रो भएको बेलायत, रियो ओलम्पिकमा भने दोस्रो भएको छ। २७ स्वर्णसहित बेलायत दोस्रो भएको हो। बेलायतले ओलम्पिकको अघिल्लो संस्करणमा दोस्रो भएको चीनलाई पछि पारेको हो। रियो ओलम्पिकमा बेलायतको कुल पदक भने ६७ छ। उसको खातामा २३ रजत र १७ काँस्य छ।
रियो ओलम्पिक चीनका लागि भने खाँसै सुखद रहन सकेन। ओलम्पिकको अघिल्लो संस्करणमा दोस्रो भएको चीनले रियो ओलम्पिकमा भने तेस्रो स्थानमा चित्त बुझायो। रियो ओलम्पिमा, २६ स्वर्ण हात पारेको चीन तेस्रो भयो यद्दपी उसको कुल पदक संख्या भने बेलायतको भन्दा बढी छ। चीनको कुल पदक ७० छ। उसको खातामा १८ रजत र २६ काँस्य छ।
अघिल्लो संस्करणलाई हेर्दा चीनको कुल पदक संख्यामा पनि गिरावट आएको छ। अघिल्लो संस्करणमा कुल ८८ पदक जितेको चीनले यसपटक भने मात्र ७० पदक हात पारेको छ। चीन आफुले आयोजना गरेको ओलम्पिक संस्करण बेजिङ ओलम्पिक २००८ मा पहिलो भएको थियो। त्यसयता चीनको ओलम्पिक प्रदर्शन खस्कँदै आएको छ।
१९ स्वर्णसहित रूस चौथो र १७ स्वर्णसहित जर्मनी पाँचौं भएको छ। रूस ओलम्पिकको अघिल्लो संस्करणमा पनि चौंथो नै भएको थियो यद्दपी स्वर्ण संख्यामा भने केही कमी देखिएको छ। रूसले अघिल्लो संस्करणमा २४ स्वर्ण हात पारेको थियो। अघिल्लो संस्करणमा छैठौं भएको जर्मनी यसपटक भने आफुलाई एक स्थान सुधार गर्दै पाँचौं भएको छ। जर्मनीको खातामा कुल १७ स्वर्ण, १० रजत र १५ काँस्य छ।
अघिल्लो संस्करणमा ११ स्थानमा रहेको जापानले आफुलाई व्यापक सुधार गर्दै रियो ओलम्पिकमा छैठौं स्थान हासिल गरेको छ। १२ स्वर्ण हात पार्दै जापान छैठौं स्थान ओगटेको हो। फ्रान्स भने अघिल्लो र यसपटकको ओलम्पिक संस्करणमा सातौं स्थानमा यथावत छ। यद्दपी स्वर्ण संख्या भने कमी छ। अघिल्लो संस्करणमा ११ स्वर्ण हात पारेको फ्रान्सको यसपटक भने १० स्वर्ण छ।
९ स्वर्ण सहित दक्षिण कोरिया आठौं स्थानमा छ। अघिल्लो संस्करणमा दक्षिण कोरिया पाँचौं भएको थियो।
यस्तै समान ८ स्वर्णसहित इटाली र अष्ट्रेलिया क्रमश: नवौं र दशौं भएको छ। स्वर्ण संख्या समान भएपनि रजत पदक इटालीको बढी छ। फेरि कुल पदक भने अष्ट्रेलियाको बढी छ। १२ रजत र ८ काँस्य गरि इटालीको कुल पदक २८ छ। त्यस्तै ११ रजत र १० काँस्य गरि अष्ट्रेलियाको कुल पदक २९ छ।
कुल २०५ मुलुकको सहभागिता रहेको रियो ओलम्पिकमा ८७ मुलुकले पदक हात पारेका छन्।