काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार समयमै निर्वाचन गराउन प्रतिवद्ध रहेको बताएका छन् ।
सोमबार निर्वाचन आयोगको कार्यालयमा आयोगका प्रमूख आयुक्त अयोधिप्रसाद यादव र अन्य आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता गरेका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘समयमै निर्वाचन गराउन सरकार गम्भीर र प्रतिवद्ध छ । संविधान कार्यान्वयन भएन भने देश र राजनीति नै दुर्घटनामा पर्न सक्छ । त्यसैले निर्वाचनको विकल्प छैन, आयोगले पनि यही गम्भीरताका साथ काम गरोस् भन्ने सरकारको आग्रह छ ।’
दाहाल आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्न आवश्यक पर्ने कानून निर्माणको आवश्यक परामर्श र निर्वाचन आयोगका अफ्ठ्याराबारे छलफल गर्न आयोग पुगेका हुन् ।
प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नभएर सरकार संविधानको व्यवस्था बमोजिम बन्ने स्थानीय तहको निर्वाचनको गृहकार्यमा जुटेको पनि बताए । प्रधानमन्त्रीले भने, ‘स्थानीय निकायको निर्वाचन कि स्थानीय तहको निर्वाचन भन्ने अलमलमा हामी पर्नु हुँदैन । सरकार संविधानले निर्दिष्ट गरेको स्थानीय तहको निर्वाचनको गृहकार्यमा जुटेको छ ।’
भेटमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले निर्वाचनको तयारीका लागि सरकारका सबै अंगहरुले तदारुकताका साथ काम गर्नुपर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग सरकारले निर्दिष्ट गरेबमोजिम निर्वाचन गर्न तयारी अवस्थामा रहेको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक कानुन निर्माण र संशोधन, भौतिक पूर्वाधारको तयारी र निर्वाचनको गृहकार्यका लागि आवश्यक पर्ने समयको व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।