काठमाडौं । न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि आन्दोलित नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघका कारण काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । मजदुरले डिपो ठप्प पारेपछि उपत्यकामा पेट्रोलियम पदार्थ विक्री वितरण ठप्प भएको हो ।
उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन् । संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको जनाएको छ ।
संघका उपाध्यक्ष लक्ष्मण न्यौपानेले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबारदेखि नै अवरोधका कार्यक्रम थालेको बताए ।
गत आइतबार उनीहरुले थानकोट डिपोमा १० देखि १२ बजेसम्म धर्ना दिएर लोड भएका ट्यांकर बाहिर आउन नदिएपछि दिउँसो ३ बजे पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनअन्तर्गतको बागमती एकाइले वार्तामा बोलाएको थियो ।
वार्तामा व्यवसायीले एक साताभित्र न्यूनतम पारिश्रमिक सबै मजदुरलाई दिने बताएका थिए । तर संघले भने व्यवसायीले हप्ता दिनभित्र दिन्छौं भनेको कुरामा हामीलाई विश्वास छैन भन्दै सोमबार आपूर्ति वितरण झनै असहज पारेको थियो । मंगलबार बिहान अधिकांश ठाउँमा पेट्रोलियम वितरण ठप्प छ ।
उनीहरूले न्यूनतम पारिश्रमिक नदिने पम्पको आपूर्तिमा थप अवरोध गर्ने जनाएका छन् । साझा, सेना, प्रहरी र सशस्त्रका पम्पमा अवरोध नहुने मजदुरको भनाइ छ ।