- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई तर्साउन र बार्गेनिङ पावर बढाउनका लागि नेकपा एमालेसँग नजिक हुन थालेको छ । वामगठबन्धनको हल्ला चलिरहेको बेला माओवादीका नेताहरु एमालेसँग नजिक भएका छन् ।
माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुन सम्मका नेताहरुले एमालेका नेताहरुसँग छलफल गरिरहेका छन् । औपचारिक अनौपचारिक दुवै रुपमा उनीहरुले भेटघाट गरेका खवरहरु बाहिर आइसकेका छन् ।
स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वामगठबन्धनको कुरा उठिरहेका बेला एमाले र माओवादीका नेताहरु एमालेसँग लहसिन पुगेका हुन् वा बाहिर एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेका छन् भन्ने बारेमा केही खुलेको छैन ।
आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वामगठबन्धनको विषयमा कुराकानी भएको थियो । उनीहरुबीच विगतमा पाएको जनमतलाई जोगाउन नसकेको र वामपन्थीहरुलाई फुटाउन लागेका पक्षहरुको बारेमा पनि सामान्य छलफल भएको थियो ।
केपी ओलीसँग माओवादीका नेता श्रेष्ठले करिब दुई घण्टा छलफल गरेका थिए । भेटघाटको क्रममा ओली र श्रेष्ठबीच नेपालमा विदेशी चलखेल बढेको, नेपालको राष्ट्रियता खतरामा परेको विषयमा छलफल भएको थियो । उनीहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको बारेमा पनि छलफल भएको थियो ।
साथै आगामी संघीय संसदको निर्वाचनमा वामगठबन्धन गरेर जान सकिने विषयमा छलफल भएको थियो । माओवादीले कांग्रेसलाई ८० सीट दिएर बाँकी ८५ सीटमा गठबन्धन गर्ने र कांग्रेसलाई एक्लो बनाएर सत्ताको चावीआफ्नो हातमा राख्ने कोसिस गरेको अवस्थामा एमालेसँगको भेटघाटलाई अर्थपूर्ण लिइएको छ ।
‘अहिले वामपन्थी एकताको विषयमा पनि त्यही कारण एमाले र माओवादीका नेताहरुबीच विभिन्न चरणमा छलफल भैरहेको छ,’ माओवादीका एक नेताले भने । एमालेकै नेताहरुले पनि माओवादीका नेताहरु एमालेका नेताहरुसँग भेटघाट गर्नुलाई एमाले देखाएर कांग्रेससँग सीट बार्गेनिङ गर्न खोजिरहेको बताइरहेका छन् ।
माओवादीका नेताहरुले भने आफूहरु साँच्चिकै वामगठबन्धनका लागि तयार भएको बताउँदै आएका छन् । माओवादीका नेताहरुले एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले नेताहरुसँग भेटघाट गरेका थिए ।
विगतमा चुनावी गठबन्धनमात्र होइन पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए । अहिले स्थानीय तह निर्वाचनको परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वामगठबन्धन गर्नुपर्ने महसुस गरेका कारण दुवै पार्टीका नेताहरुबीच भेटघाट संभव भएको बताइएको छ ।
स्रोतका अनुसार उनीहरुले सकेसम्म धेरै स्थानमा सहकार्य गर्ने गरी अघि बढ्ने विषयमा पनि छलफल थालेका छन् । त्यसका लागि श्रेष्ठ लगायतका नेताहरुले दुवै पार्टीमा विश्वासको वातावरण सिर्जना गर्ने गरी अघि बढ्न खोजिरहेका छन् ।
एमाले नेता प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुनबीच भएको गोप्य भेटघाटमा पनि आगामी संघीय संसदको चुनावी गठबन्धन गरेर जान सक्ने विषयमा बहस र छलफल शुरु गरेका थिए ।
स्थानीय तहको निर्वाचनपछि सत्तागठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस निकै उत्साही भएपछि माओवादी तथा एमालेबाट विभाजित भएको नेकपा एसलाई अप्ठेरो परेका कारण उनीहरुले एमालेलाई देखाएर कांग्रेससँगको शक्ति बाँडफाँडमा धेरै सीट हासिल गर्ने लक्ष्य राखेको स्रोतको दाबी छ ।
स्थानीय निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धन भएको थियो । तर पनि एमालेले करिब ३० प्रतिशत जित निकाल्न सफल भएपछि फेरि पनि एमाले नै सबैभन्दा ठूलो दल बन्ने भयबाट माओवादी निकै ग्रसित रहेका कारण पनि अल्मलिएको स्रोतको दाबी छ ।
हाल संसदमा पनि सबैभन्दा ठूलो दल रहेको एमालेबाटै वामगठबन्धनको प्रस्ताव आउनुपर्ने भन्दै माओवादी लगायतका कम्युनिष्ट घटकहरुले चासो र चिन्ता प्रकट गर्दै गर्दा एमाले र माओवादीका नेताहरु नजिकिन थालेका हुन् कि भन्ने अर्को शंका पनि रहेको नेताहरुले अनुमान गरेका छन् ।