उलानबटार । एएफ्सी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन थ्रीस्टार क्लबले मंगलबार कम्बोडियाको नागाबल्र्ड क्लबसँग खेल्दैछ । मंगोलियाको उलानबटारमा जारी खेल नेपाली समय अनुसार दिउँसोको २.४५ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा हुनेछ ।
थ्रीस्टारले पहिलो खेलमा मंगोलियाकै एर्चिम क्लबलाई उसकै घरेलु मैदानमा २–० ले पराजित गरेको थियो ।
समूह बी को यो छनौट प्रतियोगितामा थ्रीस्टार ३ अंकसहित पहिलो स्थानमा छ । शिर्ष स्थानमा भएको हुनाले थ्रीस्टारको अर्को चरणमा जाने संभावना बढी छ । तैपनि विपक्षीलाई कमजोर मानेर लिन नहुने कप्तान विक्रम लामा बताउँछन् ।
नागावल्र्डसँगको खेलमा पूरा शक्ति लगाएर खेलेमा राम्रो नतिजा आउनेमा कुनै दुई मत नै नहुने उनको विश्वास छ । ‘विपक्षी जस्तो सुकै भए पनि कमजोर मान्न हुन्न’ उनले भने, ‘हामी खेलाडीहरुको टिम स्प्रिट राम्रो छ , आशा छ हामीले राम्रो नतिजा अवश्य दिनेछौँ ।’
उता कम्बोडियाको क्लब नागाबल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले पर्याप्त तयारी गरेर टोली मंगोलिया आएको बताए ।
मंगलबारको खेलमा थ्रिस्टार विजयी भए , स्वतः एएफ्सी कप फुटबलको अर्को चरणमा पुग्नेछ भने अन्य नतिजा आएमा नागाबल्र्ड र एर्चिमवीचको खेलको नतिजा कुर्नुपर्नेछ ।
तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।