arrow

काँग्रेसबाट मन्त्री बन्नेहरुको टुङगो लाग्दै, गगन थापा मन्त्री हुने !

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसबाट सरकारमा जानेहरुको नामको टुङगो अझै लागेको छैन। मुख्य रुपमा सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले नेतृत्व गर्ने तीन समुहका तर्फबाट सरकारमा पठाउने नामहरुको आन्तरिक रुपमा टुङगो लगाइएपनि बाहिर अझै सार्वजनिक गरिएको छैन। मंगलवार विहान सिंहदरवारमा बस्ने संसदीय दलको वैठकबाट सरकारमा जाने मन्त्रीहरुको बारेमा सैद्धान्तिक छलफल र उनीहरुको मापदण्ड तय गरिने बताइएको छ। खासगरि बरिष्ठ नेता पौडेल समुहबाट सभापति देउवामाथि विधी विधान मिचेको आरोप लागिरहँदा उनले यो वैठकबाट सरकारमा पठाउनेहरुको नाम औपचारिक रुपमा सल्लाहमा ल्याउने छन्। 
 
सरकारमा पठाउनेहरुको नाम टुङगो लगाउनु अघी भागवण्डामा अझै पौडेल पक्ष सन्तुष्ट हुन सकिरहेको छैन। पौडेल पक्ष अहिले पनि ६ मन्त्रालय नभए पनि ५ मन्त्रालय भन्दा कममा सरकारमा नजाने अडानमा छ। परराष्ट्र, सामान्य प्रसासन, पर्यटन, शान्ति, महिला वालवालिका तथा समाजकल्याण मन्त्रालय सहितका मन्त्रालयमा पौडेल पक्षको दावी छ। पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव मन्त्री बन्ने चर्चामा छिन। उनले आफू नभएको अवस्थामा महोत्तरीकी किरण यादवलाई सिफारिस गर्नेछिन। डा. शेखर कोइराला पौडेल पक्षको सिफारिसमा मन्त्री नहुने भएपछि उनको लागि सिफारिस गरिएको परराष्ट्र मन्त्रीको पदमा अरुनै सिफारिस गर्ने पौडेल पक्षको तयारी छ। तर देउवाले परराष्ट्र मन्त्रालय पौडेल पक्षलाई दिने सम्भावना एकदमै कम छ। देउवाले परराष्ट्रमा इच्छा देखाएका प्रकाशशरण महतलाई पर्यटनमा पठाउन चाहेका छन्। सबै कुरा मिलेमा देउवाले कोइरालालाई परराष्ट्र मन्त्रालयमा पठाउन सक्छन। तर उनले सरकारमा भन्दा संगठनमा काम गर्ने भन्न थालेको अवस्थामा देउवाले परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई मन्त्री बनाउन पनि सक्छन्। चीनसँगको सम्वन्ध सुधार्न प्रधानमन्त्री स्वयं लाग्ने, भारतसँग सम्वन्ध सुधार्न विमलेन्द्र निधीलाई अगाडी सार्दै जाँदा पश्चिमा र अरु देशहरुसँग सम्वन्ध बनाउन आरजु उपयुक्त पात्र हुने बुझाइ देउवालाई उनका निकटहरुले पारेका छन्। तर उनले परिवारवादको आरोप लाग्ने हुनाले त्यो खतरा मोल्न देउवा हिच्किचाउन सक्छन्। 
 
पौडेल समुहले आफ्ना कुरा धेरै भन्दा धेरै देउवालाई मान्य वाध्य पार्न मन्त्रालयको संख्यामा अडान राख्ने तयारी गरेको छ। आफूले भनेको अनुसार नभए सरकारमा नजाने सम्मको अडान राख्ने तयारीमा पौडेल समुह छ। त्यसैले सभापति देउवाले आफ्नो समुहलाई राख्ने तयारी गरेको मन्त्रालयमा पनि पौडेल समुहले दावी राख्दै आएको छ। परराष्ट्र र पर्यटन मन्त्रालयमा पौडेल समुहको अडान त्यसैको प्रतिफल हो। 
 
पौडेल समुहले महिला कोटामा कमला पन्तलाई पठाउन चाहेका छन्। यहि पन्तलाई पठाउन सकिएन भने पन्तको समेत सिफारिसमा धनुषाका रामकृष्ण यादव मन्त्री बन्न सक्छन। धनुषाका आफ्ना सर्वकालिक प्रतिष्पर्धी विमलेन्द्र निधी उपप्रधानमन्त्री सहित गृहमन्त्री भएपछि आफू मन्त्री बन्नुपर्ने दवाव आनन्दप्रसाद ढुंगानाले पौडेललाई दिएका छन्। उनको यसअघी शुसिल कोइराला नेतृत्वको सरकारमा मन्त्री हुने तयारी पनि अन्तमि चरणमा आएर रोकिएको थियो। पौडेलले उपत्यकाबाट नवीन्द्रराज जोशीलाई सरकारमा पठाउन सक्छन। महामन्त्री डा शशांक कोइरालाको तर्फबाट दीपक गिरी सामान्य प्रसासनको जिम्मेवारी सहित सरकारमा जान सक्छन। उनलाई पर्यटनको जिम्मेवारी पनि आउन सक्छ।
 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन हुँदै देउवाले आफू निकट दुई जना निधी र रमेश लेखकलाई महत्वपूर्ण मन्त्रालय सहित सरकारमा पठासकेका छन्। सरकार गठन भएको दुई सातापछि कांग्रेसले आफ्नो तर्फबाट थप ११ जनालाई आफूले पाउने थप ११ मन्त्रालयको नेतृत्व गर्ने गरि पठाउन लागेको हो। केहि राज्यमन्त्री समेत थपिदा यो संख्या वढ्न सक्छ।
 
मंगलवार मन्त्रीहरुको नाम तय भएपछि सम्भवत वुधवार सपथ हुन सक्छ। बुधवार नै देउवा पत्नीसहित सिंगापुर जान लागेकाले पनि मन्त्रिपरिषद विस्तार बुधवार भन्दा पर नजाने बताइएको छ। विस्तारमा जनसम्पर्कको मन्त्रालय सहित नेता अर्जुननरसिंह केसी सरकारमा जानेछन्। उनले शिक्षाको जिम्मेवारी पाउने बताइएको छ। परराष्ट्रमा पनि उनको चर्चा छ। डा. प्रकाशशरण महत परराष्ट्रको आकाँक्षी भएपनि उनले परराष्ट्र वा पर्यटन के पाउने अझै टुङगो लाग्न बाँकी छ। बालकृष्ण खाँड पनि कुनै एक मन्त्री बन्न सक्छन्। उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाउन सक्छन्। मधेशी र मुस्लिम अनुहार फरमुल्लाह मन्सुरलाई देउवाले महाधिवेशनमा लगाएको गुन तिर्न पनि मन्त्री बनाउँदैछन्। अमरेसकुमार सिंह गृहराज्यमन्त्री बन्न सक्छन्। कर्णालीका जीवनबहादुर शाही बन मन्त्रालयमा र मीन विश्वकर्मा पनि सभापति देउवाकै समुहबाट मन्त्री बन्ने सम्भावना छ। अम्विका बस्नेत महिलाबाट मन्त्री बन्ने कोटामा छिन। त्यस्तै, दाङकी सुशीला चौधरी र झापाका केशवकुमार बुढाथोकी पनि मन्त्री हुने चर्चामा छन्। सिटौलाको गृह जिल्ला झापाका बुढाथोकीलाई बनाउँदा जिल्लामा उनको प्रभावलाई घटाउन सकिने विश्वप्रकाश शर्मा सहितका देउवा पक्षका नेताहरुको सुझावपछि वुढाथोकीको चर्चा व्यापक छ। सिटौलाले झापाकै सुधीरकुमार शिवाकोटीलाई मन्त्री बनाउने चर्चा पछि यो चर्चा पनि व्यापक भएको छ। खुम बहादुर खड्का निकट रहेका शंकर भण्डारी पनि मन्त्री बन्ने लिष्टमा छन्।
 
काँग्रेस नेता कृष्णप्रसाद सिटौला समुहबाट मन्त्रीमा गगन थापा र सुधीरकुमार शिवाकोटीको नाम सिफारिस गरिएको छ। राज्यमन्त्रीमा भने तारामान गुरुङ र अमृतलाल राजवंशीमध्ये एक जना हुने सम्भावना छ। झापाका शिवाकोटी मन्त्री बने अमृतलाल पर्ने सम्भावना न्यून हुन्छ। सरकारमा समुहका तर्फबाट प्रभावशाली व्यक्तिलाई मन्त्री बनाउँदा साख राम्रो हुने विश्लेषण पछि सिटौलाले थापाको नाम सिफारिस गरेका छन्। उपत्यकाको पार्टी भित्रको आन्तरिक राजनीतिक समिकरणलाई मिलाउन पनि थापालाई मन्त्री बनाउनुपर्ने निष्कर्षमा सिटौला पुगेको बताइएको छ। 'वस्न योग्य काठमाडौं उपत्यका' को लागि सांसद भएयता काम गर्दै आएका थापालाई उनले काम गर्दै आएको विषयसँग मिल्ने शहरी विकास मन्त्रालयमा पठाउने तयारी छ। उपत्यकाबाट चर्चामा रहेका भिमसेनदास प्रधानलाई पार्टी सभापति देउवा प्रधानमन्त्री हुँदा मन्त्रीमा पठाउने सिटौलाको तयारी छ। सम्भवत त्यस बेलामा उपप्रधानमन्त्री सहित सिटौला पनि सरकारमा जान सक्छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ