arrow

रघुवीर महासेठ र पद्मा अर्यालले शिलान्यास गरेको पुलले विपद् निम्ताउँदै

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ असार १ बुधबार
syangja-pul.jpg

स्याङ्जा । समयमै पुल निर्माण सम्पन्न नहुँदा विपद्को सामाना गर्न बाध्य छन् स्याङ्जाको वालिङ ११ डौवाका स्थानीयहरू । २ वर्षमा सम्पन्न हुनुपर्ने पुल ५ वर्ष सम्म पनि निर्माण नहुँदा अहिले बर्षादले खेतीयोग्य जमिन सहित जनधनको क्षति हुने होकी भन्दै स्थानीयहरू त्रसित भएका हुन् । स्याङ्जाको वालिङ र भीरकोट जोड्ने आँधी खोलामा निर्माण हुन लागेको मोटरेवल पुलको बाधले आँधी खोलामा आउने बाढीले वालिङ ११ डौवावासी त्रसित भएर बस्न विवश छन् । 

रायमाझी क्याराभान कन्स्ट्रकशनले २ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का लिएको छाङ्छाङदी छतिवन पुल समयमै निर्माण सम्पन्न नहुँदा आँधीखोलाले आसपासको जमिन कटान शुरु गरिरहेको छ । गतबर्ष आँधी खोलामा आएको बाढीले पनि समस्या ल्याए पनि मानवीय र खेतीयोग्य जमिनमा खासै क्षति पुराएको थिएन । 

पुल निर्माण गर्दा लगाएको बाँध समयमै नखोलिदिने हो भने आँधी खोलामा आएको बाढीले वालिङ ११ डौवा फ्याटको सिङ्गो बस्ती र खेतीयोग्य जमिनमा क्षति पुग्ने अनुमान गरिएको छ । स्थानीयहरूले ठेकेदार कम्पनी देखि सडक विभाग र सम्बन्धित निकाय सँग हारगुहार गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्दै आएका छन् । आँधीखोलाले स्वरूप परिवर्तन गरेमा करोडौँको खेतीयोग्य जमिन देखी मानवीय क्षति हुने स्थानीयहरूले बताएका छन् । 

२०७५ साल कार्तिकमा पूर्व मन्त्री रघुवीर महासेठ र पद्मा अर्यालले संयुक्त शिलान्यास गरेको मोटेरेवल पुल पर्यटन प्रवर्द्धनका निम्ति निर्माण गर्न लागिएको पुल हो । स्वरेक मैदानबाट उड्ने प्यारागलाईडरका पारखीहरू र पर्यटकहरूलाई सहजै पुग्न छोटो बाटोका लागि यो पुल वालिङ र भीरकोट नगरपालिका जोड्ने काम गर्दछ । समयमै पुल निर्माण नहुँदा अहिले बाढीले ठुलो क्षति हुने तर्फ ध्यान दिन सम्बन्धित निकाय सँग आग्रह गरिरहेको स्थानीय चोलाकान्त पौडेलले बताए । 

समयमा सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गरेर भए पनि यहाँको बस्ती र खेतीयोग्य जमिन जोगाउन सरकारले ध्यान दिनुपर्ने स्थानीय चोलाकान्त पौडेलले भने,‘दुई वर्षमा सक्नुपर्ने पुल ५ वर्ष पुग्दा पनि सम्पन्न हुँदैन ।’ अहिलेको बाढीले क्षति पुग्यो भने जिम्मा कसले लिने प्रतिप्रश्न गर्दै पौडेलले भने । पटक पटक ताकेता गर्दा पनि चासो नदिने कस्तो समय आयो पौडेलले भने,‘न समयमै पुल बन्छ न हामी सुरक्षित छौ भन्न सक्छौँ ।’ ठेकेदारको लापरबाही र सडक विभागको निकम्मा पनले जोखिम मोल्न बाध्य भयौ उनले भने । 

समयमै पुल निर्माण नहुँदा अहिलेको बर्षादले आँधी खोलामा आउने बाढीले ठुलो क्षति हुन सक्ने तर्फ वालिङ नगरपालिकाको ध्यानाकर्षण भएको वालिङ ११ का वडा अध्यक्ष डण्डपानी पङ्गेनीको भनाई छ । यस सम्बन्धमा नगरपालिका भित्र रहेको विपद् व्यवस्थापन समिति मार्फत तत्काल समाधानका लागि पहल गर्ने पङ्गेनीले बताए । ठेकेदार कम्पनीका इन्जिनियर कपिल कोइरालाले भने आउने मङ्सिर महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । पुल सम्झौता लगत्तै कोरोना संक्रमण र अहिले आर्थिक महँगीले गर्दा तोकिएको समयमै पुल निर्माण गर्न नसकेको स्वीकार कोइरालाले गरे । 

झण्डै १२ करोड ५४ लाखको लागतमा निर्माण हुन लागेको पुल ठेकेदारले विभिन्न समस्या देखाएर ५ बर्षदेखी अलपत्र रूपमा छाडेको छ । पुलको ४० प्रतिशत काम सम्पन्न भए पनि अझै ६० प्रतिशत काम बाँकी छ । बस्तीतिरको क्षेत्रमा आँधी खोलामा पुल निर्माण गर्दा लगाएको बाँधलाई समयमै खोल्न नलगाउने हो भने आँधीखोलाले स्वरूप फेर्न सक्ने देखिन्छ । जसले हजारौँ रोपनी जमिन सँगै मानवीय क्षति हुने तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ