काठमाडौं। सोमबार बिहान एक विशेष समारोहबीच रियो ओलम्पिक २०१६ को औपचारिक समापन भएको छ। कुल २०५ मुलुकले सहभागिता जनाएको रियो ओलम्पिक, राम्रो प्रदर्शनले केहीलाई सुखी बनायो भने खराब प्रदर्शनले केहीलाई दुखी बनायो। यद्दपी केही मुलुकका लागि भने रियो ओलम्पिक ऐतिहासिक सफलताको रूपमा स्थापित भयो।
विशेष गरि यी नौं मुलुकका लागि रियो ओलम्पिक महत्वपूर्ण हुन पुग्यो, जसले पहिलो पटक ऐतिहासिक ओलम्पिक स्वर्ण हात पारे :
सिंगापुर: एसियाली राष्ट्र सिंगापुरले सम्पन्न रियो ओलम्पिकमा पहिलो ऐतिहासिक स्वर्ण हात पारेको छ। सिंगापुरका लागि जोसेफ स्कुलिङले पौडीको १ सय मिटर बटरफ्लाईमा स्वर्ण दिलाएका हुन्। स्कुलिङले फाइनलमा विश्वप्रख्यात अमेरिकी पौडीबाज माइकल फ्लेप्सलाई पाँखा लगाएका थिए।
१९६० को रोम ओलम्पिकबाट आफ्नो ओलम्पिक यात्रा सुरू गरेको सिंगापुरले हालसम्म स्वर्ण जित्न सकेको थिएन। रजत र काँस्य भने समान २ वटा हात पारेको छ।
स्कुलिङ स्वर्ण बोकेर घर फर्कदा विमास्थलमा सयौं समर्थकहरू कुरेर बसेका थिए। स्कुलिङले करिब एक घण्टा अटोग्राफ र समर्थकहरूसँग सेल्फी लिएर बिताए।
भियतनाम: भियतनामले पनि रियो ओलम्पिकमा ऐतिहासिक स्वर्ण हात पारेको छ। रियो ओलम्पिकको सुटिङमा पेस्तोलतर्फ भियतनामले स्वर्ण पदक हात पारेको हो।
भियतनामका लागि ४१ वर्षीय होयाङले पुरूषतर्फको १० मिटर एयर पेस्तोल सुटिङमा स्वर्ण पदक दिलाएका हुन्। भियतनामले ६४ वर्षदेखि ओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आए पनि स्वर्ण पदक जित्न सकेको थिएन।
फिजी: टापु राष्ट्र फिजीले पनि रियो ओलम्पिकमा पहिलो पटक स्वर्ण हात पारेको छ। पुरूष रग्बी सेभेन इभेन्टमा बेलायतलाई पाखाँ लगाउँदै फिजीले स्वर्ण जितेको हो।
रग्बी सेभनलाई पहिलो पटकको रूपमा रियो ओलम्पिकमा समावेश गरिएको हो। फिजीले ऐतिहासिक स्वर्णको खुशीयाली राष्ट्रिय विदा दिएर मनाएको थियो।
कोसोभो: २००८ मा सर्बियाबाट स्वतन्त्र भएको कोसोभोले रियो ओलम्पिकमा पहिलो ओलम्पिक स्वर्ण हात पारेको छ।
कोसोभोका लागि २६ वर्षिय मजलिन्डा केल्मेन्दीले महिला जुडो अन्तर्गत ५२ केजी इभेन्टमा स्वर्ण दिलाएकी हुन्। उनको यो स्वर्ण कोसोभोका लागि पहिलो ओलम्पिक स्वर्ण मात्र नभएर पहिलो ओलम्पिक पदक पनि हो।
प्युटो रिको: प्युटो रिकोले रियो ओलम्पिकमा पहिलो पटक ऐतिहासिक ओलम्पिक स्वर्ण जितेको छ। २२ वर्षिय मोनिकाले महिला एकल टेनिसमा प्युटो रिकोलाई स्वर्ण दिलाएकी हुन्।
विश्व वरियतामा ३४ औं स्थानमा रहेकी मोनिकाले वरियतामा दोस्रो स्थानमा रहेकी जर्मनीकी एन्जेलिक कर्बरलाई पाँखा लगाउँदै प्युटो रिकोका लागि एतिहासिक ओलम्पिक स्वर्ण हात पारेकी हुन्।
बहराइन: एसियाली राष्ट्र बहराइनले रियो ओलम्पिकमा पहिलो पटक ओलम्पिक स्वर्ण हात पारेको छ। बहराइनका लागि रूथ जेबेटले एथ्लेटिक्स् तर्फ ३ हजार मिटर स्टेपलेचेजमा स्वर्ण दिलाएका हुन्। बहाराइनका लागि रसिद रम्जीले बेजिङ ओलम्पिकमा एथ्लेटिक्स् अन्तर्गत १५ सय मिटरमा स्वर्ण पदक दिलाए पनि उक्त स्वर्ण पछि डोपिङ काण्डमा मुछिएका कारण खोसिएको थियो।
आइभोरी कोस्ट: १९६४ को टोकियो ओलम्पिकबाटै आफुलाई सहभागी गराउँदै आएपनि स्वर्ण जित्न नसकेको आइभोरी कोस्टले रियो ओलम्पिकमा भने स्वर्ण पदक हात पारेको छ। अफ्रिकी मुलुक आइभोरी कोस्टका लागि चिक सला सिजीले तेक्वान्दो अन्तर्गत ८० केजी इभेन्टमा स्वर्ण दिलाएका हुन्।
जोर्डान: १९८० देखि नै ओलम्पिकमा आफ्नो सहभागिता जनाउँदै आएको जोर्डानले रियो ओलम्पिक अगाव कुनै ओलम्पिक संस्करणमा स्वर्ण जितेको थिएन। रियो ओलम्पिकमा भने जोर्डानले पहिलो पटक ओलम्पिक स्वर्ण हात पारेको छ। जोर्डानका लागि अमद अबुघ्याउसले तेक्वान्दो अन्तर्गत पुरूष फेदरवेट ६८ केजी इभेन्टमा स्वर्ण दिलाएका हुन्।
ताजिकिस्तान: अर्का एसियाली राष्ट्र ताजिकिस्तानले पनि रियो ओलम्पिकमा पहिलो ओलम्पिक स्वर्ण हात पारेको छ। ३४ वर्षिय दिलसोद नजारोभले एथ्लेटिक्स अन्तर्गत पुरूष ह्यामर थ्रोमा ताजिकिस्तानका लागि पहिलो ऐतिहासिक ओलम्पिक स्वर्ण दिलाएका हुन्।