स्याङ्जा। स्याङ्जाका गाँउ गाँउमा भलिवल खेल लोकप्रिय बन्दै जान थालेको छ। भलिवल खेललाई जोगाउन ग्रामिण क्षेत्रका युवाक्लवहरु लागिपरेपछि यो खेल लोकप्रिय बन्दै जान थालेको हो। ठुलो खेलमैदान नचाहिने भएकाले पनि ग्रामिण क्षेत्रका युवाहरुको रोजाईमा भलिवल खेल पर्ने गरेको छ। हरेक क्लवले आफ्नो स्थापनाको अवसरमा वा कुनै चाडपर्वको अवसरमा भलिवल प्रतियोगिता आयोजना गर्ने हुदा पनि यो खेल पछिल्लो समय ग्रामिण क्षेत्रका युवाहरुको मन जित्न सफल भएको छ। स्याङ्जाको पकवादीमा रहेको जनसेवा युथक्लवले आफ्नो स्थापनाको ८ औ बार्षिकबोत्सव तथा श्रीकृष्णअष्टमीको अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिता शुरु गरेको छ।
युवाहरुलाई खेलले भातृत्व तथा अनुशाशित बनाउने हुनाले पनि बेला बेलामा गाँउघरमा भलिवल प्रतियोगिता हुने गरेको नेपाल तरुणदल स्याङ्जाका उपाध्यक्ष तथा जिल्ला भलिवल संघका अध्यक्ष शिवसंसार श्रेष्ठले उदघाटन गर्दै बताए। ग्रामिण क्षेत्रमा लोकप्रिय मानिदै आएको भलिवल खेललाई खेलमैदानको अभावका कारण युवाहरुमा हुने जागरिलो पना घट्दै जान थालेको श्रेष्ठको बुझाई छ। सरकारले पनि ग्रामिण क्षेत्रमा हुने खेलकुदहरुलाई बचाउन र संरक्षण गर्न कुनै पहलकदमी नथालिएको भलिवल संघ स्याङ्जाका अध्यक्ष समेत रहेका श्रेष्ठले बताए। खेल संचालन गर्न कठिनाई हुने गरेको र खेल मैदानको अभावका कारण लोकप्रिय हुने खेल लोभहुनबाट बचाउन सरकारले ठोस कदम थाल्नुपर्ने सुझाव श्रेष्ठले दिएका छन्। खेलकुदको विकास र संरक्षणका लागि स्याङ्जा तरुणदले काम गर्न थालेको बताइएको थियो।
बेला बेलामा आयोजना गरिएका खेलकुदका कारण युवाहरुमा भातृत्व सम्वन्ध बढ्न थालेको क्लवका अध्यक्ष कमलबहादुर पल्लीमगरले बताए । युवाहरुमा देखिएको बढ्दो बेरोजगारका कारण गाँउघरमा हुने झै झगडामा समेत खेलकुदका कारण कमी हुदै आएको पल्लीमगर बताउछन्। स्थानीय विद्यालयका प्रधानाध्यापक पर्शुराम खनाल, तरुणदलका जिल्ला सदस्य नामदेव खनाल, क्लवका सदस्य युवराज रेग्मीले खेलकुद क्षेत्रलाई सरकारले वेवस्था गरेको गुनासो व्यक्त गरे। खेलाडी उत्पादनमा हुने खर्च र उत्पादन भएको खेलाडीले अवसर नपाउनु मुलुकका लागि विडम्वना भएको उनीहरुको भनाई थियो। खेलकुदलाई संरक्षण र जोगाउने काममा ग्रामिण क्षेत्रका युवाक्लवहरुको सक्रियतालाई सरकारले पनि सहयोग पुर्याउन सकेमा खेल क्षेत्रको विकासले फड्को मार्ने विश्वास व्यक्त गरिएको छ।