arrow

गौरापर्व विधिवत रुपमा शुरु

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ भदौ ७ मंगलबार
gaura-parba1.jpg
डडेल्धुरा। एकताको प्रतिकको रुपमा रहेको सुदूरपश्चिमको सांँस्कृतिक र लोकप्रिय चाड गौरा पर्व मंगलबार देखि विधिवत रुपमा मनाउन शुरु भएको छ। गौरा माताको प्रसाद तथा गौरामहेश्वरको पूजाको अक्षताको रुपमा लिईने पञ्चबिरुडा नजिकको जलाशयमा पखाल्दै र काँस–कुश अपामार्ग वल, तील, पहेंलो गुबो (पवित्र पञ्चघाँसको) गौराको प्रतिकको रुपमा भित्र्याउदै मंगलबार देखि विधिवत रुपमा गौरा पर्व शुरु भएको हो।
 
सुदूरपश्चिमका जनता र विशेष गरी महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजा गरी भाद्र शुक्ल पञ्चमी देखि दुर्वाष्ठमी तथा विसर्जन नहुँदा सम्म एक हप्ता भव्यताकासाथ मनाईन्छ।
 
वैदिककालमा हैहयवंशीका शुरबीरहरुको अत्याचारबाट भृगुवंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभावले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्वमा महिलाहरुले शुद्धखानपान, चोखो नयाँ लुगा लगाई अत्यन्त भक्तिभावले पञ्चमीका दिन विधिवत रुपमा प्रसाद राखिएको पाँच अन्नको बिरुडा धुने, पाँच पवित्र घाँसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरी धुमधामका साथ मनाउँछन्।
 
यस पर्वमा गरिने ब्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरीमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि विशेष गरी मनाईन्छ।
 
आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमवासीको जनजीवन र सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलिआएका फाग, अठवाली, पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहिआएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ