काठमाडौं । सरकारमा जाने थप मन्त्रीको टुंगो लगाउन कांग्रेसलाई सकस भएको छ । सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबाट सहभागि हुने मन्त्रिहरुको लगभग टुंगो लागेपनि बरिष्ठ नेता रामचन्द्र पौडेल अफ्ठ्यारामा परेका छन् ।
पौडेलले आफ्नो पक्षकाले पाउने मन्त्रालय र संख्या टुंगो नलगाए सम्म नाम नपठाउने बताएका छन् । बनस्थलीमा भएको छलफल सम्मानजनक मन्त्रालय र संख्या यकिन नभए सम्म सरकारमा सहभागि नहुने गरि सकिएको छ । यस्तै, पौडेलले आफु पक्षधर पदाधिकारी र केही केन्द्रीय सदस्यहरुबाट कुरो टुंग्याउन नसकेपछि अपरान्ह ४ बजेपछि आफ्नै निवासमा परामर्शका लागि सांसद र केन्द्रीय सदस्यहरुलाई डाकेका छन् ।
मन्त्री हुने चर्चामा रहेका जीवन परियारले हाम्राकुरासंग भने, ‘संख्या र मन्त्रालयमै कुरो मिलेको छैन । हामीलाई दिने संख्या र मन्त्रालय टुंगो लागेपछि नाम पठाउन समस्या छैन । न्यूनतम ५ र अधिकतम् ६ जना नभएसम्म नजाने भन्ने अहिलेसम्मको छलफलको निष्कर्ष हो । ४ बजे परामर्शका लागि बैठक डाक्नु भएको छ । के हुन्छ हेरौं ।’ पौडेल पक्षबाट दिपक गिरी, नवीन्द्रराज जोशी, शेखर कोइराला, सीता देवी यादव, जीवन परियार, कमला पन्तको नाम चर्चामा छ ।
दिपक गिरीले आफु पुरानो मान्छे भएकाले मन्त्री नहुने कुरै छैन–भने । उनले मन्त्री सिफारिस भए आफु पक्का पर्ने बताए । उता, नवीन्द्रराज जोशीले आफु घरमै भएको र छलफल भइरहेको बारे केही थाहा नभएको बताए । यद्यपि, मन्त्री पक्का हो नी ? भन्दा उनी खिसिक्क हाँसे । यस्तै, कमला पन्त समेत मन्त्री बन्ने लाइनमा हुनुहुन्छ हैन भन्दा ? लज्जाए जस्तो गर्दै हाँसिन् ।
बनस्थलीमा भएको बैठकले मन्त्रालय के–के दिने भन्ने टुंगो नलागेसम्म सरकारमा नजाने निष्कर्ष निकालेको पौडेलका सहयोगि चिरन्जिवी अधिकारीले जानकारी दिए । उनले भने, ‘मन्त्रालय टुंगो लागे ना पठाउन केही छैन । तयार नै छ ।’ सबै पक्षलाई समेट्नु पर्नेमा बैठकले जोड दिएको उनले सुनाए ।
देउवाका मन्त्री लगभग तयार
बुढानीलकण्ठमा चरणवद्ध छलफल जारी छन् । यद्यपि, त्यहाँ देउवा पक्षका नेताहरुमात्रै छलफलमा छन् । देउवा निवासमै रहेका शंकर भण्डारीले आफुहरुको नाम टुंगो लागिसकेको बताए । आफु मन्त्री हुने पक्का भइसकेको सुनाउँदै उनले भने, ‘मेरो नहुने कुरै छैन । मन्त्रालयको जिम्मेवारीबारे छलफल भइरहेको छ ।’
उनका अनुसार देउवाको पक्षबाट ६ जना मन्त्रीको लाइनमा छन् । बालकृष्ण खाँण, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, जीवनबहादुर शाही, शंकर भण्डारीको नामावली तयार छ । यद्यपि, पौडेल पक्षलाई कति दिने भन्ने विषय टुंगो लागेपछि मात्रै यो नामावलीले अन्तिम रुप पाउने भण्डारीले बताए ।
उता, कृष्णप्रसाद सिटौलाले भने मंगलबारै मन्त्री र राज्यमन्त्री हुनेहरुको नाम दिइसकेका छन् । सिटौलाले गगन थापा र शुधीरकुमार शिवाकोटीको नाम पठाइसकेका छन् ।