arrow

उपत्यकावासीलाई सचेत रहन आग्रह, हैजाले महामारीको रुप लिन सक्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
teku-hospital.jpg

काठमाडौं । काठमाडौंमा दुई जनाा हैजा पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन र उच्च सतर्कता अपनाउँन आग्रह गरेको छ । कोलेरा अर्थात् हैजा भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण गम्भीर पखाला सम्बन्धी रोग हो ।

भिब्रिओ कोलरी ब्याक्टेरिया रहेको दूषित खाना एवं पानीबाट सहजै फैलिने हुँदा हैजाबाट बच्न निकै सावधानी अपनाउनु पर्ने विज्ञहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष हैजाबाट १३ लाखदेखि ४० लाख मानिस संक्रमित हुने गरेका छन् भने करिब २१ हजारदेखि १ लाख ४३ हजारले ज्यान गुमाउने गरेका छन् ।

आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

हैजा देखिएका दुवै जना काठमाडौं महानगरपालिका वडा नम्बर २८ बागबजारका एकै परिवारका सदस्य हुन् । 

हैजा पुष्टि भएसँगै स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोग नियन्त्तण एवं रोकथामका लागि सरोकारवालाहरुसँग आकस्मीक बैठकसहित छलफल समेत गरेको छ ।

हैजा एक तीव्र झाडापखाला रोगको समयमै उपचार नगरिएमा केही घण्टामै ज्यान लिनसक्छ ।

स्वास्थ्य मन्त्रालयले उपत्यकावासीहरुलाई सतर्क रहन र हैजा सम्बन्धी कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

गर्मी तथा वर्षायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानी जन्य रोगहरु फैलिने भएकाले सावधानी नअपनाएमा र समयमै उपचार नगरेमा महामारीको रुप लिनसक्ने भन्दै मन्त्रालयले चेतावनी समेत दिएको छ ।

हैजाले बालबालिका र वयस्क दुवैलाई असर गर्छ र उपचार नगरिएमा घन्टौंभित्रै मृत्यु हुन सक्छ।

कसरी सर्छ हैजा ?

हैजा खास गरी पिउने पानी र खानेकुराबाट सर्ने गर्छ । व्यक्तिगत एवं आफ्नो वरपरको सरसफाइमा ध्यान नदिँदा एवं हैजा राेगका बिरामी व्यक्तिको सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ ।

हैजा फैलाउने मुख्य कारणका रुपमा फोहरलाई मानिन्छ ।

हैजाका लक्षणहरु के हुन् ?

हैजा एक अत्यन्त घातक र गम्भीर तीव्र पानीको पखाला निम्त्याउन सक्ने रोग हो। दूषित खाना वा पानी खाएको केही घण्टादेखि ५ दिन सम्ममा लक्षण देखा पर्ने डब्ल्यूएचओले जनाएको छ ।

हैजाबाट संक्रमित अधिकांश मानिसहरूमा कुनै लक्षण देखा पर्दैनन् । तर हैजा गराउने ब्याक्टेरिया भने संक्रमण भएको १ देखि १० दिनसम्म दिसामा रहन्छन् र खाना, पानीमा मिसिएर अन्य मानिसमा रोग लाग्छ ।

अधिकांश मानिसमा हल्का वा मध्यम किसिमका लक्षणहरू देखिन्छन् । केही मानिसमा भने गम्भीर र तीव्र पखाला लाग्छ । यसले शरीरमा भएको पानीलाई बाहिर फाल्छ र समयमै उपचार नगरेमा ज्यानसमेत जान सक्छ ।

हैजाको उपचार के हो?

हैजा सजिलै उपचार गर्न सकिने रोग हो । धेरैजसो मानिसहरूलाई ओरल रिहाइड्रेसन सोलुसन अथवा पुनर्जलीय झोल खुवाएर निको पार्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक जीवनजलको प्याकेट १ लिटर पानीमा घोलेर खुवाउन सकिन्छ । 

हैजाले मध्यम खालको पखाला लगाएको छ भने पहिलो दिनमा ६ लिटर पुनर्जलीय झोल खुवाउन सकिने डब्ल्यूएचओले जनाएको छ ।

गम्भीर रूपमा पखाला लागेका बिरामीहरु झट्काको जोखिममा हुन्छन् र उनीहरुलाई नसाबाट तरल पदार्थ अथवा सलाइन दिएर उपचार गरिन्छ ।

यस्ता गम्भीर रोगीहरूलाई पखालाको अवधि कम गर्न, आवश्यक रिहाइड्रेसन कम गर्न र उनीहरूको दिसामा भिब्रिओ कोलेराको मात्रा र अवधि घटाउन उपयुक्त एन्टिबायोटिक पनि दिइन्छ। यद्यपि यसको ठूलो फाइदा नठानिएकाले यसको प्रयोग आग्रह भने गरिएको छैन ।

कसरी बच्ने हैजा लगायतका पानीजन्य रोगबाट?

स्वास्थ्य मन्त्रालयले पानी उमालेर वा क्लोरिन हालेर मात्रै प्रयोग गर्न आग्रह गरेको छ । यस्तै व्यक्तिगत सरसफाई र विशेष गरी हातको सरसफाईमा विशेष ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै खानेकुरामा विशेष ध्यान दिन, चर्पीमा मात्रै दिशापिसाब गर्न र दिसापिसाबपछि राम्रोसँग मिची मिची साबुन पानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।

खोप छैन?

विश्व स्वास्थ्य संगठनले हाल हैजाविरूद्व मुखबाट दिइने तीनवटा Dukoral®, Shanchol™ र Euvichol-Plus® खाेपलाई पूर्व-योग्य मान्यता दिएकाे छ।

तर नेपालमा हैजाको खोपको सहज उपलब्धता भने छैन । त्यसकारण यसको पूर्व सावधानी, सतर्कता र समयमै उपचार गर्नु अतिआवश्यक रहेको छ ।

डब्ल्यूएचओ सम्मिलित सन् २०१७ मा सुरु भएको विश्व व्यापी हैजा उन्मुलन कार्यक्रमले सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ