arrow

लाखौं अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। जिल्लाको नवमीडाँडा गाविसमा वषौंदेखि लाखौं रुपैंयाँ बजेट अनियमिता हुँदै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नवमीडाँडा गाविसका सचेत युवाहरुको नाममा बुधबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । प्राप्त जानकारी अनुसार गाविस मार्फत बिनियोजन हुने विभिन्न शीर्षकको रकममा चरम अनियमितता हुँदै आएको हो ।
 
आर्थिक वर्ष २०६९/७० मा प्रजनन नश्ल सुधार कार्यक्रम अन्तर्गतको ६० हजार, सोही आर्थिक वर्षमा गाविसका विद्युतीकरण गर्ने कार्यक्रममा ३ लाख ४९ हजार ७ सय ५८ र २ लाख ३३ हजार १ सय ७२ रुपैंया भ्रष्टाचार भएको जनाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७०/७१ मा ट्रान्सफर्मर खरिद गर्न भनि २ लाख ५० हजार, सोही आर्थिक वर्षमा प्रजनन नश्ल सुधार कार्यक्रमको नाममा २ लाख ९४ हजार ३ सय १० रुपैंयाँ हिनामिना भएको बताइएको छ ।
 
यसै गरी आर्थिक वर्ष २०७१/७२ मा प्रजनन नश्ल सुधार कार्यक्रम अन्तर्गत १ लाख ९१ हजार १ सय ६६, आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरण गर्ने नाममै २ लाख १३ हजार २३ रुपैंयाँ अनियमितता गरिएको बताइएको छ । यता महिला तथा वालवालिका शीर्षकको रकम नेपाल विद्युत प्राधिकरण र जिल्ला विकास समितिले निशुल्क उपलब्ध गराएको विजुलीको पोल समेत गाविसको रकमले खरिद गरिएको भनि किर्ते कागजात गरी रकम हिनामिना गरिएको भनिएको छ ।
 
यसबारे नवमीडाँडा गाविसका तत्कालीन सचिव भेषराज दाहाललाई सम्पर्क गर्दा त्यहाँका केही युवाले निराधार आरोप लगाएर आफूलाई बद्नाम गर्न खोजेको प्रतिक्रिया दिनुभयो । दाहालले ती सबै मिथ्या आरोप मात्र भएको बताउनुभयो । अनियमिता काण्डमा मुछिएका स्थानीय राजनीतिकर्मी होम आङ्देम्बेले पनि आफूहरुले रकम हिनामिना नगरेको बताउनुभयो । यसबारे आवस्यक छलफल गर्न बोलाउँदा धम्कि दिएको भन्ने आरोप लागाएको आङदेम्बेको भनाई छ ।
 
यसै गरेर स्थानीय सिद्धदेवी उच्च माविमा पनि आर्थिक तथा नीतिगत हिनामिना गरेको जनाइएको छ । सो विद्यालयका शिक्षक शम्भू ढुंगेल २०६५ साल कार्तिक २३ गतेदेखि मानशिक सन्तुलन गुमाई बेपत्ता भई हालसम्म परिवारको सम्पर्कमा नआएको तर प्रधानाध्यापक बीरेन्द्र कुमार खड्काले २०६९ मंसीरमा मात्र जिल्ला शिक्षा कार्यालय पाँचथरमा बेपत्ताको जानकारी प्रमाणीकरण गरी सो समयावधीको तलब रकम निकासा गरेर आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।
 
प्रधानाध्यापक खड्काले केही ब्यक्तिहरुको मिलेमतोमा नवमीडाँडा–१, का दीपक लुइटेललाई आवस्यक प्रक्रिया नै नपुर्‍याई लियन पदमा नियुक्त गरी नीतिगत अनियमितता गरेको आरोप छ । तर खड्काले भने ढुंगेल ६९ साल कार्तिकदेखि मात्र विद्यालयमा हाजिर नभएको र शिक्षा नियमावली अनुसार २ वर्ष पछि बेपत्ता प्रमाणीकरण गरिएको बताए ।
 
गाविसमा देखिएको अनियमितता र अपारदर्शीतालाई भण्डाफोर गर्न आफूहरुले लामो अध्ययन गरी भ्रष्टाचारको भण्डाफोर गरेको सचेत युवाहरुको तर्फबाट राजेन्द्र आङदेम्बेले बताए ।उक्त अभियानमा संलग्न अर्का युवा राजु आङदेम्बेले आफूहरुले अख्तियार लाउने थाहा पाएपछि सम्बद्ध व्यक्तिहरुले आफूहरुलाई निरन्तर रुपमा भौतिक आक्रमण गर्ने धम्की दिंदै मानसिक यातना दिएको बताए । यद्यपी सिद्धदेवी उच्च माविका प्रअ खड्काले भने उनीहरु सबैजना आफूहरुले पढाएका विद्यार्थी भएकाले विगतमा विद्यालयमा १/२ थप्पड लाएको बाहेक कुनै किसिमको धम्कि नदिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ