काठमाडौं । बहुराष्ट्रिय कम्पनी बरूण वेभरेजका उत्पादनहरू गुणस्तरहीन र खान अयोग्य रहेको पुष्टि हुँदै गएको छ । विभिन्न समयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले गरेको अध्ययनका क्रममा खान अयोग्य रहेको भेटिएर कारबाही समेत भोगिसक्दापनि फेरि उही गल्ती दोहो याएको जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कले देखाएको छ ।
विभागले २०७१ साल पौष २१ गते दर्ता गरेको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौले माघ २५ गते नै ड्यू र स्लाईस खान अयोग्य रहेको ठहर गर्दै कानून बमोजिम कारबाही गराएको थियो । सो समयमा ड्यूमा बाहिर नै देखिने गरी कालो पदार्थ र धुलाका कणहरू पर्याप्त मात्रामा रहेको भेटिएको आरोपलाई पुष्टि गरेको थियो ।
गुणस्तरहीन बस्तु उत्पादन गरेको खण्डमा पनि बढीमा १० हजार रूपैयाँ मात्रै जरिवाना तिराउने कानूनी प्रावधान रहेकोले बरूण वेभरेजलाई दुई वटै उत्पादनमा ९÷९ हजारको दरमा कारबाही गराएको थियो । यसको अर्काे उत्पादन स्लाईसमा पनि यस्तै अखाद्य पदार्थ भेटिएको थियो । उनीहरूलाई खाद्य एृन २०२३ को दफा २(ख) को परिभाषा अनुसार दफा ५(३) बमोजिम कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले जानकारी दिए ।
उक्त ऐनको दफाले ‘दुषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई रु. ५०००।– देखि रु. १०,०००।– सम्म जरिवाना वा १ वर्षदेखि २ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्नेछ’ भनेको छ ।
त्यसो त २०७१ सालमा यसरी कारबाही भोगेको कम्पनीले कुनैपनि सुधार नगरेको भेटेपछि झण्डै १ वर्ष पछि अर्थात् २०७२ असोज ७ गतेपनि अर्को मुद्दा दायर भएको छ । यसमा पनि पहिलेको भन्दा बढी कमजोरी भेटिएको खाद्यले जनाएको छ । तर, कानूनी कारबाही नै झिनो र कर्मकाण्डी बन्दा उपभोक्ताको हित भन्दा पनि पैसा मुखी व्यवसाय फस्टाउँदै गएको छ । यसमा सम्बन्धित पक्षले चासो देखाउँदै आएको भएपनि कानूनी पक्ष कमजोर हुँदा कालोबजारीया र ठगहरू भने सुधारिन सकेका छैनन् ।