काठमाडौं । पार्टीको भागमा परेको १३ मन्त्री मध्ये आफूलाई कतिजना मन्त्री दिने भन्ने सवालमा संस्थापनपक्षसँग कुरा नमिलेपछि आन्तरिक बैठकमा जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले पुरानै निर्णय दोहोर्याएको छ । अपराह्न ४ बजेदेखि पौडेल निवास बोहोराटारमा बसेको पौडेल पक्षीय सांसद् तथा केन्द्रीय सदस्यहरूको भेलाले सम्मानजनक स्थान नपाए मन्त्रिपरिषद्मा सहभागि नहुने निर्णय गरेको सांसद् जीवन परियारले जानकारी दिए ।
झण्डै दुई घण्टा बसेको बैठकले मोटामोटी रूपमा सरकारमा गएको खण्डमा पठाउने मन्त्रीहरूको संख्या र नामको बारेमा सबैलाई जानकारी गराएको पनि परियारले जानकारी दिए । ‘सम्मान जनक हैसियत नभएको खण्डमा सरकारमा सहभागि नहुने निर्णय दोहोर्याएका छौं ।’ परियारले भने ‘सांसद्हरूलाई यस विषयमा जानकारी दिनको लागि बैठक बोलाईएको हो ।’
रामचन्द्र पौडेल पक्षबाट सरकारमा सहभागि हुनेको नामावली नआएपछि पार्टी सभापति शेरबहादुर देउवा समेत तनावमा परेका छन् । पौडेल पक्षले आफूले तोकेको संख्या र मन्त्रालय नपाएसम्म नामावली नदिने बताउँदै आएको छ । जसले गर्दा देउवा तत्काल मन्त्री छिनोफानो गरेर उपचारका लागि सिंगापुर जाने कुरा समेत रोकिएपछि उनी तनावमा परेका हुन् । पौडेल पक्षले कम्तिमा ६ जना मन्त्री र सोही संख्यामा राज्यमन्त्रीको माग गर्दै आएको छ ।