arrow

काँग्रेसमा आन्तरिक किचलोः अभिभावकले भूमिका निभाउन जानेनन् –पौडेल पक्ष

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
sher-and-ram-G.jpeg
काठमाडौं । नेपाली काँग्रेस यतिबेला सरकारमा पठाउने मन्त्रीको नामावली तयार गर्न नसकेर आन्तरिक किचलोमा फसेको छ । पहिले नेविसंघको महाधिवेशन र त्यसपछि काँग्रेसको नेतृत्व गर्दै सरकारमा गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणले मन्त्रीको चयन हुन नसकेको बताउने काँग्रेसमा यतिबेला पदका लागि रडाको मच्चिएको हो । 
 
बरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच सम्मानजनक मन्त्रालय दिएमात्रै सरकारमा जाने अडान राखेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले चार मन्त्रालयमात्र दिने कुरा गरे । त्यसपछि लचक भएको पौडेल पक्षले मागलाई परिमार्जन गर्दै चार मन्त्रालय र चार राज्य मन्त्री दिए पुग्ने स्थितिमा आयो । र, पनि अहिलेसम्म देउवाले मन्त्रालयको छिनोफानो गर्न सकेका छैनन् । 
 
अहिले त देउवा र पौडेलबीच सम्वाद नै भएको छैन । १२औं महाधिवेशन अघि १ पटक र महाधिवेशन पछि २ पटक पौडेल निवास पुगेका देउवाले पौडेलसंग जुनबेला संवाद तीव्र पार्नुपर्ने थियो त्यतिनै बेला शून्यमा झारेका छन् । 
 
देउवाले अर्को माध्यम प्रयोग गरे पनि निर्णय गर्न सकेका छैनन् । यता पौडेल पक्ष भने सम्मानजनक मन्त्रालय नपाए करकापमा सरकारमा नजाने निष्कर्षमा पुगिसकेको छ । 
 
पौडेल निवास बोहोराटारमा बुधबार झण्डै दुई घण्टा आन्तरिक छलफल चल्यो । बैठकमा मन्त्रीका आकांक्षीहरु आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी, नविन्द्रराज जोशी, जीवन परियार लगायत झण्डै छ दर्जन नेताहरु उपस्थित थिए । 
 
कुरो कहाँ बिग्रियो त भन्ने हाम्राकुराको प्रश्नको जवाफ दिंदै मन्त्रीका आकांक्षी नविन्द्रराज जोशी भन्छन् –‘ठ्याक्कै कहाँ बिग्रियो भनेर म कसरी भनूँ ? ढिलाईबारे मलाई थाहा हुँदैन तर मन्त्री हुने दौडको मान्छेचाहीं म पनि हुँ ।’
 
त्यस्तै अर्का मन्त्रीका आकांक्षी जीवन परियारले अभिभावकले भूमिका निभाउन नजान्दा यस्तो गति भएको बताए । उनले भने, ‘सभापतिले न्याय गर्नुप¥यो, अभिभावक भएपछि घरमा एउटा छोरालाई काखा र अर्को छोरालाई पाखा गर्नु भएन ।’ 
 
परियारले ‘म पनि मन्त्रीको दौडमा छु’ भने । 
 
त्यसो त देउवाले आफ्नै पक्षका आकांक्षी पनि धेरै भएकाले नामको टुंगो लगाउन सकेका छैनन् ।
 
अहिलेसम्म अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले पाउने मन्त्री र राज्यमन्त्रीका लागि भने नाम पठाइसकेका छन् ।
 
सोअनुसार गगन थापा र सुधीरकुमार शिवाकोटी पक्का भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ