मंगोलिया । एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले कम्बोडियाको नागावल्ड र मंगोलियाको एर्चिमबीचको खेलको प्रतिक्षा गरिरहको छ ।
बिहीबार दिउँसो नेपाली समय अनुसार २.४५ बजे सुरु हुने खेलको नतिजाले नै अर्को चरण पुग्ने टिमको टुंगो लाग्ने छ ।
हरेक समूहबाट एक टिममात्र प्लेअफमा जाने भएकाले समूह बीबाट थ्रीस्टार र नागामध्ये एक टिम अर्को चरणमा जानेछ ।
थ्रीस्टारले दुवै खेल खेलिसकेको छ । पहिलो खेलमा इर्चिमलाई २–० ले हराएको थ्रीस्टारले दोस्रो खेलमा नागसंग १–१ को बराबरी गरेको थियो ।
अंक तालिकामा थ्रीस्टारको ४ अंक छ भने नागाको १ तथा एर्चिम अंकविहीन छ ।
थ्रीस्टार कप्तान विक्रम लामा ‘हामी थ्रिस्टार अर्को राउण्डमा पुगोस् भन्ने कामना गछौँ , हामीले खेल्ने जति खेलिसक्यौं अब नतिजा अरुको भरमा छ’ भन्छन् ।
कसरी पुग्न सक्छ थ्रीस्टार अर्को चरणमा
१, नागा र इर्चिमको खेलमा इर्चिम विजयी भए
वा
२, खेल बराबरीमा सकिए
वा
३, नागा १–० लेमात्र वा २–१ ले विजयी भए पनि
वा
४, थ्रीस्टारले ५ वटा पहेंलो कार्ड खाएको छ भने नागाले एउटा रातो कार्ड खाइसकेको अवस्थामा दुई गोलको अन्तरले हराउँदा पनि थ्रीस्टार बलियो ।
यो आँकडा अनुसार थ्रीस्टारको अर्को चरण पुग्ने सम्भावना बढी छ । यतिबेला थ्रीस्टारलाई अर्काको भर गर्नुपर्दा भाग्यको पनि साथ चाहिएको छ ।