कैयौं दिनको प्रयत्न पछि पनि सीतालाई आफ्नो बनाउन नसकेपछि निरास देखिएको रावणलाई उसको सहयोगीले सोध्छ "महाराज हजुरसँग त रुप बदल्ने शक्ति पनि छ किन रामको भेषमा सिताको अगाडी जानु हुन्न सम्पूर्ण समस्या हल हुन्छ " । जवाफमा रावणले भन्छ "मैले त्यो कोसिस नगरेको हैन तर जब जब म राम बन्छु ममा छलले सिता पाउने त्यो आशक्ति नै हराएर जान्छ "। म जति बेला राम बन्न पुग्छु म भित्रको रावण हराएर जान्छ।
अहिले काँग्रेसले बहुदलको लागि प्रजातन्त्र र समाजवाद दुवै छोडेको अवस्था छ। नेपालमा अहिले दर्जनौ दलहरु त खुलेका छन् त्यस अर्थमा बहुदल स्थापित छ। तर सहि अर्थमा न प्रजातन्त्र फस्टाउन सकेको छ, समाजवाद त धेरै टाढाको बिषय भैसक्यो। केवल बहुदल देश बिकासको आधार हुन सक्दैन। यसले बिभिन्न जाति, धर्म बर्ग र समुदायलाइ समेट्ला तर नेपालको सन्दर्भमा यो राजनीतिक अस्थिरताको कारक बन्न पुगेको छ।
नेपालको बहुदलीय पद्धति राणा र शाहको स्थानमा अर्को कुनै परिवारलाइ स्थापित गराउने साधन मात्रै बन्न नहुनुपर्ने थियो। तर विडम्वना व्यक्ति केन्द्रित शाही शासनलाइ हटाएर बहुदलका नाममा फेरी पनि व्यक्ति केन्द्रित राजनीति हावी हुन पुगेको छ। आफुलाई नेपालको एक मात्र प्रजातान्त्रिक पार्टी भनेर दावी गर्ने काँग्रेसको महाधिवेशन केवल निर्वाचन केन्द्रित हुन पुग्यो। अझ पुलिसको घेराको बीच स्थापित समाजवादी पार्टीको भातृ संगठन ने बि संघको महाधिवेशन खर्च काँग्रेसको महाधिवेशनको भन्दा बढी भयो। काँग्रेसभित्र मन्त्रि बांडफांडको बिषयमा सबै भन्दा बढी समय छलफल गरिन्छ र भइरहेको छ।
काँग्रेसका संस्थापक बि पी कोइरालाले आफ्नो जीवनमा आफ्नो विश्वासलाई मर्न नदिन कहिल्यै कसैसंग सम्झौता गरेनन, जुन कुराले बिपीलाई संसारभरिका समाजवादीका बिचमा सधै अग्लो बनाइ राख्यो। आज तिनकै नाममा ब्यापार बाहेक कांग्रेसले बिपिलाई कुनै कोणबाट पनि सम्झिएको देखिन्न। बर्तमान नेतृत्व पङतीलाई एउटै डर छ कतै बिपीको साच्च अनुयायी हुँदा सत्ता, शक्ति र स्वार्थ हराएर जाने पो हो कि?
७० बर्षको इतिहासमा पहिलो पटक नेपालि काँग्रेस कम्युनिष्टको नेतृत्वको सरकारमा सहभागी हुन पुगेको छ। प्रजातन्त्रको स्थापनाको आन्दोलनमा समेत कम्युनिष्टसँगको सहकार्यलाई अस्विकार गर्ने पार्टी आज तिनै कम्युनिष्टको नेतृत्वको सरकारमा हिस्सा लिन पुग्नु आफैमा अनौठो पक्ष हो। दर्जनौ कम्युनिष्ट पार्टी भएको नेपालमा माओवादी त्यो पार्टी हो जसले नेपालि काँग्रेससँग राजनीतिक असहमति मात्रै राखेन बरु उसका कार्यकर्तालाई गाउँ गाउँमा तर्साउने, मार्ने काम समेत गर्यो। आज उसको नेतृत्वलाई स्वीकार गरेर नेपालि काँग्रेसले राजनीतिमा 'नयाँ प्रयोग' को प्रयत्न गरेको छ।
समयक्रमसँगै नेपाली काँग्रेसले अन्य पार्टीप्रतिको दृष्टिकोण परिवर्तन गर्नुलाई सकारात्मक मान्न सकिएला। तर बिपीको नेतृत्व रहुन्जेल प्रजातन्त्रको पुनर्स्थापनाको आन्दोलनमा समेत सहकार्य गर्न नसकेको काँग्रेस उनको मृत्यु पछिका प्रत्येक दशकमा कम्युनिष्टसँगको सहकार्यलाई थप्दै आन्दोलनदेखि सत्ता साझेदारहुँदै उसको नेतृत्वमा मन्त्री बन्नसम्म पुगेको छ। बिपीको नाम लिनु एउटा पाटो होला तर बिपीको पद चापलाई सहि अर्थमा पहिल्याउने हो भने काँग्रेस सत्ता र शक्तिको संघर्ष भन्दा धेरै टाढा पुग्छ। उसमा सत्ता भन्दा मुलुक र जनता अघि आउँछन, प्रजातन्त्र अगाडी आउँछ अनि उसको सत्ताका लागि माले, मसाले र मण्डलेसंग सम्झौता गर्ने चरित्र बाँकी रहन्न। रामको रुपमा आफुलाई ढालेसँगै रावणमा रामको चरित्र आएजस्तै।
२०३६ सालको जनमत संग्रहसम्म बहुदलभन्दा निर्दलको पक्षलाइ सहयोग गरेको गम्भीर आरोप लगाउने नेपाली काँग्रेस २०४६ सालसम्म आइपुग्दा संयुक्त आन्दोलन गर्ने मनस्थितिमा पुग्यो। पार्टीको आराध्यदेवका रुपमा पुज्दै आएको नेपाली काँग्रेसका नेता बिपीले आफ्नै मागको रुपमा भएको जनमत संग्रह र तेस्को पराजयलाई स्वीकार गर्न तयार भए तर कम्युनिष्टसंगको सहकार्य उनको लागि उनलाई सह्य थिएन। आज जुन कम्युनिष्ट पार्टीले गाउँका हज्जारौ काँग्रेसी कार्यकर्ताको घरबार रित्यायो, जुन माओवादीको बन्दुक र हतियारले गाउँमा वगाएका रगतका टाटा अझै भेटिन्छन तिनै माओवादीलाई आज मत दिनुपर्दा पक्कै पनि सबै काँग्रेसी सांसदहरुमा कुनै उत्साह थिएन होला।
बिपी कोइरालाबाटै प्रशिक्षित हुन् बर्तमान सभापति शेर बहादुर देउवा। तर जब जब उनले काँग्रेसको तर्फबाट सरकार वा पार्टीको नेतृत्व गरेका छन् उनबाट केहि ऐतिहासिक अक्षम्य गल्तिहरु भएका छन्। उनि पहिलो पटक प्रधानमन्त्री हुँदा संसदीय पद्धतिमाथिनै प्रश्न खडा हुने खालका गल्ति हुन पुगे। जम्बो मन्त्रि मण्डल, सांसद खरिद बिक्रि आदि। उनको दोस्रो प्रधानमन्त्रित्वकाल प्रजातन्त्र र नेपाली काँग्रेस दुबैका लागि सम्झना योग्य रहेनन। राजाको "कु " देखि पार्टी बिभाजनसम्म यहि समयमा हुन पुग्यो।
आज शेर बहादुर पुन: एकीकृत भएको काँग्रेसको पार्टी सभापति निर्वाचित भएका छन्। माओवादी नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नै पार्टी सभापति भएपछिको सबै भन्दा ठुलो निर्णय हुनुपर्छ। पार्टी सभापति भइसके पछाडी पार्टीको आन्तरिक संरचनामा भन्दा उनको चासो सरकारमा देखिन्छ। पार्टीमा जिम्मेवारी बाँडफाँड गर्न नसके पनि सरकारमा को पठाउने बिषयमा उनि गम्भीर छन्। उनको गम्भीरता काँग्रेसको नीति लागु गर्ने सन्दर्भमा को योग्य छ भन्नेमा भन्दा गुट उपगुटरुलाई कसरि समन्वय गर्नेमा छ।
पार्टी सभापति जित्ने प्रयत्नमा उनले जुन ढंगबाट आस्वासनहरु बाँडे आज ति सहयोगी सबैलाई उचित स्थान दिएर खुसि बनाउनु उनको लागि त्यति सहज छैन। सरकार र पार्टी दुबैमा जिम्मेवारी बाँडेर सहयोगी चुप लगाउन चाहन्छन्। शायद माओवादीसँगको सहकार्य काँग्रेसको चाहना भन्दा पनि नेतृत्वको लाभका पदप्रतिको लोभको उपज हुनुपर्छ। बिशेष गरि नया पुस्ताका बिपी अनुयायी हुन् भन्नेहरुले बुझ्नु पर्ने कुरा के हो भने बिपी सत्ता र शक्तिका कारण सम्झना योग्य भएका होइनन्। उनको प्रधानमन्त्रित्वकाल त्यति लामो चलेको पनि हैन तर उनको राजनितिक दर्शनको स्पष्टता र व्यवहारमा लागु गराउन सक्ने क्षमताका कारण त्यो कद प्राप्त गरेका हुन्।
बिपीको अवशानपछिको एक दशकको विश्लेषण पछि शायद काँग्रेसको तत्कालिन नेतृत्वमा आफ्नो मात्रै नेतृत्वले प्रजातन्त्र पुनर्स्थापना हुने आत्मविश्वास थिएन। उसले कम्युनिष्टसँगको सहकार्य स्वीकार गर्नुमा त्यो नै प्रमुख कारण हुनुपर्छ। बिपी, सुवर्ण समशेर लगायतका नेताहरुको नेतृत्व क्षमतालाइ नजिकबाट देखेको भोगेको पुस्ताले तिनको मृत्युपछि तुलनात्मक रुपमा आफुलाई ति नेता भन्दा माथि देख्न सकेनन् बरु कम्युनिष्टसंगको सम्झौताले पार्टीको साख जोगिने विश्लेषण निकाले। राजा महेन्द्रको "कु " लगत्तै पंचायतमा काँग्रेसको प्रवेशपछि शायद ३६-४६ को दशकमा नै काँग्रेसलाई तिनका कार्यकर्ता जोगाउन मुश्किल भएको दशक हुनुपर्छ।
एकथरि काँग्रेसको विश्लेषण छ "कम्युनिष्टसँगको सहकार्य नभएको भए नेपालले न ४६ सालमा प्रजातन्त्र प्राप्त गर्थ्यो न नेपाली जनतामा राजनीतिक रुपले यति धेरै जागरण हुन्थ्यो। कम्युनिष्टलाई बहुलवादमा भित्याउने श्रेय काँग्रेसलाई जान्छ "। अर्कोथरीको विश्लेषण छ "नेपालमा दुइ धार थिए। निर्दलवादी र बहुदलवादी। कमसे कम राजावादीमा राष्ट्रियताको भावाना थियो जसले मुलुकको अस्मिता जोगिएको थियो। नेपाली राजनीतिमा कम्युनिष्टको प्रवेशले न प्रजातन्त्र स्थापित हुन सक्यो न राष्ट्रियता बलियो हुन सक्यो।"
कतिपय काँग्रेसी नेताहरु काँग्रेसले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व गरे पनि जोगाउने काम गर्न नसकेको अभिव्यक्ति दिन्छन। तर कम्युनिष्टसँगको सहकार्य त्यसको मुख्य कारण देख्ने एउटा ठुलो जमात काँग्रेस भित्र छ जो गणतन्त्रलाई स्वीकार गर्ने र त्यसको वकालत गरे पनि कम्युनिष्टसँगको सहकार्यलाई अस्थिरताको मुख्य कारण मान्दछ। संसदीय अभ्यासका नाममा ९ महिनाको भागबण्डाले प्रजातन्त्र र बिकास सम्भव छैन। राजनीतिकरणले थाकेको कर्मचारीतन्त्र अस्थाई सरकारको निर्देशन मान्दैन सँगसँगै सरकार परिवर्तनले नेपालको बिकास र राष्ट्रियता दिनानुदिन कम्जोर हुँदैछ। ०६२/६३ पछि बिदेशिको प्रत्यक्ष प्रभावमा नेपालमा पार्टी खोलिनु, प्रधानमन्त्री बन्नु र निकालिनु सामान्य बन्दै गएको छ।
संक्षेपमा काँग्रेसले आफुलाई बहुदलभित्रको सत्ता केन्द्रित एउटा दलको रुपमा मात्रै स्थापित गराउनु भन्दा प्रजातन्त्र र समाजवादलाई व्यवहारमा लागु गराउने प्रयत्न गर्न सके लामो समय बाच्ने थियो। अन्यथा बग्रेल्ती जन्मिएका पार्टीभित्रको एउटा सत्ताधारी पार्टी जो निर्वाचनमा सहजै सत्ताको भाग पाउने तर कुनै राजनीतिक दर्शन र वाद बिना चलेको दलका रुपमा मात्रै रहनेछ।