arrow

नेविसङ्घका पुरानाले निर्वाचित कार्यसमितिलाई पद बुझाए

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
nebesangpad.jpeg
काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११‍औँ महाधिवशेनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा पद हस्तान्तरण गरिएको छ । 
 
नयाँ कार्यसमितिलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण गर्न विहिबार आयोजित कार्यक्रममा काँग्रेस सभापति देउवाले आफ्नो पुस्ताले पार्टीमा धेरै काम र जिम्मेवारी सम्हालीसकेको बताउँदै अब नयाँ पुस्ताले गर्ने बेला आएको छ भने । 
 
धेरै चुनौती पार गरेको नेविसङ्घको महाधिवशेन सम्पन्न भएको अवगत गराउँदै सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्न नयाँ नेतृत्वलाई सुझाव दिए । “नेविसङ्घ बलियो नभई काँग्रेस बलियो हुँदैन र काँग्रेस बलियो नभई लोकन्त्र बलियो हुँदैन । त्यसैले अब नेविसङ्घ बलियो हुनुपर्छ”– उनको भनाइ थियो । 
 
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसङ्घको लामो समयदेखि अवरुद्ध महाधिवेशन सम्पन्न भई प्रणाली बसेको बताउँदै नवनिर्वाचित नेतृत्वलाई जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिए । उनले लोकतन्त्रलाई संस्थागत गर्न संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै त्यसमा नेविसङ्घलाई लाग्न निर्देशनसमेत दिए । 
 
नेता डा रामशरण महतले मुलुकमा लामो समय राजनीतिक आन्दोलन मात्र भएको बताउँदै अब आर्थिक विकासमा जुट्नुपर्ने बेला आएको र त्यसमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे  । नेता डा प्रकाशशरण महतले धेरै चुनौती पार गरेर नेविसङ्घको महाधिवेशन भएको जानकारी गराउँदै आगामी दिनमा विधिविधानबाट चल्न नयाँ नेतृत्वलाई सुझाव दिए । 
 
कार्यक्रममा नेविसङ्घ अध्यक्ष नैनसिंह महर, निवर्तमान अध्यक्ष रञ्जीत कर्ण, अध्यक्षका प्रमुख प्रत्यासी मनोजमणि आचार्य महामन्त्रीद्वय कुन्दनराज काफ्ले र सरोजकुमार थापालगायतले मुलुकको राजनीतिक परिवर्तनमा नेविसङ्घको भूमिकाका बारेमा चर्चा गर्दै भावी दिनमा गर्नुपर्ने योजनाका बारेमा प्रकाश पारेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ