arrow

सम्मानित नेताको छलछाम

झलनाथ गठबन्धनलाई धोका दिँदै एमालेसँग साँठगाँठमा, नेम्वाङसँगको दन्तबझान नाटकमात्रै

एमालेको सहयोग बिना आफू सांसद बन्न नसक्ने चिन्ताले छोएपछि सिङ्गो गठबन्धनमाथि नै आरोप लगाउँदै झलनाथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
jhalanath-khanal-subash-nemwang.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गरेका थिए । आफ्नो गृह जिल्ला इलाममा खनालले एमालेसँगको सहकार्यमै जिल्ला समन्वय समिति बनाएका थिए । उनले आफ्नो गृह जिल्लाको सूर्योदय नगरपालिका लगायतका केही गाउँपालिकामा पनि एमालेसँगै सहकार्य गरेका थिए । 

इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङवीच सहकार्य भएको हल्ला पनि खुवै चलेको थियो । आगामी निर्वाचनमा दुवै नेताहरुले चुनाव जित्नुपर्ने बाध्यता रहेका कारण स्थानीय तहको निर्वाचनमा सहकार्य गरेको आशंका सबैतिर छ । यद्यपि उनीहरुबीच सार्वजनिक कार्यक्रममा भने सधै आरोप प्रत्यारोप हुने गरेको छ । 

बिहीबार पनि दुवैबीच आरोपप्रत्यारोप चल्यो । सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो । तर पनि एमालेलाई खनालले त्यतिधेरै गाली गरेनन् । कार्यक्रममा खनालले एमालेको संसद् अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताएका थिए । 

पछिल्लो समय निरन्तर नौ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानून बनाउन नपाएको गुनासो गरिरहँदा एमाले उपाध्यक्ष नेम्वाङ सुनेर बसेका थिए । 

दुई दुई पटक संसद भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनःस्थापित संसदमा पनि एमालेले निरन्तर अवरोध गरेको भन्दै आलोचना गरेका थिए । 

जसकारण संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको खनालको भनाइ थियो । संसद् भंग गर्ने प्रयास र संसदमा लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि सुवास नेम्वाङले जवाफ फर्काउदै विगतमा के के भएको थियो भनेर सम्झिनु पर्ने बताएका थिए । 

एमाले संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संसद् अवरोध अहिलेको कुरा गर्नुभयो । विगतमा पनि अवरोध भएको थियो । को–को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’ 

के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’ 

तर पूर्व सांसद मञ्चको कार्यक्रममा एकले अर्कालाई आरोप लगाए पनि उनीहरुको भित्री सम्बन्ध कायम रहेको अनुमान गरिएको छ । खनालको क्षेत्र सूर्योदय नगरपालिकामा गठबन्धन टुटेको थियो । 

जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि नेकपा एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेको थियो । खनालले यसअघि गठबन्धनबाट आफूलाई धोका भएको बताउँदै आएका छन् । 

खनालले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा एसलाई धोका दिएको र माओवादीलाई बोकेको बताएका थिए । एस पार्टीको सचिवालय बैठक, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सबै बैठकमा खनालले गठबन्धनबाट धोका भएकाले कांग्रेससँगको सहकार्यमा भर नपर्न आग्रह गर्दे आएका छन् । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) संसदबाट अनुमोदन भएदेखि नै उनी कांग्रेससँग चिढिएका थिए । उनले एमसीसी अनुमोदन गर्न नहुने भन्दै लविङ गरेका भए पनि असफल भएका थिए ।

एमसीसी अनुमोदन भएपछि पनि त्यसको चर्को विरोध गर्दै आएका खनाल अहिले गठबन्धनको विरोधमा उत्रेका छन् ।

 ‘इलाममा एमालेको सहयोग बिना निर्वाचन नजित्ने भएका कारण पनि खनालले गठबन्धनको विरोध गरेका हुन्’, इलाम एस पार्टीका एक नेताले भने । 

उनका अनुसार आगामी निर्वाचनमा इलामभित्र एमाले र एस पार्टीको सहकार्यका लागि भित्रभित्रै पहल भैरहेको छ । ‘खनाल–नेम्वाङबीच सहकार्य हुने अवस्था छ दुवै नेताहरु यसमा सकारात्मक छन्’, एमालेका एक नेताले भने । 

खनालले स्थानीय तहको निर्वाचनपछि पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भनेर वकालत गर्दे आएका छन् । 

केन्द्रीय कमिटीको बैठक र राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा सम्बोधन गर्ने क्रममा पनि खनालले गठबन्धनमा एस पार्टी सन्तुष्ट हुने ठाउँ नभएको बताउँदै त्यसको गम्भीर समीक्षा हुने भनेर कार्यकर्तालाई उत्तेजित बनाएका थिए । 

सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भए पनि मुख्य नेताहरुका कारण त्यो सम्भावना कमजोर रहेको तर्क गर्दै आएका छन् । 

‘वामपन्थीहरुबीच एकता हुनु चाहिँ वस्तुगत आवश्यकता हो । तर वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता छ’, परिषद बैठकमा सम्बोधन गर्दै भनेका थिए ।



नयाँ