- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरका एक नगर प्रहरीलाई संवेदनशील अंग (गुप्ताङ्ग) मा हिर्काएर गम्भीर घाइते बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दलका नेता एवं पोखरा-२ का वडाध्यक्ष दिवसमान प्रधानांगले मंगलबार विज्ञप्ति प्रकाशित गरी करारका कर्मचारी हटाउने विषयमा आक्रोश पोख्दै एमालेले अराजक गतिविधि गरेको आरोप लगाए ।
कर्मचारी संगठनको ब्यानरमा जनप्रतिनिधि सरिक भई अराजक गतिविधिमा उत्रनु शोभनीय विषय नभएको कांग्रेसको जिकिर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित जनप्रतिनिधिले आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी डिउटीमा खटिएका नगर प्रहरीलाई घिसारेर बाहिर निकाल्नु, नगर प्रहरी सहायक निरीक्षक शान्तबहादुर केसीको संवेदनशील अङ्गमा प्रहार गरी सख्त घाइते बनाई शल्यक्रिया गर्नुपर्ने परिस्थितिको सृजना हुनुले हामीलाई अत्यन्त दुःखीत तुल्याएको छ ।’
आन्दोलन गर्ने नाममा अर्को कर्मचारीमाथि सांघातिक आक्रमण हुनु निन्दनीय विषय भएको विज्ञप्तिमा उल्लेख छ । आक्रमण गर्ने जो कसैलाई तत्काल अनुसन्धान गरी कडा कारबाही गर्न र उचित स्वास्थ्य उपचारको प्रबन्ध गर्न कांग्रेसले माग गरेको छ ।
महानगरको कार्यपालिका बैठकले २८ जना करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधिले महानगरपालिकामा धर्ना दिएका थिए ।
प्रदर्शन गरिरहेका एमालेका जनप्रतिनिधि कार्यालयभित्र पस्न खोज्दा धकेलाधकेल भएको थियो । सो क्रममा नगर प्रहरीका सहायक निरीक्षक नगर प्रहरी सहायक निरीक्षक केसीको गुप्ताङ्गमा प्रहार भएपछि केसी घाइते भएका थिए ।
केसीको गण्डकी मेडिकल कलेजमा शल्यक्रिया पछि उपचार भइरहेको छ । उनीमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीमा जाहेरी परेको बताइएको छ ।
घटना हुँदा विदेशमा रहेका मेयर धनराज आचार्य फर्किएपछि अस्पताल पुगेर केसीलाई भेटेका थिए । सो क्रममा मेयर आचार्यले जनप्रतिनिधिले गरेको दुर्व्यहार सहन नसकिने बताएका थिए ।
महानगरका प्रवक्ता एवं घटना हुँदाका दिनमा कार्यबाहक प्रमुखको जिम्मेवारी पाएका मोती तिमिल्सिनाले यस विषयमा महानगरले घटनाको अनुसन्धान गर्ने र दोषीमाथि कारबाही हुने बताए ।
एमालेका दलका नेता राधिका शाही योगी, पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बराललगायतले केसीलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
विज्ञप्ति