काठमाडौं। नेपाली काँग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रम अहिले हुँदैछ । यसअघि भने राष्ट्रपति कार्यालयबाट बोलावट नआएको भन्दै मन्त्रीका लागि सिफारिस भएकाहरुले गुनासो गरेका थिए ।
मन्त्रीहरुलाई शुक्रवार विहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाए लगत्तै पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि पत्नीसहित सिंगापुर जाने कार्यक्रम रहेको छ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मा कोषाध्यक्ष सीतादेवी यादवलाई, रक्षा मन्त्रालयको जिम्मा बालकृष्ण खाँडलाई सहरी विकास मन्त्रालयको जिम्मा अर्जुननरसिंह केसीलाई, परराष्ट्र मन्त्रालयको जिम्मा डा। प्रकाशशरण महतलाई, श्रम तथा रोजगार मन्त्रालयको जिम्मा सूर्यमान गुरुङलाई, पर्यटन मन्त्रालयको जिम्मा जीवनबहादुर शाहीलाई, बाणिज्य मन्त्रालय रोमी गौचन थकालीलाई, सहकारी तथा गरिवी निवारण मन्त्रालय हृदयराम थानीलाई, सिंचाई मन्त्रालय दिपक गिरीलाई, स्वास्थ्य मन्त्रालय गगनकुमार थापालाई, उद्योग मन्त्रालय नविन्द्रराज जोशीलाई, वन मन्त्रालय शंकर भण्डारीलाई, सामान्य प्रशासन मन्त्रालय केशव कुमार बुढाथोकीलाई दिने निर्णय अनुसार सपथ खाँदै छन् ।
काँग्रेस सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समुहका तर्फबाट गरिएको लामो गृहकार्य पछि मन्त्रीहरुको नाम टुङगो लागेको थियो ।
काँग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी र भौतिक पूर्वाधार मन्त्री रमेश लेखक यसअघी नै नियुक्त भइसकेका छन्।