arrow

‘कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु प्राथमिकता’ : मन्त्री गिरी

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
sichaimantri.jpeg
काठमाडौँ। नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन् । 
 
सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने –“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु ।” 
 
मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए । 
 
सो अवसरमा उनले सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयस्तरीय समस्या समाधान बैठक यही आइतबार (भदौ १२) बोलाउन गरिएको प्रस्ताव स्वीकृत गरे । 
 
विसं २०१८ मा हेकुली–९ दाङमा जन्मिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरी पहिलोपटक मन्त्री बनेका हुन् । विसं २०२९ देखि राजनीतिमा आबद्ध उनि पछिल्लो समयमा दाङ क्षेत्र नं ५ बाट काँग्रेसतर्फबाट सांसद निर्वाचित भएका हुन् । रासस  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ