- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हामीहरूले नेपालका राजनीतिक दलहरूले केही गरेनन् र दलले देशलाई रित्तो पारे भनेर बारम्बार धारेहात लगाइरहेका छौँ । तर उनीहरू पटक्कै सुन्दैनन् । उनीहरूले कानमा कपास कोचेर र आँखामा पट्टि बाँधेर बसेका छन् । अहिले नेपाली जनतालाई नेपालका कुन दल मन पर्छ भनेर सोधियो भने अधिकांशले कोही पनि मन पर्दैन भनेर भन्छन् ।
दलहरूको यो अविश्वसनीयता, अपरिपक्वता, असक्षमता, अपारदर्शीता, फोहरी खेल र लुटतन्त्रप्रति जनता वाक्कदिक्क र आक्रोशित भएका छन् । जनताले पटक पटक दललाई खबरदारी गरेर सम्झाउँदा पनि नसम्झिएका कारण आज दलहरूलाई स्थानीय निर्वाचनमा स्वतन्त्र व्यक्ति जिताएर राम्रै दण्ड र सजाय दिएका छन् ।
राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा अत्यधिक मतले स्वतन्त्र व्यक्तिले जित्नु भनेको सात दशक राजनीतिक इतिहास बनाएका दलहरूलाई सामान्य पाठ र झापड होइन । नेपालका प्रमुख शहरमा स्वतन्त्रले जित्दा पनि अझै दलहरूले आफ्नो अहंकार र दम्भ देखाइरहेको देखिन्छ । वास्तवमा दलहरू सुध्रिनको लागि यो एउटा महत्वपूर्ण शिक्षा हो । दलहरूलाई अबको विकल्प भनेको सच्चिने कि सकिने भन्ने मात्र रहेको देखिन्छ ।
शासन व्यवस्थाको दृष्टिकोणले संसारको उत्कृष्ट व्यवस्था भनेको हामीले अबलम्वन गरेको लोकतान्त्रिक व्यवस्था नै हो । यो व्यवस्थाका विकल्पमा अरु व्यवस्था सोच्नु पर्ने अवस्था देखिँदैन । लोकतन्त्रमा राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । लोकतन्त्रलाई एउटा गतिमा हिँडालेर देशको उन्नति र प्रगतिको लागि दलहरूकै भूमिका चाहिन्छ । नेपाली जनता जतिसुकै आक्रोशित भएर स्वतन्त्रलाई जिताए पनि दलको विकल्प स्वतन्त्र व्यक्ति हुन सक्दैन र लोकतन्त्रमा दलको विकल्प दल नै हो ।
नेपालमा रहेका सबै दलहरू व्यापारिक पसल थापेर पैसा कमाउने र ठग्ने धन्दामा लागेको हुनाले दर्जनौं दल हुँदा पनि स्वतन्त्रलाई जिताउनु पर्ने बाध्यता आएको हो । नेपालका राजनीति दलमा कुनै किसिमको सैद्धान्तिक आचरण नै छैन । कुनै पनि दलहरू नीति र सिद्धान्तमा चल्न सकेका छैनन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, मधेसवादीलगायत यी सबै राजनीतिक दलहरूको मूल मर्म भनेको सत्ताको रसास्वादन कसरी लिन सकिन्छ भन्ने मात्र रहेको देखियो ।
राजनीतिक दलहरू व्यक्ति व्यक्तिको आकांक्षा, कुण्ठा, पदलोलुपताले गर्दा जुट्ने र फुट्ने गरेका छन् । स्वार्थलोलुपताले जुटेका हुन्छन् भने फेरि त्यही स्वार्थलोलुपताले नै फुटेका हुन्छन् । यी दलहरूमा नीति, सिद्धान्त, नैतिकता, आचरण, आस्था भन्ने केही पनि छैन । नेतृत्वदेखि लिएर कार्यकर्तापंक्तिसम्म जो जसरी गीत गाए पनि वा नाचे पनि भइदिएको छ । दलभित्रका संगठित भनिएका कार्यकर्ताहरूमा कुनै किसिमको बन्धन वा पार्टीगत सम्बन्धको सूत्र छैन । सबै पार्टीमा झोले र टिकेको बिगबिगी छ ।
आजका सबै पार्टीहरू आफ्नो सिद्धान्त र नीति भन्दा बाहिर गएको हुनाले असफल र असक्षमको टीका लगाउन पुगेका छन् । पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेतिर नलागेर पार्टीभित्र कुनै व्यक्ति विशेषले आफ्नो वर्चस्व जमाउन गुट र उपगुट बनाउने, आफ्ना छोराछोरी, भाइभारदार, नाताकुटुम्बलाई टीका लगाएर पार्टीमा भित्र्याउने, आफ्नो निजी सम्पत्ति बाँडेसरि पदहरू बाँड्ने र माथिमाथि चढाएर भजन गाउन लगाउने, अरुलाई नेतृत्वमा पस्ने बाटो नै बन्द गरिदिने र शरीर र्याले र सिँगाने होउन्जेल कुर्सीमा गडिरहने प्रवृत्तिले गर्दा नेपालका दलहरू साँच्चै राजनीति दल बन्न सकेका छैनन् । काठमाडौंका टोलैपिच्छे राजनीति पार्टीका होर्डिङ बोर्ड झुन्ड्याएर झोले र टीकेलाई अघिपछि लगाएर पार्टी बन्न सक्दैनन् ।
व्यक्तिलाई केन्द्रमा राखेर पछाडि कम्युनिष्ट वा लोकतान्त्रिक नामको पार्टीको पुच्छर जोडेर पार्टीका पसल खोल्नुको कुनै औचित्य छैन । त्यस्तै जातीयता र क्षेत्रीयताका नाममा राजनीति पार्टी खोलेर मन्त्रीको बार्गेनिङ गर्नुको पनि केही तुक देखिएन । इतिहास बनाएका ठूला दल भनिएकाले झन् फराकिला छाती बनाउलान् र सबैलाई समेट्लान् भनेको झन् मरिचसरि खुम्चिएर गुट र उपगुटमा लागेर बिलो समात्दै सत्तामा रमाउँदै भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।
अहिले नेपालका राजनीतिक दलहरू दल नबनी व्यक्तिका कम्पनीका रुपमा परिचित भएका छन् । दलको पछाडि व्यक्ति नभएर व्यक्तिको पछाडि दल चलेको देखिन्छ । कुनै दललाई दलको नामले सम्बोधन गर्नु भन्दा पनि व्यक्तिको पार्टी भन्ने गरिन्छ । देउवाको कांग्रेस, ओलीको एमाले, माधवको समाजवादी, प्रचण्डको माओवादी, वैद्यको माओवादी, विप्लवको माओवादी, उपेन्द्रको जसपा, महन्थको लोसपा, चित्रबहादुरको जनमोर्चा, विजुक्छेको नेमकिपा आदिको नाममा पार्टी चलेका छन् ।
पार्टीभित्र नीति, सिद्धान्त र आन्तरिक लोकतन्त्रको अभ्यास र प्रतिस्पर्धा नै छैन । मुख्य नेतृत्वले जे भन्छ वा गर्छ त्यसैलाई स्वीकार्नुको विकल्प केही छैन । कुनै आफ्नो मान्छेलाई टपक्क टिपेर पार्टीको कुनै पदमा टीका लगाइ पदासिन गराइन्छ र आफू अनुकूलको पार्टी चलाइन्छ । यही कारणले पनि आजका पार्टीहरू जीवन्त, बलिया र विश्वासयोग्य हुन सकेका छैनन् ।
नेपालमा प्रजातन्त्र प्राप्तिको लागि राणा शासन, पञ्चायती शासन र राजाको शासनविरुद्ध लडेर आफूले बनाएको पार्टीको योगदानको इतिहासलाई नेपाली कांग्रेस र केही कम्युनिष्ट घटकले आफैंले माटोमा विलीन बनाउँदै गएको देखिन्छ । देश र जनताका बारेमा एक सेकेन्ड सोच्ने समय यी दलमा छैन । जनताको गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारका बारेमा कसैलाई चासो छैन । भोक र शोकले जनता छट्पटाएका छन् ।
जनताका आँखामा आँसुको खोलो बगेको छ । तर पुछिदिने कोही छैन । यहाँका मन्त्रीहरूलाई केवल सत्ता र कुर्सीको मोह मात्रै छ । उनीहरूलाई जनताको आँसु पुछ्न पाइएन भन्ने चिन्ता छैन । बरु आफ्नो पद खोसियो भनेर भावुकताको नाटक देखाई बलिन्द्र आँसु बगाएका हुन्छन् । आजको नयाँ पुस्तालाई यी पार्टीहरूले विगतमा त योगदान दिएका थिए भन्दा पनि विश्वास गर्ने अवस्था छैन ।
यति लामो इतिहास बोकेका पार्टीहरूले चुनावी प्रतिस्पर्धामा एउटा स्वतन्त्र व्यक्तिसँग शर्मनाक हार बेहोर्नु परेको छ । यति ठूला भनिएका पार्टी व्यक्तिसँग चुनाव हार्नु भनेको पार्टीको अवस्था र उचाइ कहाँ पुगेको छ भन्ने कुरा छर्लङ्ग नै देखिन्छ । स्थानीय निर्वाचनमा जनताको यो आक्रोशलाई अवमूल्यन गरी पुनः आजको युवा पुस्तालाई पुराना पार्टीका नाममा उही र उस्तै पाराले देउवा, ओली, प्रचण्ड, माधव, उपेन्द्र, बाबुराम आदिको दौराको फेर समात्दै हिँड्न लगाइयो भने त्यसको परिणाम पार्टीको लागि अझै अनपेक्षित हुनेछ ।
अब समयको माग अनुकूल नेताहरू सच्चिनु र सुध्रिनु पर्छ । वर्षौंवर्ष कुर्सी ओगटेर पटकपटक नेतृत्वमा रहेर भजनमण्डली बनाई देशलाई रित्तो बनाएर सिन्को नभाँच्ने नेतृत्व अबको निर्वाचनमा उठ्नुको कुनै औचित्य छैन । देशमा नाम चलेका नेताहरूलाई आफ्नै स्थानीयतह गाउँपालिका वा नगरपालिकामा समेत जनताले विश्वास गर्दैनन् । देउवा, ओली र प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउने हो भन्दै पुनः दलहरू जनतामा गए भने स्वतन्त्रको संख्या झन् बढ्ने देखिन्छ । अबको प्रधानमन्त्री रवि लामिछाने भनेर सामाजिक संजालमा छाएको देखिन्छ । रवि लामिछाने पनि दल बनेर आएको हुनाले नहोलान् भन्न पनि सकिन्न ।
आफूलाई महान्, गौरवशाली र इतिहास बोकेका पार्टी हौँ भन्नेहरूलाई यो ठूलो चुनौती हो । लोकतन्त्रमा दलको विकल्प दल नै भएको हुनाले नयाँ वा पुरानो दल जसले पनि सरकार बनाउन सक्छ । अब आफूलाई पुराना भनिएका दलहरूले रवि लामिछाने जस्ता नयाँ पार्टीका युवा पुस्तासित भिड्न सक्ने पार्टी भित्रका इमान्दार र निष्ठावान दोस्रो वा तेस्रो पुस्ताका कार्यकर्तालाई प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेनन् भने ती पुराना भनिएका दलहरू इतिहासका पानामा मात्र सीमित हुन सक्छन् ।
स्वतन्त्रहरू पनि दलको रुपमा संगठित भएर देखापरेको हुनाले पुराना दलहरू नसच्चिइ आउने हो भने आगामी संघ र प्रदेशको निर्वाचनमा ठूलो मूल्य चुकाउनु पर्ने देखिन्छ । दलहरूप्रति अत्यन्त वितृष्णा भएको अवस्थामा राजधानी काठमाडौं लगायतका ठूला शहरमा पुराना दललाई निर्वाचन जित्न धौधौ देखिन्छ । पत्रकार रवि लामिछाने काठमाडौंको कुन क्षेत्रमा उठ्ने होलान् भनेर कतिपय नाम चलेका नेताको मुटुमा ढ्याङ्ग्रो ठोकिएको देखिन्छ ।
अब कम्युनिष्टमा सिद्धान्तविहीन व्यक्तिपिच्छेका दलहरू बन्द गरिनुपर्छ र कांग्रेसमा पुराना पुस्तालाई बिदा गरी नयाँ पुस्तालाई समेट्ने गरी नयाँ पार्टी निर्माण गरिनुपर्छ । नेपाल जस्तो सानो देशको लागि धेरै दलको आवश्यकता छैन । राजनीतिक दललाई कमाउने भाँडो र पेशाको रुपमा नचिनाइ सामाजिक सेवाको रुपमा स्थापित गरिनुपर्छ । राजनीतिक दल नीति, विचार र सिद्धान्तका आधारमा चल्नुपर्छ । दलहरू बलिया भए भनेमात्र लोकतन्त्र पनि बलियो हुन्छ । लोकतन्त्र बलियो भयो भने समुन्नत समाजको निर्माण हुन्छ । (लेखक हाल अमेरिकाको भर्जिनियामा बस्छन्)