arrow

प्रहरीको सुरक्षामा टिकट बिक्री

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
nepal police.png.png
धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् । 
 
कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नुपरेको बडिमालिका यातायात व्यवसायी समितिका पदाधिकारीले बताएका छन् । 
 
सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनको विषयलाई लिएर लामो समयदेखि विवाद रहेको छ । 
 
विवादकैबीच गन्तव्यमा गइरहेका बडिमालिका यातायातका बसमा सुदूरपश्चिम यातायात पक्षधरबाट बाधा अवरोध पुर्‍याउँदै तोडफोड हुन थालेपछि टिकट बिक्रीमा समेत प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको हो । 
 
विवादका कारण बसमा पुनः तोडफोड हुनसक्ने देखिएपछि दुई हप्तादेखि प्रहरीको सुरक्षा घेरामा राखेर बडिमालिका बस गन्तव्यतर्फ पठाउन थालिएको छ । तीन हप्ताअघि यहाँ दुई पक्षबीच झडपका साथै बसमा तोडफोड भएको थियो । सुदूरपश्चिम यातायात व्यवसायी समितिले आलोपालो लगाउन खोजेको आरोप लाग्दै आएको छ । 
 
बडिमालिका यातायातले प्रालिमा दर्ता भए अनुसारको ‘रुट परमिट‘ नलिइ बस सेवा सञ्चालन गरेको आरोप अर्को पक्षले लगाएको छ । 
 
यद्यपि बडिमालिका यातायात व्यवसायी समितिका महासचिव दिबहादुर खलौलाले आफूहरुले नियममानुसार बससेवा सञ्चालन गर्न खोजे पनि सुदूरपश्चिम यातायात पक्षधरको ‘सिन्डिकेटका’ कारण बाधा अवरोध पुर्‍याइएको बताउछन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ