arrow

मन्त्रीको कुर्सी गएपछि जनार्दन शर्मा भेटघाटमा, नेकपा एस तानातानमा

झलनाथ एमालेतिर, माधव माओवादीतिर नजिकिदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
oli-prachanda-madhav-jhalanath.jpg

काठमाडौं । अर्थमन्त्रीबाट बाहिरिए लगत्तै जनार्दन शर्माले वामपन्थी दलका नेताहरुसँगको भेटघाटलाई बढाएका छन् । उनले नेकपा एकीकृत समाजवादी एस पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेटघाट गरेका छन् । 

संघीय संसदको निर्वाचनमा माओवादी केन्द्र र एस पार्टी गठबन्धन गरेर जाने विषयमा कुरा चलिरहेका बेला शर्माले खनालसँग भेटघाट गरेका हुन् । विगतमा एमाले र माओवादी मिलाउने भूमिकामा रहेका शर्माले नेता खनालसँग दुई घण्टा कुराकानी गरेका थिए । 

आइतबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आउनु अघि शर्माले खनालसँग कुराकानी गरेका थिए । निर्वाचन अघि नै एस पार्टीलाई एकीकरण गराउने प्रयासमा रहेको माओवादीले शर्मालाई कुराकानीका लागि खटाएको स्रोतको दाबी छ । 

‘पार्टी एकताको सम्भावनाबारे छलफल भएको छ, तर खनाल एमालेसँग नै एकीकरण गर्ने पक्षमा देखिनु भएको छ’, स्रोतले भन्यो । एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल भने एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने भन्दा पनि माओवादीसँग नजिक देखिएका छन् । 

उनले एमालेसँग मिल्नुभन्दा माओवादीसँग मिल्न सकिने धारणा राखिसकेको अवस्थामा खनाल भने एमालसँगै मिलेर जानुपर्ने पक्षमा रहेका छन् । भेटघाटको क्रममा शर्मा निकट स्रोतका अनुसार नेता खनालमा एमालेसँग मिलेर गए वामपन्थीले नै आगामी राष्ट्रपतिको चुनावसमेत जित्न सक्ने आत्मविश्वास देखिएको थियो ।

एमाले विभाजनको साढे दश महिनापछिको संवादहीनताको अवस्था तोड्दै ओली र खनाल सहकार्यको सम्भावनासमेत भएको छ । उनीहरुबीच भेटघाटको वातावरणसमेत तयार गर्न लागिएको बेला शर्माले खनालसँग कुराकानी गरेका थिए । एमाले अध्यक्ष ओलीलाई पनि अहिलेको सत्तारुढ गठबन्धन तोड्नैपर्ने बाध्यता रहेका बेला ओली–खनालको भेटघाटको संभावना नजिक रहेको स्रोतको दाबी छ । 

एमाले र एकीकृत समाजवादीका कार्यकर्ता तहबीच कुनै समस्या नरहे पनि दुवै पार्टीका नेतृत्व तहका बीच भने तिक्ततापूर्ण सम्बन्ध छ । दुवै पार्टीका शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रममार्फत आपसमा आलोचना गर्दै आएका छन् । 

यद्यपि स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच इलाम, डोल्पा, हुम्लालगायत केही जिल्लामा दुवै पार्टीको केन्द्रीय नीति विपरीत सहकार्यसमेत भएको थियो ।  

अहिले पाटन वाारको निर्वाचनमा पनि एमाले र एस पार्टीसम्बद्ध वकिलहरुको गठबन्धन भएको थियो । जसबाट प्यानलै जित हात पारेका छन् । एसका सम्मानित नेता खनालले पार्टीको केन्द्रीय सचिवालय, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय परिषद् बैठकमा एमालेसँगको सम्भावित सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा राखेका थिए । 

उनले ओली ठीक नभए पनि एमालेका अधिकांश कार्यकर्ता समाजवादका पक्षमा रहेकाले तल्लो तहमा संघ र प्रदेशको चुनावमा सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा राखेका थिए । 

यही पृष्ठभूमिमा शर्माले खनालसँग दुई घण्टा कुराकानी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

चिनियाँ नेताले कतै सुपर ग्लू लिएर आएका छन् कि भन्ने आशा पनि गर्न सकिन्छ । किनकि एमाले र माओवादीको पार्टी एकता गराइदिने पनि चीन नै थियो । 

अहिले फेरि लिउ आएपछि एकाएक गठबन्धनको चर्चा रोचक बन्दै गएको छ । 



नयाँ