arrow

परराष्ट्रमन्त्री महतको संकेत–प्रचण्डको भारत भ्रमण अघि नै भारतमा राजदूत नियुक्ति

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
pararastramantri-naht.jpeg
काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै ठाउँमा चाँडै राजदूत नियुक्त हुने बताएका छन् । रिपोटर्स क्लबको साक्षात्कारमा मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ति गर्नेबारे कुराकानी भइरहेको पनि स्पष्ट पारे । 
 
मन्त्री महतले भने, ‘भारत र चीन दुवै ठाउँमा राजदूत नियुक्ती गर्छौँ र खाली रहेका अन्य मुलुकहरुमा पनि नियुक्ती गर्छौँ’ ।’ मन्त्री महतले विश्वासमा आधारित भएर छिमेकी भारत र चीन लगायतका मुलुकहरुसँग सम्बन्ध विकसित गर्ने पनि बताए । 
 
परराष्ट्रमन्त्री महतले आर्थिक रुपले प्रगति गरिरहेका दुई ठुला छिमेकी राष्ट्र भारत र चीनबाट नेपालले बढी भन्दा बढी फाइदा लिन सक्ने गरी विश्वासको आधारमा सम्बन्ध विकसित गरेर अघि बढ्ने बताए ।
 
मन्त्री महतले थपे, ‘नेपालको आफ्नो आम राष्टिय स्वार्थलाई सुरक्षित राख्दै, छिमेकिहरूका चिन्ता र चासोलाई सम्बोधन गर्ने र विश्वासमा आधारीत रहेर सम्बन्ध विकास गर्ने हाम्रो प्राथमिकता हो । हाम्रो आर्थिक उन्नति पनि यसमै निर्भर छ ।’ उनले नेपालको व्यापार घाटा बढेको भन्दै यसलाई कम गर्न छिमेकीहरुसँग विश्वासपूर्ण वातावरण सिर्जना हुनुपर्ने र उनीहरुको आर्थिक विकासबाट लाभ लिनुपर्नेमा जोड दिए ।
 
मन्त्री महतले विदेशमा बसेका नेपालीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राख्ने समेत बताए । उनले खाडी मुलुकका दूताबासलाई नेपाली नागरिकको सुरक्षामा केन्द्रित हुने गरी सक्रिय पार्ने आफ्नो योजना रहेको पनि समेत बताए । नेपालको अर्थतन्त्र खाडी मुलुकमा नेपालीहरुले पठाउने विप्रेषण (रेमिट्यान्स)बाट धानिएको भन्दै महतले उनीहरुको सुरक्षा आफ्नो प्रमुख प्राथमिकतामा रहेको उल्लेख गरे । 
 
‘छिमेकीहरुसँगको सम्बन्धका बारेमा सार्वजनिक बहस गर्नु भन्दा पनि कुटनीतिक रुपमा छलफलबाट टुंग्याइनेछ’–महतले भने । उनले छिमेकी भारत र चीनसँग अघिल्लो सरकारले सैद्धान्तिक सहमति मात्रै गरेको उल्लेख गर्दै कार्यान्वयनका लागि चरणबद्ध गृहकार्य आवश्वयक रहेको र त्यसमा सरकार क्रियाशिल हुने पनि बताए । 
 
अर्को प्रसँगमा सरकारले पूर्णता पाएसँगै मधेशी दलहरुसँगको सहमति कार्यान्वयन गर्ने बताए । उनले संविधानको कार्यान्वयन, भुकम्पपीडितलाई राहत र पुनिर्निर्माणमा सरकारको ध्यान रहेको बताए । संविधान संशोधनका लागि वार्ता प्रक्रिया अघि बढाइएको पनि उनले बताए । त्यसका लागि न्यूनतम सहमति गरेर संविधान संशोधन गर्ने उनको भनाई छ । 
 
‘सबैको समर्थनमा संविधान कार्यान्वयन गर्छौँ’ –उनले भने । मन्त्री महतले स्थानीय निकायको निर्वाचन सरकारले गराउने प्रतिवद्धता पनि व्यक्त गरे । यसैगरी सरकारले कालो बजारी, महँगीलाई कुनै पनि हालतमा छुट नदिने भन्दै त्यसमा संलग्नहरुलाई कारबाही गर्ने आश्वासन समेत दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ