arrow

निष्पक्ष, परामर्शदाता र परमधर्मका ज्ञाता विदुर को हुन् ?

logo
प्रकाश ढकाल,
प्रकाशित २०७३ भदौ ११ शनिबार
Vidur-Policy.jpeg
काठमाडौं । महाभारतमा दिइएको वंशानुक्रमानुसार ऋषि अत्रिका छोरा सोमबाट वंश परम्परा चलेको पाइन्छ । यहि सोमवंशमा पछि प्रसिद्ध राजा ययाति देखा परे ययातिका जेठा छोरा यदु थिए भने कान्छा छोरा पुरु थिए । यदुले आफ्ना बाबु ययातिलाई रिसाउन बाध्य पारेको हुनाले उनले हस्तिनापुरमा राज्य गर्न पाएनन् । उनी द्वारकातर्फ लागेर छुट्टै राज्य खडा गरी राज्य शासन गर्न थाले । सोहि वंश नै पछि गएर यदुवंशको नामले प्रसिद्ध भयो ।
 
यता तिनै ययातिका कान्छा छोरा पुरु राजा भए । यिनैको वंशमा पछि भरत राजा भए ।  भरतकै वंशमा कुरु र त्यसपछि शान्तनु राजा  भए । महाराजा शान्तनु निकै पराक्रमी एवम् प्रतापी पनि थिए । उनको विवाह गङ्गासँग भएको थियो । उनले विवाह गर्नुपूर्व महाराज शान्तनुसँग एउटा शर्त राखेकी थिइन् । मैले जे गरेपनि जसो गरेपनि महाराज शान्तनुले सहनुपर्ने, यदि महाराजले शर्त भङ्ग गरेमा छोडेर जानेछु ।  
 
उनले यस्तो कुरा राखेकी थिइन. । यो शर्तलाई महाराज शान्तनुले पनि स्वीकारेका थिए । विवाह पश्चात् महारानी गङ्गाले सात सन्तान जन्माइन् र सबैलाई गङ्गामा लगेर बगाइदिईन् । आफ्ना सन्तानको, वंशको त्यस्तो विनाश लीला देख्दा शान्तनु मुर्मुरिन्थे । तर, श्रीमतीले छाडेर जालिन् भन्ने डरले बोलेनन् । आठाैँ सन्तानको पनि त्यही अवस्था सिर्जना हुन लागेकोले शान्तनु महाराजले रोके । त्यो कर्म रोक्नासाथ महारानी गङ्गा त्यहाँबाट हिँडिन् । विरक्तिएका महाराज शान्तनु शिकारका लागि वनतिर प्रस्थान गरे । शिकारकै क्रममा माझी पुत्री सत्यवतीसँग भेट भयो । ती केटीलाई देख्नासाथ राजाले मोहित भएर विवाहको प्रस्ताव राखे ।
 
राजाको प्रस्तावलाई अड्को लगाउँदै माझीले बिन्ती गरे । महाराज मेरै छोरीका सन्तान राजा हुन पाउने भए म छोरी दिन्छु अन्यथा असमर्थ छु । माझीको प्रस्तावले उनी झनै आत्तिए । गंगाका एक मात्र छोरा देवव्रतले यो कुरा चाल पाई स्वयं माझीकहाँ पुगे । माझीको उही पुरानो कुराको अड्को फुकाइदिए । म कहिल्यै राजा हुने छैन, अझै मैले कहिल्यै विवाह गर्ने छैन । देवव्रतले आफ्नो पिताको खुशीका निम्ति आजीवन विवाह नगर्ने प्रतिज्ञा गरी माझीकी छोरी सत्यवतीसँग आफ्ना पिताको विवाह गराए ।
 
महाराज शान्तनुका सत्यवती तर्फका चित्राङ्गद र विचित्रवीर्य नाम गरेका दुईजना छोरा भए । दुईवटा छोरा जन्मेको केहि बर्ष पश्चात् महाराज शान्तनु स्वर्ग भए । आफ्ना दाजु देवव्रत भीष्मले नै हुर्काउने, बढाउने, शिक्षा दिक्षा दिने काम गरे । एक सामान्य युद्धमा चित्राङ्गद मारिए । काशिराजका तीन वटी छोरीको अपहरण गरेर विचित्रवीर्यको विवाह गरिदिए । जेठी अम्बा आफ्नो विवाह शाल्वराजासँग हुन लागेकोले उतै जान लागिन् तर नस्वीकारे पछि तपस्या गर्न थालिन् । बिहे गरेको केहि वर्षमै सन्तान नहुँदै विचित्रवीर्यको पनि मृत्यु भयो । हस्तिनापुरमा राज्य संचालन गर्ने व्यक्तिको हाहाकार पर्यो ।
 
सत्यवतीले भीष्मलाई राज्य चलाउन आग्रह गरिन्तर भीष्मले आफूले प्रतिज्ञा नछोड्ने बताए ।  भीष्म, कुलगुरु कृपाचार्य, विभुति र उनका पिता आचार्य ब्राह्मिष्ठ, आचार्य देवपाल र राजमाता सत्यवती समेत भएर सल्लाह गरे । राजमाता सत्यवतीका महर्षि पराशरबाट जन्मिएका वेदव्यासमार्पःत् विधवा बुहारी अम्बिकालाई नियोग प्रक्रिया मार्फत् गर्भाधान गराउने र उनबाट पैदा भएको पुत्र हस्तिनापुरको राजगद्दीमा बसाउने निधो भए बमोजिम सत्यवतीले वेदव्यासलाई आग्रह गर्दै भनिन् । हेर छोरा तिमी जस्तो तपस्वी महात्मा हँदा हुँदै हाम्रो कुरुवंश डुब्न लागेको छ, भीष्म आजीवन ब्रह्मचारी हुन् विचित्रवीर्य मरिसक्यो, अब हाम्रो वंश कसले चलाउने ? तिमीले नै आफ्नो तपस्याको प्रभावले हाम्रो वंशको सञ्चालन गरिदेऊ । 
 
व्यासले आफ्नी आमाको आग्रहलाई लत्याउन सकेनन् । उनले आमालाई भने,“अम्बिका वा अम्बालिका यदि मेरो अगाडि निर्वस्त्र आए भने मेरो दृष्टि शक्ति पाएर सन्तान जन्माउन सक्नेछन् । सत्यवतीले दुवै बुहारीलाई पालै पालो गरेर व्यासको अगाडि पठाइदिइन् । दुवै युवतीहरू ज्यादै लाज मानेर व्यासको अगाडि पुगे । जेठी अम्बिकाले जेठाजु व्यासको सामना गर्न नसकेर लाजले आँखा चिम्लिइन्, कान्छी अम्बालिका भने डराएर पँहेली भइन् । व्यासले दुवैलाई गर्भवती बनाएपछि पहिलो छोरा अन्धो र दोश्रो छोरा पाण्डु वर्णको हुनेछ भनी आमालाई बताइदिए । अन्धो र पाण्डु वर्णको छोरा हुने हुँदा सत्यवतीलाई सन्तोष भएन ।
 
उनले अम्बिकालाई सर्वगुण सम्पन्न भएको अर्काे छोरा जन्माईदिन आग्रह गरिन् र व्यासलाई पुनः राजी गराईन् । अम्बिकाले सासुलाई सामुन्नेमा हुन्छ त भनिन् तर पुनः निर्वस्त्र भई व्यासको अगाडि जाने साहस गरिनन् । उनले आफ्नी परम सुन्दरी वनिता नाम गरेकी युवती दासीलाई व्यासको सामुन्ने पठाईन् । व्यास जस्ता महापुरुषबाट सन्तान जन्माउन वनिता राजी भईन् र सामुन्ने पुगिन् । उनलाई गर्भ रह्यो । व्यासजीले पनि त्यसै दिनदेखि दासीभाव छुटाइदिँदै भने,“तिम्रो कोखबाट एउटा अत्यन्तै धार्मिक पुत्र पैदा हुनेछ ।” 
 
दशमास पूर्ण भएपछि अम्बिकाको कोखबाट धृतराष्ट्र, अम्बालिकाको कोखबाट पाण्डु र दासी बनिताको कोखबाट विदुर जन्मिए । 
तपस्वी माण्डव्य ऋषिको श्रापबाट मोचन हुनका निम्ति स्वयम् धर्मराज यमराजले शुद्रको रूपमा जन्म लिएका थिए । तसर्थ विदुरलाई धर्मराजाको अंश र अवतार मानिएको छ । 
विदुरको बाल्यकाल सुखद अवस्थामै बित्यो । कुरुवंशीका कुलगुरु महर्षि कृपाचार्यको शिक्षाको प्रभावले यिनले शिक्षा प्राप्त गरे । प्रथमतः महर्षि कृपाचार्यबाट युद्धनीति, धर्मनीति, कर्मनीति, कुटनीति जस्ता नीतिहरूमा ज्ञान आर्जन गरे । शान्तनुपुत्र देवव्रत भीष्मको हेरचाह, रेखदेख एवम् नियन्त्रणमा धृतराष्ट्र, पाण्डु र विदुरले शिक्षा, दिक्षा एवम् विविध कलाहरू सिके । 
 
बाल्यकालमा पनि विदुरको स्वभाव राजसी भन्दा पनि व्यवहारिक र मर्यादित थियो । धर्मको अवतारको रूपमा आएका विदुरमा मानिस भएर जन्मेता पनि उनमा दैवी गुण रहेको थियो । उनले आफूमा रहेको दैवीगुणलाई भुलेका थिएनन् । अझ त्यो भन्दा पनि महत्वको कुरा त उनले कहिलै आफुलाई देवताको रूपमा प्रकट गरेनन् । कलियुगको पनि वर्तमान समयमा आफैले आफैलाई देवता घोषणा गर्ने चलन चलेको छ । यो एकदम नराम्रो कुरा हो । त्यस्ता व्यक्तिहरुले विदुरको जीवनी अध्ययन गरी आफूलाई सुधार्नु एकदमै उपयुक्त हुन्छ । 
 
बाल्यावस्थादेखि नै उनी गम्भीर प्रकृतिका थिए । कृष्ण द्वैपायन व्यास, देवव्रत भीष्म पितामह आदि जस्ता मान्यजनहरुको सेवामा आफू प्रायः व्यस्त रहन्थे । आफूभन्दा अग्रज महानुभावहरुको सेवा सम्मानलाई उनले कर्तव्य सम्झन्थे । अग्रज महानुभावहरूको सेवा सम्मानमा उनी रमाउँथे पनि । उनको सानैदेखि बढि बोल्ने स्वभावका थिए तर कोहि बोलेको बेला यति धेरै चुप रहन्थे कि मानौँ केहि पनि जान्दैनन् । उनीबाट सिक्नुपर्ने एउटा ठूलो कुरा भनेको समय र स्थान बुझेर बोल्नु पर्दछ । तर कहिल्यै अनावश्यक कुराहरू बोल्नु हुँदैन र बोल्नुपरेमा पनि ख्याल राखेर बोल्नु पर्दछ । उनीे प्रायः अध्ययन र भगवद् भजनमा नै तल्लीन रहन्थे । 
 
यिनमा सम्पत्तिको लोभ मोह थिएन । भीष्म पितामहले धृतराष्ट्र र पाण्डुको विवाह गराइदिएपछि विदुरको बिहे गर्ने पालो आयो । विदुरले मथुराका एक देवककी पारशवी भन्ने कन्याका साथ विवाह गरे । विदुर आफ्नी धर्मपत्नीका साथ गार्हस्थ्य धर्ममा लागेर भगवान्को भजन कार्यमा आफूलाई धेरैजसो संलग्न राख्थे । धृतराष्ट्रका उनी एक विश्वास पात्र मन्त्री थिए । धर्म, राज, कर्म, लोकयुक्त नीतिले राजकाज संचालनमा उनले धृतराष्ट्रलाई मद्दत पुर्‌याएका थिए । 
 
निष्पक्ष, परामर्शदाता र परमधर्मका ज्ञाता विदुर 
कसैको पक्ष विपक्षमा नलागिकन आफ्नो धारणा अर्थात्, सत्यको पक्षमा लाग्नु नै निष्पक्ष हो । महाभारतको युद्धमा जो कोहि पनि पक्ष या विपक्षमा सामेल नभई सुखै पाएनन् । कुरुक्षेत्रका मात्र नभई सम्पूर्ण भारतवर्षका रथी, महारथी, राजाहरु सबै कौरव या पाण्डवहरु मध्ये एकतर्फ लाग्नैपर्ने अवस्था सिर्जित थियो । श्रीकृष्ण भगवान्समेत युद्धमा लाग्नै पर्ने सिर्जना भयो तर त्यस समयमा भने कुरुवंशी राजा धृतराष्ट्रका मन्त्री विदुर भने न पाण्डव न कौरव कतै तर्फ लागेनन् । पाण्डव र कौरव बीच गर्न लागिएको सन्धि–सहमतिमा सम्झौता हुन सकेन । त्यसपछिश्री कृष्ण समेत हस्तिनापुरबाट फर्किनुभयो । आफ्नै आँखाले यत्रो कुरुकुलको संहार भएको कसरी हेर्ने ? भनेर राजपाट, सुखभोग, सुविधा सबै त्यागेर विदुर तीर्थयात्रा गर्न निस्किए ।
 
विदुरको जस्तो निष्पक्षता महाभारतमा अन्य कसैको पाउन सकिदैन । शकुनीको उक्साहटमा सुरु भएको द्युतक्रिडामा स्वयम् युधिष्ठिरलाई समेत यो छलकपट हो भन्ने थाहा थिएन । पासा खेल्नलाई दुवै पक्षलाई उक्साउने शकुनी थिए भने दुवै पक्षलाई खेल्न हुँदैन भनि  सम्झाउने व्यक्ति विदुर थिए। जुवा भनेको छलकपट हो जस्ले हारे त्यो त रित्तियो नै फेरी जस्ले जित्छ त्यसलाई पनि त्यसले शोभन दिँदैन । यसको अर्थ हो विना परिश्रम सुलगावबाट आएकी लक्ष्मी प्रसन्न हुँदिनन् र दीर्घरूपले त्यस गृहमा बस्न चाहँदिनन‍् । 
 
पाण्डुका पाँचवटै छोराहरु पाण्डु वन विहारगर्दै गरेको समयमा जन्मिएका थिए । समस्त लोकलाई थाहा थियो कि राजा पाण्डु सन्तान उत्पादन गराउन सक्षम छैनन्  । यस्तो स्थितिमा जन्मेका पाण्डुपुत्रहरूलाई राजपुत्र पाण्डव भन्ने स्वीकार गराउनमा पर्दा पछाडि विदुरको महत्वपूर्ण भूमिका समेत रह्यो । युधिष्ठिरलाई युवराज बनाउनमा पनि विदुरले महत्वपूर्ण भूमिका खेलेका थिए । जब वारणावतको लाक्षागृहमा कुन्तीसहित पाण्डुपुत्रहरूलाई जोगाउन विदुरलाई अवश्यमेव कठिन परेको थियो । 
 
विदुर कौरवहरूका मन्त्री पनि भएकोले कौरवहरूलाई सल्लाह दिने गर्दथे । पाण्डवहरूलाई पाञ्चाल नरेश द्रुपदको दरवारबाट ससम्मान बोलाई राज्य प्रदान गर्ने माध्यम बनाउने पनि विदुर नै थिए । यस प्रसङ्गमा भीष्म पितामह र द्रोणाचार्यको पनि महत्वपूर्ण भूमिका छ । 
 
धृ धारणे धातुबाट धर्म शब्दको व्युत्पत्ति भएको हो । धर्म शब्दको शाब्दिक अर्थ धारण गरिएको भन्ने पनि हुन्छ । मानवले आफूले धारण गरेको व्यवहार नै धर्म हो । कुनै पनि वस्तु, पदार्थ वा तत्वले स्वीकारेको अर्थात् व्यवहारमा अवलम्वन गरेको निज कर्तव्य समेत धर्म हो ।तर धारण गरिएका अलङ्कारादि पदार्थ भने धर्म होइनन् । एउटा मानवको कर्तव्य नै मानव धर्म हो । धर्मका विभिन्न प्रकारहरूमा गुण पनि एक हो । गुण धर्म भनेकै राजधर्म हो । विदुरका निम्ति कौरव पक्ष र पाण्डव पक्ष बीच कोहि नजिक पर भन्ने भावना छैन । दुवै मिल्नुपर्छ भन्ने भावना छ । कौरवलाई जति उपदेश विदुरले दिन्थे त्यति नै उपदेश पाण्डवलाई दिन्थे । द्युतक्रिडाको कार्यक्रम चलिरहँदा पनि धृतराष्ट्रलाई विदुरले नीतिगत कुरा गरेर सम्झाउनु उनको समदर्शि समभावको एक परिचय हो । चीरहरणको अवस्थामा पनि विदुरले आफूकाका ससुरा भएको कुरा नभुली दुर्याेधनलाई सम्झाउँछन् ।
 
“मुर्ख दुर्योधन तँ कसको विषयमा कुरा गर्छस् ? कुनै  पनि स्त्रीलाई अपमान गर्नु मनुष्यताको विरुद्ध हो ।” यस भनाईबाट पनि उनले आफ्नो मानव धर्म छोडेनन् भन्ने कुराको पुष्टी हुन्छ । फेरी राजमाता कुन्तीलाई बाह्रवर्ष वनबास नपठाई आफ्नै घरमा राख्ने विदुर साँच्चै परमधर्मका अनुयायी हुन् । 
 
महाभारतमा आफ्नो कर्तव्य नभुल्ने मनिषीहरूमा विदुर पनि एक हुन् । उनले आफ्नो जीवन अन्तिममा युधिष्ठिरमा समाहित गरे । युधिष्ठिरका इन्द्रियहरूमा इन्द्रिय, प्राणमा प्राण, आत्मामा आत्मा एकाकार गराईधर्मराज युधिष्ठिरमै समाहित भए । 
 
विदुरका राजकर्तव्य सम्बन्धी विचारहरू
हस्तिनापुर नरेश धृतराष्ट्र र महाप्राज्ञ विदुरबीच राज्यसञ्चालन सम्बन्धी भएको छलफल नै विदुर नीति हो । विदुरले आफ्नो जेठा दाजु धृतराष्ट्रलाई राजकर्तव्य तथा राज्य सञ्चालनका सम्बन्धमा बताएका कुराहरू नै विदुरका राजकर्तव्य सम्बधी विचारहरू हुन् । हुन त महाभारत आफैमा राजनीति हो । यसका पद पदमा राजनीतिक चिन्तन एवम् दृष्यहरू समाहित छन् । बुझेर भन्दा पनि प्रत्यक्ष रुपमै मन्त्री विदुरले राज्य सञ्चालनको नियम बताएको प्रसङ्गलाई यहाँ सामान्य चित्रण गर्न खोजिएको छ । विदुर नीति व्यापक छ विदुर नीतिमा राजधर्मको मात्र व्याख्या नभई सामाजिक, पारिवारीक, आर्थिक धर्महरूको पनि विवेचना रहेको पाइन्छ ।
 
विदुरले मुर्ख,पण्डित, विद्वान्, बुद्धिमान्, कस्ता हुन्छन् ? को आफ्नो मित्र हो ? कसरी चिन्ने? जस्ता कुराहरू बताएका छन् । उनको यस किसिमको व्याख्या विवेचनाले विदुर नीतिमा राजनीति मात्र नरहेको कुरा स्पष्ट हुन्छ । राजाले सर्वप्रथम कार्य र अकार्य छुट्याउनु पर्दछ । मित्र, शत्रु र मध्यस्थलाई चिन्ने प्रयत्न गर्नुपर्दछ र यी तिनै थरीलाई साम, दाम, दण्ड भेदको उपयोग गरेर भएपनि आफ्नो वशमा ल्याउनु पर्दछ ।
 
गोप्यता राखिरहनसक्नु राजाको अर्को गुण हो । अर्थात् राजनीति गर्ने जो कोहीले पनि गोप्य कुरा राख्न सक्दैन भने त्यसको कान्ति क्षय हुन्छ । राजाको विनाश त हुन्छ नै त्यसले राष्ट्रलाई पनि घाटा हुन्छ । राष्ट्र, जनता र सत्ताधारी (राजा) सबैको विनाश गराउने कुरा राष्ट्रिय स्तरको गोपनियताको प्रकट हो । विदुरले फेरी महाराज धृतराष्ट्रलाई सम्झाउँदै भन्दछन् । काम, क्रोधलाई त्याग गरी सत्पात्रलाई धन दिने विशेषज्ञ, शास्त्रज्ञ अनि कर्तव्यपरायण त्यस्ता राजाको बोली र व्यबहार बल्ल प्रामाणिक हुन्छ । 
 
तसर्थ महाराज तपाइको संगत राम्रोसँग होस् । जनतालाई खुशी राख्नु नै राजाको कर्तव्य हो । जसरी एउटा भ्रमरले एउटा सुन्दर पुष्पमा कुनै खोट नलगाईकन मकरन्द लिने गर्दछ । त्यसै गरि नै राजाले पनि प्रजा वर्गबाट कर असुली गर्नुपर्दछ । फेरी राजनीति गर्ने व्यक्ति अर्थात् राजा कहिलै सन्तुष्ट नहोस्, आफ्नो लक्ष्य र कर्मबाट । तर प्रजालाई देख्दा हाँस खुश हुने, आफ्नो शक्ति नहुँदा पनि शक्तिशाली देखिन खोज्ने, प्रजाका अगाडी कहिलै हिनताबोध नदेखाउने राजा अर्थात् राजकर्मचारी मात्र अविनाशी हुन्छन् ।
 
तसर्थ राजाले त्यस्तो कुरामा धेरै ध्यान दिनुपर्दछ । प्रिय बोली , प्रेममय नजर , उदार मन, विकासोन्मुख हुँदै प्रगतिशील कर्मगर्ने शासक सधैभरी जनताका प्रिय हुन्छन् । यस्ता काम गर्ने शासकलाइ उनीहरूलेसर्वदा सम्मान गरिरहन्छन् । संसारमा धर्म सबैभन्दा ठूलो कुरा हो । कुनै पनि राजाले राज्य संचालन गर्दा धर्म अङ्गीकार गर्नैपर्छ ।धर्मद्वारा नै राज्य प्राप्त गरेर धर्ममूलक तरिकाले राज्यको रक्षा राजाले गरोस् । धर्मयुक्त तरिकाद्वारा प्राप्त भएकी राज्यलक्ष्मीलाई सबैले प्रेम गर्दछन् । उनलाई न राजाले त्याग्दछन् न उनले राजालाई त्याग्दछिन् ।
 
राजनीति गर्ने मान्छे, मन्त्री र स्वयं राजामा पनि षड्गुण हुनु आवश्यक हुन्छ । राजनीतिक षड्गुण नबुझ्ने मान्छे कहिल्यै राजनीतिज्ञ अथवा राजाहुन सक्दैन अर्थात्टिक्दैन ।
राजनीतिक षड्गुणहरू
१. सन्धि – शत्रु, छिमेकी वा अरु राष्ट्रसँगसहयोग लिनदिनको निम्ति गरिने सम्झौतानै सन्धि हो ।
२. विग्रह – शत्रुहरूसँग टाढा रहनु अर्थात् शत्रुहरूलाई एकआपसमा फुटाउने नीति नै विग्रह हो ।
३. यान – आफ्ना शत्रुलाई जुनसुकै तरिकाले आक्रमण गर्नु नै यान हो ।
४. आसन – युद्धहाँक सुन्दा पनि आफ्नो पक्ष निर्बल भएको खण्डमा शक्ति संचित गर्दै चुपचाप बस्नुनै आसन हो ।
५. द्वैधीभाव – भित्रीरूपमा शत्रुता राख्दै बाहिरी रूपमा मित्रता गर्नुनै द्वैधीभाव हो ।
६. समाश्रय – आफू पराजित भएको खण्डमा आफूभन्दा बलियो एवम् सुयोग्य राजाको शरणमा जानु नै समाश्रय हो ।
 
वर्तमान समयमा पनि राजनीति गर्ने जो कोहिमा पनि राजनीतिक षड्गुण हुनु अनिवार्य हुन्छ । राज्य आक्रमण र राज्य विजय मात्र नभई आफ्नो पद प्रतिष्ठाको निम्ति पनि राजनीतिक षड्गुण अनिवार्य हुन्छ ।जति बेला राजाले सत्य के हो? भन्ने कुरा सँगै समयको महत्व बुझ्न सक्दैनन् । त्यति बेलाबाट नै राजाको शासन सत्ता क्रमशःपतनोन्मुख हँुदै गईरहेको हुन्छ । जसरी एउटा शुक्ल पक्ष पछि कृष्ण पक्ष आउँछ ।शुक्लपक्षमा शशीको उदय भो भनेर उज्यालो नखोज्नेले कृष्ण पक्षमा त्यहिँ भ्रममा पर्दा त्यो अवश्य दुर्घटनामा पर्दछ । 
 
महाप्राज्ञ , महामन्त्री विदुर भन्नुहुन्छ । “हे ! धृतराष्ट्र महाराज तपाइले महान् धनुर्धर , अत्यन्त तेजस्वी , सत्य पथिक पाण्डवहरूलाई छाडेर यो महान् हस्तिनापुर राज्यैश्वर्यको भार दुर्योधन उपर राखिदिनुभयो । तीनै लोकबाट जसरी दानवीर बलीराजा पतन भएथे त्यसैगरी तपाई स्वयम्ले नै त्यसैगरी हस्तिनापुरको साम्राज्यबाट दुर्योधनादि कौरवहरू पतन भएको देख्नुपर्नेछ ।”
 
यसरी विदुरले राजा धृतराष्ट्रलाई राज्यसञ्चालनको सन्देशबताउनु भएको छ । राजकर्तव्यको बारेमा प्रकाश पार्नुभएको छ । महाभारतमा विदुरको आफ्नै छुट्टै र महत्वपूर्ण योगदान छ । महाभारतमा विदुरको कर्तव्यपरायण , निष्पक्ष , आदर्श , धर्म , अध्ययन , सत्यको एकदम सग्लो , शुद्ध प्रस्तुति पाईन्छ । विदुरको राज्य सञ्चालन सम्बन्धि नीति र राजाले गर्नुपर्ने कर्तव्यहरूको बारेमा व्यक्त नीतिलाई मुक्त कण्ठले प्रशंसा गरिन्छ ।
 



नयाँ