लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा जोजे मौरिन्होको म्यानचेष्टर युनाइटेडको अपराजित यात्रा कायमै रहेको छ । शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले यसपाली प्रिमियर लिगमा उक्लेको हलसिटीमाथि १–० को जित निकाल्यो ।
साविक विजेता लेस्टर सिटीलाई पहिलो खेलमै पराजित गर्दै सनसनी मच्याएको हल सिटीले तेस्रो चरणको खेलमा घरेलु मैदानमै हार बेहोर्नु परेको हो ।
म्यानचेष्टर युनाइटेडलाई जिताउने क्रममा अन्तिम समयमा मार्कस रासफोर्डको गोल गरे । गोलपछि उनले पहेंलो कार्ड पाएका थिए । त्यसअघि वाइने रुनीलेसमेत पहेंलो कार्ड खाएका थिए ।
लिगका अन्य खेलमा उपाधि दावेदार चेल्सीले घरेलु मैदानमा बर्नलेलाई ३–० ले हरायो । एलन हाजार्ड, विलियन र एलन मोसेज्ले एक एक गोल गरे ।
त्यस्तै लेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले, आर्सनलले वाट्फोर्टलाई ३–१ ले तथा एभर्टनले स्टोक सिटीलाई १–० ले हरायो । तीन खेल बराबरीमा सकिने क्रममा लिभरपुलले टोटनह्याम हट्सपरसंग, क्रिष्टल प्यालेसले एएफसी बर्नमाउथसंग र साउथह्याम्पटनले सन्डरल्याण्डसंग १–१ को बराबरी खेल्यो ।
तालिकामा तीन खेलबाट सत्प्रतिशत नतिजाका साथ चेल्सी शीर्ष स्थानमा छ । गोल अन्तरमा म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । यसबाट पनि मौरिन्हो चर्चामा छन् । चेल्सी मौरिन्होको पूर्व टिम हो भने म्यानचेष्टर युनाइटेड अहिलेको ।