arrow

भानु जयन्तीको अवसरमा भारतमा नेपाली साहित्यकारहरू पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
BHANUBHAKTA-ACHARYA.jpg.jpeg

काठमाडौं । हाम्रो स्वाभिमान ट्रस्टले भानु जयन्तीको अवसरमा राष्ट्रिय नेपाली साहित्य पुरस्कारहरूको घोषणा गरेको छ। हाम्रो स्वाभिमान ट्रस्टले पूर्व आयोजित साहित्यिक कार्यक्रम राष्ट्रिय नेपाली साहित्य पुरस्कार–२०२२ का लागि चयनित स्रष्ट्राको नाम घोषणा गर्नुका साथै यसै अवसरमा आयोजित कविता वाचन प्रतियोगिताको विजेताहरूलाई पुरस्कृत गरेको हो । 

कार्यक्रममा भाषा संग्रामी उत्तम क्षेत्री, भाषाविद् विष्णु गुरूङ, साहित्यकार धर्मराज थापा, कवि टाशी शेर्पा, कवि हर्कबहादुर लामगादे ‘रोहित’ एवं कवि युवराज भट्टराई अतिथिको रूपमा उपस्थित रहेका थिए। 

ट्रस्टका कार्यकारी अध्यक्ष शिबलाल गँवालीको संयोजनमा कविता वाचन प्रतियोगितामा २८ जना विद्यार्थीहरूले भाग लिएका थिए भने विजेतालाई प्रशस्ति पत्र, स्मृति चिन्ह एवं सम्मान राशि दिएर सम्मान गरिएको थियो।

कार्यक्रमको थालनी संस्कृत एवं नेपाली रामायण पाठबाट गरिएको थियो भने लोक नृत्य र एकल गीतहरूको प्रस्तुतिले नेपाली संस्कृतिको झलक प्रस्तुत गरेको थियो। 

ट्रस्टका सेट्लर ट्रस्टी प्रेम क्षेत्रीले राष्ट्रिय पुरस्कार–२०२२ का चयनित स्रष्टाहरूको नाम सार्वजनिक गरे। राष्ट्रिय पुरस्कारमा सर्वोच्च पुरस्कार नेपाली साहित्य सम्मानमा दार्जीलिङका डा गोकुल सिन्हा भए भने नेपाली साहित्य पुरस्कार–पद्यका लागि असमका साहित्यकार युद्धवीर राणा, नेपाली साहित्य पुरस्कार–गद्यका लागि मणिपुर राज्यकी डा गोमा देवी शर्मा र नेपाली साहित्य पुरस्कार–पत्रकारिताका लागि सिलगढ़ीका शिबु क्षेत्री चयनित भएको घोषणा गरिएको छ।

चयनित स्रष्टाहरूलाई आगामी ३० अगस्तमा भारतको नयाँ दिल्लीको तालकटोरा स्टेडियममा हुने हरितालिका तीज महोत्सवको भव्य कार्यक्रममा सम्मानित गर्ने जानकारी प्रेम क्षेत्रीले दिएका छन्। 

पुरस्कार विजेताहरुको चयन पाँच सदस्यीय निर्णायक मण्डलीको अथक प्रयासले सम्पन्न भएको हो। कविता प्रतियोगिता दुई चरणमा भएको थियो । प्रथम चरण १५ सालसम्मको प्रथम पुरस्कार विजेता कृपा गजमेर तथा १५–२५ वर्षको प्रथम पुरस्कार विजेता आरती भएकी थिइन् ।

ट्रस्टकी महासचिव अनिता क्षेत्रीले तालकटोरा स्टेडीयममा ३० अगस्तमा हुने हरितालिका तीज महोत्सव कार्यक्रमका लागि राष्ट्रिय संयोजक नवमी खाती एवं मिडिया प्रभारीको रूपमा दया प्रकाशलाई जिम्मेवारी दिइएको साथै अन्य समिति सदस्यको पनि घोषणा गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ