arrow

मोरङमा सम्बन्ध विच्छेदका मुद्दा धेरै 

logo
विवेक मिश्र,
प्रकाशित २०७९ असार ३१ शुक्रबार
morang-court.jpg

मोरङ । मोरङमा चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदको सबैभन्दा धेरै १ हजार ७९४ वटा छन् । जसमध्ये १ हजार ३२६ वटा मुद्दा फर्छ्यौट भइसकेको छ भने  ४६८ मुद्दाको फैसला हुन बाँकी छन् ।

 जिल्ला अदालतमा चालु आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा ८ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतको स्रेस्तादार टिकेन्द्र विरजंग राणाले जानकारी दिए । ‘यो सङ्ख्या अहिलेसम्मै सबैभन्दा धेरै हो’ उनले भने, ‘दर्ता भएकामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा छन् ।’

अदालतले यो वर्ष ४ हजार १५८ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको थियो । तर, ५ हजार १०१ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३ हजार ५४० मुद्दा छन् ।

अदालतले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा ३७९ कम मुद्दा फैसला गरेको छ । ५ हजार ६१९ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको अदालतले असार ३० गतेसम्म ५ हजार २४० वटा मुद्दा फर्छ्यौट भएको स्रेस्तादार राणाले जानकारी दिए ।

अदालतमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ४२५ वटा मुद्दा थियो । यस्तै आर्थिक २०६७/७७ मा ५ हजार ४१ वटा मुद्दा दर्ता भएको अदालतको अभिलेखमा देखिन्छ ।

करणी सम्बन्धी ३७२ वटा मुद्दा दर्ता भएकोमा २५९ वटा फर्छ्यौट भएको अदालतले जनाएको छ । ज्यान सम्बन्धी १९४ मुद्दा दर्ता भएकोमा १२४ फर्छ्यौट भएको छ भने ७० वटा मुद्दा बिचारधिन रहेको छ । यस्तै लागूऔषध मुद्दा ४७९ वटा दर्ता भएकोमा ३७० वटा फर्छ्यौट भएको छ भने १०९ बाँकी रहेको अदालतको अभिलेखमा देखिन्छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५४० वटा मुद्दा लगत सरेर आएको थियो । अदालतले यो अवधिमा २७ करोड ३३ लाख ८१ हजार ६ सय ६८ रुपैयाँ जरिवाना असुली गर्नुपर्नेमा २ करोड ८२ लाख ३५ हजार ६३८ रुपैयाँ असुली गरेको छ । यस्तै ६ हजार ९८९ वर्ष ३ महिना २३ दिन कैद असुली गर्नुपर्नेमा १ हजार ६३८ वर्ष ३ महिना २० दिन असुली गरेको अदालतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ