कपिलवस्तु । जगदीशपुर ताललाई विशेष कार्यक्रमकाबीच पन्छी आरक्ष घोषणा गरिएको छ । चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पन्छी आरक्ष घोषणा गरिएको हो ।
शनिवार जगदीशपुरमा आयोजित सभामा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के.सी र वन वातावरण तथा भुंसरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले ताललाई पन्छी आरक्ष अर्थात् वर्ड सेन्चुरी घोषणा गरे । शिलालेख अनावरण , परेवा उडाएर र बेलुन उडाएर उनीहरूले संयुक्त रूपमा घोषणा गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले असार ३१ गते मन्त्रिपरिषद्को निर्णय वाट जगदिशपर ताललाई पन्छी आरक्ष केन्द्र बनाउने निर्णय गरेसँगै शनिवार नै ताललाई पन्छी आरक्ष घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री केसीले चरा संरक्षण गरी पर्यापर्यटनको विकास गर्दै स्थानीयलाई आय आर्जन र रोजगारीसँग जोडेर जीविकोपार्जनमा सहयोग पुग्ने पन्छी आरक्ष भएको बताए । अव तालको संरक्षण विकासको लागि स्थानीय सरोकारवाला मिलेर गर्नुपर्ने बताए ।
साथै केसीले स्थानीय स्रोत तथा साधनको प्रयोग मौलिक संस्कृति अनुसार यस क्षेत्रको विकास गनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा वन वातावरण मन्त्री सुरेन्द्र हमालले लुम्बिनी प्रदेश वन ऐन २०७८ को परिच्छेद ११ को दफा ४५ अनुसार आरक्ष घोषणा गरिएको बताए । सो एनमा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र सङ्कटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई वर्ड सेन्चुरी वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्था अनुसार प्रदेश सरकारके निर्णय अनुसार घोषणा गरिएको बताए ।
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री वीर बहादुर रानाले सिँचाइको साथमा वन वातावरण तथा पर्यटनलाई सहयोग हुने गरि तालमा काम भएकोले स्थानीयले चौतर्फी लाभ लिनुपर्ने बताए । साथै रानाले कृषि क्षेत्रको लागि सिँचाइ अपरिहार्य भएकोले सिँचाइ सँगै वन वातावरण र पर्यटनलाई पनि जोडेर लैजाने काममा प्रदेशले योजना बनाइ काम गरेको बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडलले कपिलवस्तु नगरपालिकामा रहेको जगदीशपुर ताललाई चरा आरक्ष घोषणा गरि नगर र जिल्लालाई नै उचो बनाउने काम गरेकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे । साथै पौडेलले नगरपालिकाले विभिन्न निकाय सँग सहकार्य गरि तालको संरक्षणमा लाग्ने समेत बताए ।
पन्छी आरक्ष बनाएर पर्यापर्यटन विकास गर्न डिभिजन वन कार्यालयले ६ महिना लगाएर पाँच वर्षे व्यवस्थापन कार्य योजना बनाएको थियो। रामसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल पनि एक हो। कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको यो ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। १९७२–१९८० मा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकनका लागि नेपालकै उत्कृष्ट गन्तव्य बनेको छ। बसाइसराइ गरी आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु, वनस्पति यहाँका मुख्य जैविक विविधता रहेको छ ।
यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ। ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइने जनाएको छ। त्यसमध्ये ९२ प्रजातिका रैथाने, ८ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने र ३ प्रजातिका आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ। विश्वमै दुर्लभ मानिने वन्यजन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि यहाँ पाइन्छ ।
जगदीशपुर ताल मुलुकको दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो चरा आरक्ष भएको छ । यसअघि सुदूरपश्चिम प्रदेशको घोडाघोडी ताललाई २०७८ मा चरा आरक्ष घोषणा गरिएको थियो। चरा आरक्ष घोषणा पछि तालमा थप आयाम तथा यसको संवर्द्धन र प्रवर्धनमा विभिन्न निकायले सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको जगदीशपुर ताल बहु सरोकार मञ्चमा अध्यक्ष ललित गुरुङ्खले बताए ।