arrow

गृहमन्त्री निधिले भारत भ्रमणबारे सदनलाई के भने ?

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
nidhi.jpg.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेको भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराएका छन् । 
 
व्यवस्थापिका–संसद्को आजको बैठकमा उनले भने – “आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको छ ।” 
 
सरकारको गत साउन २७ गतेको निर्णयअनुसार उपप्रधानमन्त्री निधि प्रधानमन्त्री दाहालको विशेषदूतकारुपमा भारत भ्रमण गरि त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका नेतासँग दुई देशबीचको सम्बन्धका बारेमा विचार विमर्श गरेका थिए । 
 
भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजकीय भ्रमणको लागि पठाएको पत्र हस्तान्तरण गरेको, नयाँ सरकारको प्राथमिकता संविधान कार्यान्वयन गर्नु रहेकोले सबै पक्षलाई सहमतिमा ल्याएर अघिबढ्ने प्रयास भइरहेको बारेमा पनि आफूले त्यहाँका नेताहरुलाई जानकारी गराएको उपप्रधानमन्त्रीले सदनलाई जानकारी गराए । 
 
सो क्रममा निधिले संविधान कार्यान्वयन गर्ने सिलसिलामा नेपालको संविधानअनुरुप सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनलाई पनि तोकिएको समयभित्रै गराउने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको बारे छिमेकीमुलुकका राजनेतालाई अवगत गराएको बताए । 
 
भारतले गरेको उच्च आर्थिक प्रगतिबाट नेपाल पनि लाभान्वित हुन चाहेको, नियमित विकासका कार्यलाई सञ्चालन गर्न दुबै देशबाट आवश्यक प्रयासको आवश्यकता रहेको तथा सरकारले दुबै छिमेकीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बारेमा पनि उपप्रधानमन्त्रीले भारतीय नेतासँग छलफल गरेको बताए । 
 
भारतीय नेताले नेपालको आर्थिक र सामाजिक विकासमा भारतीय सहयोग र सद्भाव निरन्तर कायम रहेको प्रतिवद्धता व्यक्त भएको बताउँदै उनले दुबै देशका उच्चस्तरीय भ्रमणलाई सफल तुल्याउन हरसम्भव प्रयास हुने भारतीय पक्षबाट विश्वास दिलाइएको उल्लेख गरे । 
 
बैठकमा गृहमन्त्री निधिले पछिल्लो समय काभ्रे, चितवन र बझाङ्मा भएको सवारी साधन दुर्घटनामा भएको जनधनको क्षतिको विवरण पनि प्रस्तुत गरे । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ