arrow

धौलागिरीमा ५० सहकारी खारेज १२ एकीकरण

logo
नारायण रिजाल।
प्रकाशित २०७३ भदौ १२ आइतबार
upasana-sahakari-agm2.jpg.jpeg
बागलुङ। पछिल्लो एक दशकको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन्। डिभिजन सहकारी कार्यालय, बागलुङको तथ्याङ्क अनुसार बागलुङमा २५ सहकारी खारेजीमा परेका हुन्। त्यसैगरी पर्वतमा १८, म्याग्दीमा ५ र हिमाल पारीको जिल्ला मुस्ताङमा १ वटा गरी कुल ५० वटा सहकारी खारेजीमा परेका हुन।
 
नियमित कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्थाहरु खारेजीमा परेको डिभिजन सहकारी कार्यालय बागलुङ प्रमुख विष्णु प्रसाद शर्माले बताए। सहकारी ऐन २०४८ अन्तर्गत रहेर कारोबार नगर्ने, वित्तीय विवरण डिभिजन कार्यालयमा नबुझाउने र लेखा परीक्षण नगर्ने सहकारीलाई नियम बमोजिम खारेज गरेको शर्मालेको भनाई छ।
 
दुई वर्षभन्दा बढी सयमदेखि निस्क्रिय रहेका सहकारीलाई खारेज गर्ने प्रावधान छ। खारेज भएका अधिकांश सहकारी चार/पाँच वर्षदेखि निक्रिय अवस्थामा थिए। सहकारी कार्यालयको तथ्याङ्क अनुसार बर्षेनी पाँचदेखि सात वटासम्म सहकारी खारेजीमा पर्ने गरेका छन्।
 
त्यस्तै धौलागिरीमा १२ वटा सहकारी एकीकरण भएका छन्। एकीकरण सम्बन्धी कार्यविधिले निर्दिष्ट गरेका उद्देश्य प्राप्तिका लागि सहकारी एकीकरण हुन थालेको कार्यालयले जनाएको छ। एउटै कार्यक्षेत्रभित्र रहेका, एउटै विषय तथा उद्देश्यले खोलिएका र फरक जिल्ला भएर पनि कार्यक्षेत्र जोडिएका संस्था एकीकरण हुनसक्ने प्रावधान रहेको छ। अहिले जिल्लामा नियमित चलाउन कठिनाई परेको सहकारी एकिकरणका लागि थालनी गरिएको छ। बागलुङमा मात्र ५ र अन्य जिल्लामा ७ वटा सहकारी एकिकरण भएका छन्। हालसम्म बागलुङमा ४ सय ६१, पर्वतमा ३ सय ३१, म्याग्दीमा २ सय १३ र मुस्ताङमा ३८ सहकारी दर्ता छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ