arrow

कांग्रेसको निर्णयले एमालेको सातो गयो, गठबन्धनको बदनाम गर्न अनेक प्रपञ्च रचिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
uml-sachibalaya-2079-03-19.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सत्ताको समानान्तर अभ्यासमा देखिएको छ । पछिल्लो पटक नेपाली कांग्रेससहित प्रदेश र संघीय निर्वाचनमा अहिलेकै गठबन्धन कायम रहने अवस्था आएपछि प्रतिपक्ष एमाले सत्ताको समानान्तर अभ्यासमा लागेको हो ।  

गठबन्धनकै कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा पाउन नसकेको एमालेलाई कांग्रेसको पछिल्लो निर्णयले झनै अप्ठ्यारोमा पारेपछि एमालेका विभिन्न विभागमार्फत दिनदिनै पत्रकार सम्मेलन गरेर वर्तमान सरकारको विरोधमा उत्रेको छ । एमालेले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनावको तयारी गर्न उसले तल्ला निकायलाई निर्देशन दिएसँगै एमालेका सबै विभागहरु सक्रिय भएका छन् । 

एक हप्तामा दुई वटा विभागले पत्रकार सम्मेलनको आयोजना गरे । स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित रहेर पत्रकार सम्मेलन गरेका थिए । साथै उनले वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रमा सरकारले गरेको काम र पहिले केपी शर्मा ओली सरकारले गरेको कामको तुलना गरेका थिए । 

त्यस लगत्तै एमालेको अर्को विभाग उपभोक्ता तथा सुशासन समितिले पनि पत्रकार सम्मेलन गरेर सरकारको विरोध गरेको थियो । त्यसअघि पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले होटल हिमालयनमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तक्र्रिया गरेका थिए । 

उनले पनि त्यहाँ सरकारको विरोध गरे । त्यसैगरी बुधबार एमालेको प्रचार विभागले पत्रकार सम्मेलनको आयोजना गर्दैछ । एमालेका जनवर्गीय संगठनहरुलाई पनि सरकारविरुद्ध परिचालन गर्ने तयारी गरेको छ । युवा संघले भने अहिले पनि सरकारको विरुद्धमा आन्दोलन गरिरहेको छ । 

संघीय संसदको निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारीसँगै एमालेले आफ्ना सबै प्रकारका रणनीतिलाई सरकार र पाँच दलको विरुद्धमा परिचालन गर्ने योजनामा रहेको छ । 

‘पाँच दलीय गठबन्धन कायम रहने संकेत पाएपछि एमाले आफ्नो मिसनमा लागेको हो । तर एमाले गठबन्धन विना नै निर्वाचनमा जान्छ भन्ने होइन’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । 

उनका अनुसार लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउने उद्देश्यमा सहमत हुने जुनसुकै शक्तिसँग तालमेलका लागि छलफल गर्ने र एक्लै गठबन्धनको सामना गर्ने गरी तयारी अगाडि बढाउने एमालेको रणनीति छ । 

यसैअनुसार उसले सातै प्रदेशमा संघ र प्रदेश निर्वाचनलक्षित प्रशिक्षण शुरु गरेको छ । सोमबार मधेस प्रदेशको जनकपुरमा प्रशिक्षण आयोजना गरेको एमालेले ८ साउनमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम राखेको छ । 

‘आफ्नै बलबुतामा  चुनावमा जान्छौं तर लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रियतालाई बलियो बनाउने हाम्रा उद्देश्यमा सहमत हुने शक्तिहरूसँग छलफल गर्न एमाले तयार छ’, एमाले पोलिटव्यूरो सदस्य एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने । 

अध्यक्ष ओलीले पनि १९ असारमा आफ्नै सामर्र्थमा चुनाव लड्ने तर गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर भरपर्दो सहयात्री खोज्नेमा केन्द्रित हुने भन्दै पार्टीपंक्तिलाई आन्तरिक सर्कुलर जारी गरेका थिए ।

 ‘राजनीतिक नैतिकता र स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखालाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन,’ ओलीको पार्टी पंक्तिलाई गरेको सर्कुलरमा भनिएको छ, ‘तर, तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ ।’

एमालेको सोही सर्कुलरमा उल्लेख भएको विषय हेर्दा पनि वर्तमान सरकारप्रति आक्रामक हुने र जतिसक्दो बढी विरोध गरेर जनमत आफ्नो पक्षमा पार्ने उद्धेश्य रहेको देखिन्छ । ‘पार्टी पंक्तिको निर्देशन छ अब सबै विभागहरु सक्रिय रुपमा परिचालन हुनुपर्छ र यो सरकारको विरोधमा जानुपर्छ’,उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले भने । 

उनका अनुसार सरकारको भण्डाफोर गर्न सबै पार्टी पंक्ति परिचालन भएको छ । गत ३० वैशाखको स्थानीय चुनावमा पनि एमालेले पार्टी प्रवेश अभियान चलाएको थियो । अहिले भने केही रणनीति फेरेको छ । पार्टी प्रवेशलाई निरन्तरता दिने तर सरकारको विरोधलाई पहिलो प्राथमिकतामा राखेको हो । 

अहिले भने खासगरी माओवादी र एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेतृत्व तहमा औपचारिक वार्ता नगर्ने, तर ती पार्टीहरूबाट नेता–कार्यकर्तालाई व्यक्तिगत रूपमा प्रवेश गराउने पुरानै रणनीतिलाई भने एमालेले छोडेको छैन ।  

पछिल्ला दिनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित उनीनिकट नेता–कार्यकर्तालाई भने एमालेले पार्टीमा फिर्ता गर्ने उद्देश्यसहित अनौपचारिक छलफललाई तीव्रता दिइरहेको बताइए पनि एमालेको कुनै पनि पंक्ति त्यसलाई सार्वजनिक गर्ने पक्षमा छैन ।



नयाँ