arrow

इरान शिखर सम्मेलनमा सिरियाबाट अमेरिकालाई निकाल्नेदेखि त्रिपक्षीय सशक्तताबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
putin-erdogan-raisi-russia-iran-turkey.jpg

काठमाडौं । मंगलबार इरानको राजधानी तेहरानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इरानका राष्ट्रपति इब्राहिम रइसीबीच त्रिपक्षीय शिखर सम्मेलन भएको छ ।

सम्मेलनमा एक दशकभन्दा लामो समयदेखि चलिआएको सिरियाली युद्ध समाप्त गर्नेदेखि तीनै देशको समबन्धलाई थप मजबुत बनाउनेसम्मको छलफल भएको छ ।

पुटिन र रइसीले संयुक्त राज्य अमेरिकालाई लक्षित गर्दै सिरियामा विदेशी हस्तक्षेप एवं त्यहाँको तेल र स्रोत साधनको चोरीलाई लिएर विरोध व्यक्त गरेका छन् । 

'हामीले जोड दिएका छौं कि सिरियाली सरकारले नै आफ्नो देशका सबै क्षेत्रहरू नियन्त्रण गर्नुपर्छ। त्यसकारण युफ्रेटिस नदिको पूर्वमा अमेरिकीहरूको उपस्थितिको कुनै औचित्य छैन र उनीहरूले त्यो क्षेत्रबाट बाहिर निस्किनुपर्छ,' रइसीले शिखरसम्मेलनपछि पत्रकारहरुसँग बोल्दै भनेका छन् ।

तीनवटै नेताहरूले सिरियाका समस्याहरू वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासमा दबाब दिन चाहेका छन् । उनीहरुले वर्षाैंदेखि जारी सिरियाली युद्ध समाप्त गरेर लाखौं विस्थापित सिरियाली नागरिकहरूलाई मद्दत गर्ने इच्छा व्यक्त गरेका छन् ।

यस्तै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्ध सुरु नगरेको भए खतरनाक प्राणी नेटोले अन्ततः यो गर्ने थियो भन्ने टिप्पणी गरेका छन् ।

'युद्ध एक हिंसक र कठिन मुद्दा हो र इस्लामिक गणतन्त्र कुनै पनि हिसाबले नागरिकहरू यसमा फसेकोमा खुसी छैन, तर युक्रेनको बारेमा यदि तपाईंले पहल नगरेको भए अर्को पक्ष (पश्चि)ले पहल गरेर युद्ध गर्थ्यो,' खामेनीले मंगलबार तेहरानमा पुटिनसँगको भेटमा भनेका छन् ।

सोमबार ढिलो आइपुगेको पुटिनको प्रतिनिधिमण्डलले मंगलबार इरानसँग तेल र ग्यास क्षेत्रहरू विकास गर्ने बारे ४० अर्ब डलरको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

टर्कीका राष्ट्रपति एर्दोगानले उत्तरी सिरियामा नयाँ सैन्य कारबाही शुरु गर्न सक्ने चेतावनी दिएका छन् । टर्कीले ताल रिफाट र मनबिज सहरहरूमा 'आतंकवादी' मान्ने कुर्द लडाकुहरूलाई लक्षित गरी सैन्य कारबाही शुरु गर्ने चेतावनी दिएको छ ।

युफ्रेटिस नदीको पश्चिममा अवस्थित सहरहरू सिरियाली कुर्दिश सशस्त्र समूह पीपुल्स प्रोटेक्शन युनिट्स (वाईपीजी) द्वारा नियन्त्रित छन् ।

टर्कीको समस्यालाई गम्भीरताका साथ लिनुपर्ने माग राख्दै उनले पुटिन र रइसीलाई भनेका छन्,'तपाईंले टर्कीको चिन्ता बुझ्नुभएको छ भन्नुहुन्छ र हामी यसका लागि धन्यवाद दिन्छौं, तर शब्दहरू मात्र पर्याप्त छैनन् ।'

यसअघि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले यस्तो कारवाहीविरुद्ध चेतावनी दिएका थिए । क्रेमलिनले पनि यसअघि टर्कीको नयाँ घुसपैठको विरोध गरेको थियो ।

पुटिन र रइसी दुवैले हिंसा कम गर्न र सिरियामा कूटनीतिक समाधानको बाटोबाट जानका लागि आफ्नो समर्थन व्यक्त गरेका छन् ।

फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु गरेपछि पुटिनको यो दोस्रो विदेश भ्रमण हो भने तेहरानको पाँचौं भ्रमण हो । पुटिनले पहिलो पटक सन् २००७ मा इरानको राजधानीको भ्रमण गरेका थिए । त्यसपछि सन् २०१५, २०१७ र २०१८ मा पनि उनले इरानको भ्रमण गरेका थिए।

शिखर सम्मेलन अघि मंगलबार द्विपक्षीय वार्तासमेत गरेका तीन नेताहरूले संयुक्त विज्ञप्ती जारी गर्दै सिरियाको युद्ध समाप्त गरेर देशको भविष्य जोगाउनेमा सहमति व्यक्त गरेका छन् ।

रुस, टर्की र इरानले हालैका वर्षहरूमा तथाकथित अस्ताना शान्ति प्रक्रियाको एक भागको रूपमा मध्य पूर्वी देश सिरियामा ११ वर्ष भन्दा लामो द्वन्द्व अन्त्य गर्न वार्ता जारी राखेका छन् ।

अस्ताना प्रक्रियाकै अर्को त्रिपक्षीय बैठक सन् २०२२ को अन्त्य हुनुअघि रुसमा हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ