arrow

प्रचण्डको अस्वभाविक बार्गेनिङ, ७५ सिटसँगै राष्ट्रपति र सभामुखको ग्यारेन्टीसहित आफू पहिले प्रधानमन्त्री

माधव नेपाल पनि आफूलाई ४० सीट खोज्दै, एक सय ६५ मध्ये जसपा, जनमोर्चालाईसमेत सीट दिएर बँचेको कति कांग्रेसलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
prachanda-madhav-jhalanath-bamdev-narayankaji.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेससँग बार्गेनिङ पावर बढाउने सहमति गरेका छन् । माओवादी एक्लैले संघको निर्वाचनमा कम्तीमा ७५ सीट माग्ने तयारी गरेपछि समाजवादीका अध्यक्ष नेपालले पनि आफूलाई मात्रै ४० सीट माग्ने गरी बार्गेनिङको तयारी गरेका हुन् । 

माओवादीले आन्तरिक रुपमा ७० सिटलाई जोड गरिरहेको छ । त्यतिमात्र होइन कांग्रेससँग गठबन्धन गर्दा राष्ट्रपति र सभामुख ग्यारेण्टी गर्ने र शुरुको प्रधानमन्त्री प्रचण्ड बन्ने गरी गठबन्धन गर्ने सर्कुलर गरेको छ । 

‘राष्ट्रपति, सभामुख, र आधा आधा कार्यकाल विभाजन गर्दा शुरुको प्रधानमन्त्री प्रचण्डको नाममा लिखित कागज गरेर मात्रै गठबन्धन गर्ने माओवादीको नीति छ’, माओवादीका एक स्थायी समिति सदस्यले भने । 

माओवादी अध्यक्ष प्रचण्डले पनि यो विषयलाई जोड दिइरहेका छन् । खासगरी भारत भ्रमणबाट फर्के लगत्तै माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुलाई दिएको टास्क अनुसार कांग्रेससँग ७० सीट आफ्नो भागमा लिने ती क्षेत्रहरु निर्धारण पठाउनु पर्नेछ ।

 ‘७० सीट पाउनुपर्ने माओवादीको कुरा छ, यसमा समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा पनि जोडिएको छ । यसो गर्दा ८५ देखि ९० सीट पुग्नेछ’, माओवादी निकट स्रोतले भन्यो । 

माओवादीले ७० सीट, राष्ट्रपति, सभामुख र आधा कार्यकालका लागि शुरुको प्रधानमन्त्री मागेपछि कांग्रेस चाहिँ माओवादीलाई सत्तामा पुर्याउन भर्याङ मात्रै भएको टिप्पणी गर्न थालिएको छ । 

माओवादीले एमालेलाई देखाएर कांग्रेससँगको बार्गेनिङ तह बढाइरहेको छ । ‘कांग्रेस केन्द्रीय समितिको निर्णयपछि माओवादीलाई बार्गेनिङ गर्ने आधार बढेको बताइएको छ । स्थानीय तहको निर्वाचमा कांग्रेसकै वैशाखी टेकेर तेस्रो ठूलो दल बन्न सफल भएको माओवादी यतिबेला एमालेभन्दा ठूलो शक्तिका रुपमा उदाउन पनि कांग्रेससँगको सीट बाँडफाँडमा बढी नै लफडा गर्ने स्रोतको दाबी छ । 

विगत २०७४मा पनि कांग्रैससँग ४० प्रतिशत सीट दाबी गरेको माओवादीले यसपल्ट पनि कांग्रेसलाई गलाएर बढी सीट लिने दाउमा लागेको छ । माओवादीले सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्र बनाउन माधव नेपालले प्रस्ताव गरेका छन् ।  

पाँचदलीय गठबन्धनभित्र रहेका कांग्रेसबाहेकका शक्ति र अन्य वाम शक्तिसमेत समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक सिट बाँडफाँड गर्ने उनीहरूको योजना रहे पनि माओवादी एक्लैले धेरै सीट बार्गेनिङ गर्ने नीति लिइरहेको छ । 

माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी केन्द्र निर्माणको गृहकार्य थाले पनि माधव नेपालले पनि ४० सीटको दाबी गरेपछि त्यहाँभित्र पनि समस्या उत्पन्न भएको छ । ‘कांग्रेसको जनमतमा सबैले आँखा लगाएका छन्’, एस पार्टीका एक नेताले भने । 

तीन पार्टीबीच एकताको प्रयास गर्ने र तत्काल एकता सम्भव नभए एकता वा तालमेल संयोजन समिति बनाएर निर्वाचनमा जाने गरी छलफल भएको छ । एमाले बाहेकको वाम गठबन्धनको प्रयास गर्ने र कांग्रेससँगको गठबन्धनलाई पनि कायमै राख्ने नेताहरूको योजना छ । 

सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्रले निर्वाचन जित्ने र जिताउन सक्ने क्षेत्रको अध्ययन गर्ने तयारी भएको भए पनि समाजवादी एक्लैले एक सिट पनि जित्न सक्ने अवस्था नदेखिएकाले विवरण संकलन गर्ने काम भैरहेको छ ।  

ती नेताका अनुसार कांग्रेससँग सबै मिलेर जतिसक्दो बढी सिट माग्ने र कांग्रेससँग सत्ता समीकरण गर्न सत्ताको साँचो बोक्ने दाउमा रहेको छन् । 

माओवादीका नेता हरिबोल गजुरेलले माओवादी पनि एउटा शक्ति भएकाले राम्रो संख्यामा सिट बाँडफाँड हुने दाबी गरे । ‘अहिलेको अवस्थामा कांग्रेस मात्र होइन माओवादी पनि ठूलो शक्ति हो यसमा एस पार्टी पनि मिसिएको छ त्यसकारण कांग्रेसलाई निर्वाचन जित्न सहज हुन्छ यसका लागि उचित सीट बाँडफाँड गरेर निर्वाचनमा जानुपर्छ भन्ने हाम्रो धारणा छ’, गजुरेलले भने । 

यस विषयमा शीर्ष तहकै नेताहरुबाट छलफल भैरहेको पनि उनको भनाइ थियो । समाजवादी केन्द्र निर्माण र कांग्रेससँगको सीट बाँडफाँडको  शिलशिलामा मंगलबार विभिन्न चरणमा नेताहरूबीच संवाद गरेका थिए ।  

माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र अभियानका संयोजक वामदेव गौतमबीच समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएसँगै कांग्रेससँगको सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । 

मंगलबार साँझ माओवादी केन्द्रको संसदीय दल सिंहदरबारमा भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका थिए ।

 ‘नेकपा कालका बहुमत सचिवालय सदस्य दोस्रोपटक बस्यौँ । कांग्रेस र एमालेले गरेका निर्णयबारे चर्चा भयो । वर्तमान गठबन्धनलाई कायमै राखेर जानुपर्छ भन्नेमा हामी कसैको विमति छैन । स्थानीय तह निर्वाचनको अनुभवलाई समेत ध्यान दिएर कसरी प्रभावकारी बनाउने भन्नेबारे चर्चा भयो,’ बैठकपछि सञ्चारकर्मीलाई भनेका थिए । 

तर उनले कस्तो समाजवादी केन्द्र बनाउने भन्ने बारेमा केही खुलाएनन् ।

अचम्म त के भने माधव नेपाल पनि आफूलाई ४० सीट चाहिन्छ भनिरहेका छन् । गठबन्धन बिना चुनाव लड्ने हो भने नेपालले पनि नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि जित्ने देखिँदैन । 

एक कांग्रेस केन्द्रीय सदस्य भन्छन्, ‘संघको प्रत्यक्षतर्फ जम्मा एक सय ६५ सीटमध्ये माओवादी र नेकपा एसले नै एक सय १५ सिट मागिसकेका छन् । जसपाले पनि २०–२५ माग्ने होला । अनि जनमोर्चालाई पनि ४–५ दिनुपर्ने होला । बँचेको २० सिटका लागि कांग्रेसले किन गर्ने गठबन्धन ? टुटेफुटेका कम्युनिष्टको अस्तित्व जोगाउने ठेक्का कांग्रेसले लिएको हो र ?’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ