काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरूण दलको महाधिवेशन हुने नहुनेमा दोधार भइरहेका बेलामा अब भने हुने संकेत देखिएको छ । यही भदौ २४ गतेदेखि पोखरामा हुने चौथो महाधिवेशनबारे विवाद भने अझै कायमै छ । अहिलेसम्म ५३ जिल्लाको अधिवेशन भइसकेको छ भने सोमबार ललितपुर र रामेछापको जिल्ला अधिवेशन हुँदैछ ।
त्यस्तै भदौ २० गतेसम्म ६५ जिल्लाको अधिवेशन भइसक्ने कार्यबाहक अध्यक्ष राधा घलेले जानकारी दिएकी छिन् । उनले दुई तिहाई जिल्लाको अधिवेशन गरेपछि महाधिवेशन गराउन पाउने नियमानुसार अन्य जिल्लाले अधिवेशन नगरे पनि महाधिवेश गराउने बताइन् ।
अहिलेको विवाद भने साढे ४ वर्ष अगाडि गठित तदर्थ समितिका सदस्यहरुले पनि चुनाव लड्न पाउनु पर्छ भन्नेमा छ । तर त्यतिबेला ६ महिनाभित्रै चुनाव गराउने र तदर्थ समितिका कसैले पनि चुनाव लड्न नपाउने गरी तत्कालीन पार्टी सभापति सुशील कोइलालाले उदय शमशेर राणालाई अध्यक्ष बनाएका थिए । ६ महिनामा चुनाव नगरेपछि अहिले फेरि राणा कम्पनीमा भएका सदस्यहरुले चुनावमा भाग लिन पाउनु पर्ने माग राखेका छन् ।
कार्यवाहक अध्यक्ष घलेले ‘हामीले हाम्रो दायित्व पूरा गर्ने हो, चुनावमा उठ्न पाए उठौंला, नपाए छाडौंला, हाम्रो प्रमुख दायित्व भने महाधिवेशन गराउनु हो ।’ भनिन् ।
यसबारेमा चौथो महाधिवेशन निर्देशन समिति सदस्य सरिता प्रसाईंले भने पार्टीले निर्णय गर्ने बताउँछिन् । उनले नेविसंघको तदर्थ समितिबाट पनि कोही चुनावमा उठ्न नपाएको प्रसङ्ग सुनाउँदै हाम्रा कुरालाई भनिन् ‘पार्टीले एउटालाई एउटा र अर्कालाई अर्को नियम त गर्र्दैन होला ।’
बालकृष्ण खाँडको संयोजकत्वमा ७ सदस्यीय निर्देशन समिति गठन भएको छ । समितिमै ५ वा ७ वा ९ बारे विवाद भए पनि अब ७ सदस्यीय भएर मंगलबार बैठक बस्दै गरेको सदस्य प्रसार्इँले बताइन् ।
‘महाधिवेशन नहुनु पर्ने अब कुनै कारण छैन, सानातिना विवाद त भइहाल्छन् नि’, प्रसाईंले भनिन्, ‘नेविसंघको त्यत्रो विवाद त समाधान भयो भने तरुण दलको पनि समाधान हुन्छ ।’
२०१० सालमा गठित तरुण दलमा अहिलेसम्म तेस्रो पटकमात्र महाधिवेशन हुन सकेको छ ।
गत फागुनमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि भ्रातृ संस्थाहरुको चुनाव ६ महिनाभित्र गर्ने उद्घोष गरेका थिए ।
महिला संघको पनि यही महिनाको अन्त्यमा महाधिवेशन हुँदैछ ।