arrow

माओवादी केन्द्र राष्ट्रियताबारे लड्ने वा आत्मसमर्पण गर्ने विन्दुमा छः बादल

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
badal-prg.jpeg
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन्। विदेशी दलालले सिधै आफैं नआई देशभित्रैबाट दलाल खडा गरेर विकासोन्मुख मुलुकहरुमा शासनसत्ता चलाउँदै आइरहेको बताउँदै त्यस्ता दलाललहरुलाई परास्त गर्नुको विकल्प पार्टीसँग नरहेको बताए। 
 
सरकारको नेतृत्व गरिरहँदा पनि माओवादी केन्द्रसामु राष्ट्रियताबारे लड्ने कि आत्मसमर्पण गर्ने ? भन्ने विषय मुख्य चुनौति बनेर देखा परेको उनले बताए। माओवादी केन्द्र सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धिसम्झौताको चाङ लागेको उनले भने ‘यो सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सकिन्छ कि सकिँदैन ? पार्टीसामू ठूलो चुनौति आएको छ।’
 
राजधानीको संवाद डबलीमा सोमबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय समितिले आयोजना गरेको ‘बहिर्गमित जनमुक्ति सेना र हाम्रो मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बादलले सो भनाई राखेका हुन्। उनले जनयुद्धमा तत्कालीन शाही सेनालाई चुनौती दिँदै राजतन्त्र हटाउन सफल थुप्रै जनमुक्ति सेनालाई अयोग्यको संज्ञा दिएर समायोजनबाट बाहिर पठाएर राज्यले अपराध गरेको बताए। 
 
बहिर्गमित जनमुक्ति सेना क्रान्तिबाट आएको पूर्वजनसेना भएको र यो सामान्य सेना नभएको बताउँदै उनले भने ‘अरु सेनाभन्दा क्रान्तिकारी सेना पृथक छन्। त्यही बुझेर माओवादी केन्द्र सडक, सदन र सरकार हात हालेको छ। अब परिस्थिति प्रतिक्रियावादीहरुले सोचेजस्तो हुँदैन।’बहिर्गमनमा पारिएका जनमुक्ति सेनाको अधिकार र उसले गर्ने संघर्षबारे पार्टीले सोचिसकेको उनले बताए। पूर्वजनमुक्ति सेनाले जनताको अधिकारको लागि पुनः संघर्षमा जानुपर्ने दिन टाढा नरहेको भन्दै पार्टीले यसबारे ठोस कार्यक्रम ल्याउन लागेको बताए । 
 
अर्को प्रसंगमा नेता बादलले काठमाडौं–तराई फाष्ट ट्रयाक, अपर कर्णाली र राष्ट्रिय सुरक्षामा विदेशी स्वार्थमा प्रस्तावहरु आइरहेको बताए । सत्ताको नेतत्व गरिरहेका माओवादी केन्द्रका प्रभावशाली नेता मानिने बादलले भने ‘हाम्रो पार्टी राष्ट्रियता, जनअधिकार र जनजीविकाको मुद्दामा मनोगत र विचलित भएको कुरा साँचो हो । यी विषय जनताका शत्रु हुन् । यो अवस्था चिर्न पार्टीले सरकारको नेतृत्व गरेको हो । कसैले भर्याङ हालिदिएर पुगेको होइन ।’
 
सरकारको नेतृत्वलाई माओवादी केन्द्रले अवसरमा बदल्न सक्नुको विकल्प नरहेको बताउँदै बादलले नेतृत्वलाई अवसरको रुपमा परिणत गर्न नसके देश अस्थिरतामा जाने खतरा रहेको औल्याए।
 
‘देश विकास नहुनुमा भारत, अमेरिका, युरोप वा अरु कुनै दोषी होइनन्, देशभित्रका दलाल र कर्मचारीतन्त्र दोषी हुन्’ नेता बादलले भने ‘यही तत्वलाई परास्त गर्न युवाहरुले ठीक दिशा पक्रेर संघर्षमा जानुपर्छ ।’ शक्ति स्वार्थकै कारण कार्यपालिका र न्यायपालिकाबीच एकरुपता आउन नसकेको उनको भनाई छ।
 
पूर्ववत ओली सरकारको पालामा बहिर्गमनमा परेका पूर्वजनमुक्ति सेनालाई जनही दुई लाख रुपैयाँ रकम दिने भनी गरिएको मन्त्रिपरिष्द निर्णयलाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिष्दले त्यसैलाई निरन्तर दिने गरी दुई हप्ताअघि निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले हालै मात्र रकम नदिन आदेश जारी गर्दै भदौ १५ मा रिट र सरकार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। सर्वोच्चको आदेशप्रति बहिर्गमित जनमुक्ति सेनाले विरोध गर्दै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ