अमेरिकी सहायक विदेशमन्त्रीले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्दै
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
2.2k
Shares
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज सरकारका दुई उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता गर्दै छन् । आज सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि सहायक विदेशमन्त्री लू नेपालमा छन् । सरकारले एसपीपीमा संलग्न नहुने निर्णय गरे पनि निर्णयको पत्र अमेरिकालाई अझै पठाइसकेको छैन ।
सहायक विदेशमन्त्री लू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि गत वर्ष मङ्सिर १ मा नेपाल आएका थिए । उनको भ्रमणसँगै नेपालले एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।
लू तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री लूले बिहीबार व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन्।
दूतावासका अनुसार विभिन्न व्यावसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग लूले भेट गर्ने कार्य तालिका छ । सो क्रममा नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नेछन् ।
दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ ।
अर्को तर्फ प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै मिति तय भएको छैन । अमेरिकासँग भ्रमणको नयाँ मितिबारे छलफल चलिरहेको छ।