arrow

एक दिवसीय क्रिकेटमा इङल्याण्डको कीर्तिमान, ४४४ रन बनाउन सफल

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
eng-cric.jpeg
नटिङघम । इङल्याण्डले एक दिवसीय क्रिकेटमा सर्वाधिक ४४४ रन बनाउने कीर्तिमान रचेको छ । पाकिस्तान विरुद्ध घरेलु मैदानमा नटिङघममा खेलेको इङल्याण्डले मंगलबार राति भएको खेलमा पहिले ब्याटिङ गर्दै बनाएको ३ विकेटको क्षतिमा ४४४ रनको योगफल अहिलेसम्मकै सर्वाधिक हो । यसअघि सन् २००६ मा श्रीलंकाले नेदरल्याण्डस् विरुद्ध ९ विकेटको क्षतिमा ४४३ रन बनाएको थियो । 
 
 
मंगलबार रातिको खेलमा एलेक्स हेल्सले १२२ बलमा १७१ रन बनाए । इङल्याण्डका कुनै पनि खेलाडीले यो आँकडा पार गर्न सकेका थिएनन् । त्यस्तै जोस बट्लरले ५१ बलमा अविजित रहँदै ९० रन जोड्ने क्रममा २२ बलमा अर्धसतक पूरा गर्दै कम बलमा अर्धसतक बनाउने इङलिश खेलाडीसमेत बनेका छन् । 
 
 
त्यस्तै जो रुटले ८६ बलमा ८५ तथा कप्तान इयोन मोर्गानले २७ बलमा अविजित रहँदै ५७ रन बनाए । 
 
 
जवाफमा पाकिस्तानले ४२.४ ओभरमा अलआउट हुँदै २७५ रन बनाउँदै १६९ रनको हार बेहोर्यो ।
 
 
सर्जिल खान र मोहम्मद अमिरले समान ५८ रन जोडे । मोहम्मद अमिरले सो योगफल जोड्ने क्रममा विश्वकै कीर्तिमान बनाएका छन् ।
 
 
अमिरले २८ बलमा ५८ रन जोड्दै कुनै पनि ११ औं नम्बरमा आएको ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रनको कीर्तिमान रचेका हुन् ।
 
 
उनले सो क्रममा ४ छक्का प्रहार गरेका थिए । 
 
 
यो खेलसंगै इङल्याण्डले पाँच खेलको श्रृंखलामा ३–० ले अग्रता लिंदै दुई खेलअघि नै श्रृंखलामाथि कब्जा जमाएको छ । 
 



नयाँ