arrow

महिला संघको चुनाव भब्य र सभ्य हुन्छ – डा. डीला पन्त संग्रौला

logo
बाबु नेपाली
प्रकाशित २०७३ भदौ १५ बुधबार
Dr.-Dila-Sangraula-Panta-2.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुँदैछ । ९ वर्षपछि हुन लागेको महाधिवेशन भब्य र सभ्य हुने अध्यक्ष डा. डीला पन्त संग्रौलाको दावी छ । नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले चार वर्षअघि अहिलेको कार्यसमितिलाई तदर्थमा परिणत गरी छ महिनाभित्र चुनाव गर्न निर्देशन दिएका थिए । तर चुनाव भएन । 
 
गत फागुनमा काँग्रेसका नयाँ सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र चुनाव गर्न निर्देशन दिएपछि भदौ अन्तिममा महाधिवेशन हुन लागेको हो । तदर्थ समिति अध्यक्ष डीलाले अहिलेसम्म ७० जिल्लाको अधिवेशन भइसकेकाले अब केही दिनमै सबै जिल्लाको अधिवेशन सकिने बताइन् । 
 
उनले भनिन्, ‘विवादरहित राजनीति कतै नहुने भए पनि हामीले सभ्य र भब्य महाधिवेशनको नमूना पेश गर्दैछौं, सामान्य विवादबाहेक कतै त्यस्तो चर्चा नै गर्नुपर्ने विवाद छैन ।’
 
२०५८ सालमा विराटनगरमा महिला संघको पहिलो महाधिवेशन भएको थियो । त्यसपछि २०६४ सालमा काठमाडौंमै दोस्रो महाधिवेशन भएको थियो । त्यसपछि भने अहिलेसम्म महाधिवेशन नहुँदा लोकतान्त्रिक पार्टीमा पद्धति नबसेको स्पष्टै देखिन्छ । किनकि चुनावी महाधिवेशनले संस्थालाई चलायमान गराउँछ । यही चलायमान र अवसरका लागि पनि महाधिवशेन हुनु जरुरी थियो । 
 
विवाद पदको !
 
महिला संघमा पनि तत्कालीन सभापति सुशील कोइरालाले दिएको निर्देशन टाउको दुखाइ भएको छ । उनले त्यतिबेला भएको कार्यसमितिलाई भङ्ग गरी तदर्थ समितिमा परिणत गरेका थिए । तदर्थ समितिलाई छ महिनाभित्र महाधिवेशन गर्नुपर्ने उर्दी थियो। साथै तदर्थ समितिका सबै ४५ जनाले चुनावमा उठ्न नपाउने सर्त थियो । त्यही सर्तले अहिले महिला संघमा पनि भाँडभैलो छ । उनीहरुले आफूहरुले पनि उठ्न पाउनु पर्ने दावी गर्दै आएका छन् । 
 
यसमा अध्यक्ष डीला भन्छिन्, ‘सुशील दा’ले त हामीलाई ६ महिनाका लागिमात्र चुनाव लड्न नपाउने भन्नु भएको थियो, अब त धेरै लामो समय भयो यसरी लोकतान्त्रिक पार्टीका उठ्न पाउने अधिकारबाट रोक्न पाइँदैन ।’ 
 
सुशील दा’ यतिबेला सबैका लागि मुर्ख ठहरिएका छन् । नेविसंघले त्यो सर्त मान्यो । तर तरुण दलले पनि त्यो सर्त मान्ने पक्ष देखिएको छैन । तरुण दलको यही भदौ २४ गतेदेखि पोखरामा महाधिवेशन हुँदैछ । तर तत्कालीन सभापति सुशील कोइरालाले त छ महिनाभित्र चुनाव गर्न भनेका थिए । तदर्थ समितिले छ महिनाभित्र चुनाव नगर्दा भने अलोकतान्त्रिक नबन्ने अनि अहिले आएर चुनावमा लड्न पाउने अधिकार हनन ? यत्रो समयसम्म चुनाव नगराउँदा पनि अलोकतान्त्रिक नहुने अनि फेरि पनि अलोकतान्त्रिक ? 
 
यस सम्बन्ध अध्यक्ष डीला भन्छिन्, ‘यो पार्टीले बुझ्ने कुरा हो, अहिले तदर्थ समितिका कसैलाई पनि नदिने हो भने नेतृत्वमा ठूलो भ्याकुम हुन्छ ।’ तर चार वर्षअघि नै महाधिवेशन गरेको भए अहिले अर्को महाधिवेशन गर्दा नयाँ नेतृत्व आउने नै थियो । 
 
चुनावी कार्यक्रम !
भदौ २९ – उद्घाटन, भृकुटीमण्डप 
भदौ ३० – बन्द शत्र, भृकुटीमण्डप 
भदौ ३१ – चुनाव, राष्ट्रिय सभागृह 
 
तेस्रो महाधिवेशनका लागि २२४४ जना महाधिवेशन प्रतिनिधी रहेका छन्। उनीहरुको खाने बस्ने प्रवन्ध गर्दै रहेको अध्यक्ष डीलाले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ