arrow

रिस्तीका आठ घर बाढीले पुरिए

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
landslidesrilamka.jpg.jpeg
लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएको हो । 
 
तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ । बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र हरिमाया खत्रीको घर पूर्णरुपमा पुरेको छ भने अन्य घरमा आंशिक क्षति भएको छ । आज बिहान २ बजेतिर आएको बाढीले स्थानीयवासी चन्द्रबहादुर बसौला, जगतबहादुर गौली, विष्णुप्रसाद पौडेल, बोधकुमारी पौडेल, कुलप्रसाद पौडेल, नारायणदत्त पौडेलको घरमा आंशिक क्षति भएको छ । 
 
बाढी मध्यरातमा अएको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । मिर्लुङको लप्सी भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरो गर्जनका साथ आउँदै गर्दा स्थानीयवासी भाग्न सफल भएका हुन् । “मध्यरातमा शौचालय निष्किए, भूकम्पको जस्तै आवाज आयो, पछि बाढीसँगै ढुङ्गा आउन थालेपछि घरका अरु सदस्यलाई उठाएर भाग्न सफल भएकाले ज्यान बचाउन सकियो” स्थानीयवासी चन्द्र बसौलाले भने । 
 
बाढीले घर पुरिँदा समेत आफू बाँचेकोमा आफैँलाई अचम्म लागेको पीडित पुरुषोत्तम रेग्मी बताउछन् । रेग्मीले भने “घरमा सुतिरहेको थियौँ, अचानाक ढोकामा ढुङ्गा बज्रिन थालो, सुरुमा त कसैले हान्यो की जस्तो लागेको थियो, पछि कोठामा पानी नै छिर्न थालेपछि पछाडिबाट भाग्न सफल भयौँ ।” 
 
किराना व्यवसाय गर्दै आएका रेग्मीले घरभित्रको सामान सबै पुरिएको बताए । घर पूर्णरुपमा क्षति नभए पनि सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लगाइएको छ । बाढीले घर बस्ती पुरिएपछि कति क्षति भयो भन्ने यकिन भएको छैन । बाढीपीडित क्षेत्रमा तत्काल उद्धारको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले जानकारी दिनुभयो । 
 
बाढीले वस्तीसँगै १५ रोपनीभन्दा बढी धान खेत, स्थानीय मठमन्दिर पुरेको छ । बाढीले बेसींशहर, दुईपिप्ले सवारी पनि ठप्प भएको छ भने कुन्छादेखि दमौली, पोखरा, काठमाडाँैलगायतका स्थानमा जाने सवारी आवागमन अबरुद्ध भएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ