arrow

चुरे दोहनले वर्षेनी खेती योग्य जमिन विनास हुँदै

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ भदौ १५ बुधबार
chure-news-aaa.jpeg
उदयपुर । चुरे क्षेत्रमा हुने वन विनासका कारण भूमिगत जलाधारमा असर पर्न गई भूक्ष्य र बगर बढ्दै गएपछि त्रियुगा नदी आसपासको क्षेत्रमा खेती योग्य जमिनको विनास हुँदै गएको छ । जमिनको विनाससंगै  सिंचाइ र खानेपानीका स्रोतमासमेत असर पर्दै गएको छ ।
 
चुरेबाट बग्ने झण्डै डेढदर्जन खोलाखहरेले मार्ग परिर्वतन गर्दा खेतीयोग्य जमिनको विनास हुदै गएको हो । खोलाखहरेको मार्ग परिर्वतनसंगै तल्लो तटीय क्षेत्रका मानव वस्ती समेत खतरामा पर्दै गएका छन् । 
 
परिपक्क भइनसकेको भू–वनोट रहेको चुरे पहाडबाट ढुंग, गिटी र बालुवाको दोहन हुँदा यस क्षेत्रमा वातावरणीय असर उत्पन भएको छ । जसका कारण मधेस, महाभारत क्षेत्र र तराइमा समेत प्रतिकुल असर परी कृषि उत्पादनमा संकट देखा पर्न थालेको किसानहरुले बताएका छन् ।
 
माथिबाट बगेर आएका खोला खहरेबाट अनियन्त्रित गिटी बालुवाको दोहनले तल्लो क्षेत्रमा गेगर थुप्रेर खोला र नदीको सतह बढ्न गई बाढीको प्रकोप बढ्दै गएको त्रियुगा नगरपालिका–२ का उद्घव काफ्लेले बताए ।  नदीको केही स्थानमा सतह घटन गई सिंचाइलगायत खानेपानीमा समेत कठिनाई हँुदै गएको उनको भनाई छ । 
‘अस्थिर सतहको माटो क्षय भएकाले माटोको उर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएका कारण वर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुख्खा समयमा खडेरी हुने गरेको छ, काफ्लेले भने, ‘खोलाखहरेमा पानीको सतह तलमाथि हुँदा भावर क्षेत्रका सर्वसाधारणमा खानेपानीको समस्या छ ।’
‘चुरे क्षेत्रको वन विनासले जैविक विविधतामा असर पुगेको छ’ त्रियुगा नदी बचाउ अभियानका संयोजक कुमारसिंह कार्कीले भने, ‘जैविक विविधताको असरले मुख्यरुपमा चुरेमा आश्रित, चुरेसंग प्रत्यक्ष एव परोक्ष सरोकार भएका मानव वस्तीमा असर परेको छ ।’
 
कुकाठका नाममा चुरे क्षेत्रमा पाइने जैविक जडिबुटी हर्रो बर्रो, अमलालगायतका विरुवा विनास भइरहेका छन् । साललाई मात्रै काठ र अन्य सबै कुकाठका नाममा उपभोक्ता समूहले बिक्री गर्ने गरेका कारण जैविक जडिबुटी मासिदै गएको स्थानीय उपभोक्ता बताउँछन् । 
 
जैविक जडिबुटी र वन सम्पदाको संरक्षण गर्न एक वर्षयता चुरे क्षेत्रमा हरियो रुख कटानमा रोक लगाइएको जिल्ला वन अधिकृत किशोरचन्द्र गौतमले बताए । ‘हरियो रुख कटान रोकिएपछि चुरे क्षेत्रमा केही सुधार भएको छ’ उनले भने, ‘यो प्रयासले जैविक विविधताको संरक्षणमा केहि सुधार हुन थालेको छ ।’
 
पूर्वपश्चिम भएर फैलिएको चुरे वन श्रृंखला उदयपुर, सिराहा र सप्तरीको सीमाना पनि हो । माथिल्लो क्षेत्रको उदयपुर तर्फ संरक्षणमा लागेपनि तल्लो क्षेत्रका सिराहा र सप्तरीबाट चुरेमा आक्रमण भइरहेकाले समस्या समाधान हुन सकेको छैन । चुरे क्षेत्रमा हुने जैविक विविधताको असर सिरहा र सप्तरीमा परेपनि त्यहाँका स्थानीयले वास्ता नगरेको त्रियुगा उच्च मा वि गाइघाटका प्राचार्य सुवास विष्ट बताउँछन् ।
 
चुरे पहाडमा शीर भएर बग्ने बलान, खाँडो, महुली जस्ता खोलाले सिरहा र सप्तरीका हजारौं हेक्टर खेती योग्य जमिन मरुभूमिमा परिणत गरिदिएको भएपनि जनचेतनाको अभावका कारण  चुरेको दोहन रोकिन नसकेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ