arrow

माधव र झलनाथबीचकाे खट्पट चरमतिर, मन्त्रीलाई जसले भेट्यो उनैले दिन थाले निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
madhav-jhalanath-final.jpg
तस्बिर– फाइल

काठमाडौं । पार्टीको निर्णय विपरीत नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारमा सहभागी मन्त्रीहरुलाई घरमा बोलाएर छलफल गर्न थालेपछि अध्यक्ष माधवकुमार नेपालले चासो व्यक्त गरेका छन् । 

सम्मानित नेता खनालले सरकारमा सहभागी मन्त्रीहरु भवानी खापुङ, हिराचन्द्र केसीलाई घरमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा छलफल गरेपछि अध्यक्ष नेपालले चासो व्यक्त गरेका हुन् ।

जसले गर्दा दुई नेताहरुबीच खटपट शुरु भएको छ । स्थानीय तह निर्वाचनदेखि दुई नेताबीच खटपट जारी रहेको छ ।  अध्यक्ष नेपालसँग खटपट भएका बेला स्वास्थ्य मन्त्रालयबाट खरिद स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको विषयमा नेता खनालले दुई मन्त्रीलाई आफ्नै निवासमा बोलाएर जानकारी लिएपछि खटपट थप चुलिएको हो । 

खनालले स्वास्थ्यमन्त्री भवानी खापुङ र राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नै निवासमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको खबर आइरहेको र यसले पार्टीलाईसमेत बदनाम गराउन सक्ने भन्दै चासो राखेको स्रोतको दाबी छ । 

सात प्रकारका स्वास्थ्य उपकरण खरिद गर्दा ४१ करोड रूपैयाँ अपचलन भएको भन्दै खनालले चासो राखेका हुन् । नेपाल र खनालले आपसमै सल्लाह नगरी पार्टीका मन्त्रीहरूलाई निर्देशन दिने गरेको स्रोतको दाबी छ ।

 ‘दुई नेताहरू जसले भेट्यो उसैले मन्त्रीहरूलाई निर्देशन दिने गरेका छन् । उनीहरूको यो शैली ठीक छैन’, नेकपा एस सचिवालयका एक सदस्यले भने । ती सदस्यका अनुसार नेता खनालले यसअघि पनि पार्टीमा छलफल नगरी अभिव्यक्ति दिएको भन्दै सचिवालय बैठकमा आलोचना भएको थियो । 

अहिले पनि उनले स्वास्थ्य मन्त्रालयका मन्त्रीलाई बोलाएर स्वास्थ्य उपकरण खरिदमा भएको घोटलाबारे चासो राखेको विषयलाई अध्यक्ष नेपालले निको मानेका छैनन् ।  

स्थानीय तह निर्वाचनपछि वाम गठबन्धन बनाएर जानुपर्छ भन्ने धारणा सम्मानित नेता खनालले राख्दै आएका छन् । उनले आफ्नो गृहजिल्ला इलाममा स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गर्न पार्टीका नेता–कार्यकर्तालाई भनेका थिए । 

खनालकै निर्देशनमा इलाममा एमाले र नेकपा एसको सहकार्यमा जिल्ला समन्वय समिति गठन भएको छ । यस विषयमा पार्टी सचिवालय बैठकमा खनालको विरोध भएपछि उनी केही समय चुप लागेका थिए ।

 ‘स्थानीय तहको निर्वाचनपछि नै उहाँहरुको दृष्टिकोण बाझिएका छन्, अहिले सरकारमा सहभागी मन्त्रीहरुलाई घरमा बोलाएर छलफल गर्नुले नियतमाथि शंका उत्पन्न भएको छ’, नेपाल निकट रहेका एक सचिवालय सदस्यले भने । 

पार्टी अध्यक्ष नेपालकै सहमतिमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने निर्णय गरेपछि खनाल रुष्ट बनेका थिए । 

खनालले बालुवाटार पुगेर प्रधानमन्त्रीलाईसमेत यो विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । तर पार्टी अध्यक्ष नेपालले हटाउन निर्देशन दिएपछि नयाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि कार्यकारी अध्यक्षबाट अधिकारीलाई हटाउने निर्णय उल्टाउन सकेनन् । 

अधिकारीलाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक हटाउने निर्णय गरेको छ। यसबाट नेता खनाल निकै तनाबमा छन् । 

यो विषयलाई लिएर पनि नेताद्वयबीच खटपट शुरु भएको हो । खनालकै आग्रहमा अधिकारीलाई कार्यकारी अध्यक्ष बनाइएको थियो । अधिकारी पार्टी अध्यक्ष नेपालविरुद्ध लागेपछि उनलाई हटाउन सिफारिस गरिएको स्रोतको दाबी छ । 

त्यतिमात्र होइन स्थानीय तहको चुनावपछि १५ असारमा सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा सम्मानित नेता खनालले आमनिर्वाचनमा पार्टीको पहिलो प्राथमिकता एमालेसहितको वामपन्थी गठबन्धन बनाउने दिशामा हुुनुपर्ने धारणा राखेका थिए । 

उनले केपी ओली प्रवृत्तिबाहेक आलोचना गर्न नहुने र स्थानीय तह निर्वाचनको परिणामबाट पाठ सिकेर एमालेसँग जिल्लाजिल्लामा हुन सक्ने सम्भावित तालमेलका लागि ढोका खुला राखेर जानुपर्ने विचार राखेका थिए । 

तर अध्यक्ष माधव नेपालले भने ओलीले संसद् विघटनबारे आत्मालोचित नभएसम्म गठबन्धन र तालमेल केही पनि सम्भव नहुने र मूल नेतृत्व नै बाधक बनिरहेका वेला गठबन्धन गरेर जाने कुरा घातक हुने भएकाले अलमलमा पर्न जरुरी नभएको विचार राखेका थिए । दुवै नेता अहिलेसम्म आ–आफ्नै विचारमा अडिग भएकै कारण पनि खटपट शुरु भएको स्रोतको दावी छ । 

बुधबार बसेको सचिवालय बैठकमा पनि यो विषयमा चर्चा भएको थियो । बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेर गठबन्धनबाट आउने परिणामपछि मात्रै वामपन्थीहरुबीचको सहकार्यलाई टुग्याउने गरी बैठक सकिएको थियो । सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रिया बारेमा प्रस्ताव तयार गर्न महासचिव डा वेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । 

बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ । पूर्वप्रधानमन्त्री खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय डा गङ्गालाल तुलाधार, डा विजय पौडेल र प्रकाश ज्वालालाई दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ