काठमाडौं । निलम्बन खोल्नेसहितका आन्तरिक विवाद मिलाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको टोली नेपाल आउने भएको छ । आइसीसीको टोलीे पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको आधिकारिकता विवादलगायतको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।
समस्या समाधान गर्ने निकाय राष्ट्रिय खेलकुद परिषद राखेप नै समस्याको जड बनेपछि विवाद भएको हो । एउटा निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेपछि भने समस्या थपिएको हो ।
अहिले भने राखेपकै पहलमा आईसीसीको उच्चस्तरीय टोली आउन लागेको हो । टोली भदौ १९ गते नेपाल आउने कार्यक्रम तय भएको छ ।
आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
आईसीसीले राखेपलाई पठाएको पछिल्लो पत्रअनुसार आईसीसी टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख छन् ।
टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुदमन्त्री दलजित श्रीपालीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ ।
नेपाल क्रिकेट संघ गत बैशाख १२ गतेदेखि निलम्बनमा छ ।