काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको आसन्न तेस्रो महाधिवेशनलाई लक्षित गरेर नेता कृष्णप्रसाद सिटौला समूहले भेला गरेको छ । सिटौलाले आफ्नै निवास चण्डोल (चप्पलकारखाना) मा गरेको भेलाले आजबाटै निर्वाचनमा पूर्ण बलका साथ लाग्ने निर्णय गरेको छ ।
सिटौलाले भेटघाटको रुपमा मात्रै भेला बोलाएपनि सहभागिहरुले आगामी महिला संघको नेतृत्वका लागि उठ्ने उम्मेद्वारी कसरी तय गर्ने भन्ने सन्दर्भमा छलफल गरे । सिटौलाका सहयोगी किरण सिटौलाका अनुसार हालसम्म सिटौला समूहबाट उम्मेद्वार तय भइसकेको छैन ।
भेलामा सहभागि महिला संघकी केन्द्रीय सदस्य मालती सोडारीले आफुहरु भन्दा पनि नेताकै समूहले उम्मेद्वार तय गर्ने गरी छलफल भइरहेको बताइन्। उनले भनिन्, ‘यो भेटघाट जस्तो मात्रै हो । अब तीब्र गतिमा निर्वाचनका लागि लाग्ने कुरा भएको छ । उम्मेद्वार हालसम्म तय भएको छैन ।’
सिटौला समूहले विधान के गर्ने र पुरानालाई उम्द्वार उठ्न दिन नदिनेबारे छलफल गर्नु पर्ने भएकाले जिल्लाबाट आउनेहरुको भेला गरेर मात्रै अघि बढ्ने मनसाय बनाएको छ । सिटौलाको निवासमा भएको भेलामा कांग्रेस नेताहरु भिमसेन दास प्रधान, प्रदीप पौडेल, शिव हुमागाई, गुरु बराल, दिपक अधिकारी लगायत सहभागि थिए । यस्तै, महिलासंघका पदाधिकारीहरु, महाधिवेशनका लागि जिल्लाबाट आएका महिला संघ नेतृहरु सहभागि थिए ।
केन्द्रीय सदस्य सोडारी, लीला नेपाल, रविकला खनाल, मैना कार्की, धन खतिवडा, शुभलक्ष्मी मानन्धर, गोरखाकी अध्यक्ष मनकुमारी गुरुङ, सचिता कुइँकेल लगाएतले तीजको शुभकामना समेत आदान प्रदान गरे । यस्तै, भेलामा मृदुला कोइराला समेत सहभागि भएकी थिइन् ।
नेपाल महिला संघको तेस्रो महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुँदैछ ।