arrow

निष्ठाको अर्को अवसान !   

logo
नारायण पौडेल, 
प्रकाशित २०७९ भदौ ६ सोमबार
narayan-poudel-article-pradip-giri.jpg

प्रदीप गिरी जिवितै छँदा पनि चर्चामा थिए । निधन भएसँगै पनि चर्चामा छन् । र, भोलि पनि चर्चामा नै हुने छन् । एकाध व्यक्तिहरुको जीवन मात्रै यसरी सधै चर्चामा भइरहन्छ । वास्तवमा गिरी सानै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा लागिरहे । समाजवाद र मार्क्सवादको गहिरो अध्ययन गरे । अनि अरुलाई सिकाउनसमेत सफल देखिए । त्यसमाथि सादगीपूर्ण सरल उनको जीवनशैली, पदीय लोभ लालचाबाट मुक्त उनको व्यवहार र आध्यात्मिक चिन्तनले उनलाई करिब पूर्ण बनायो । 

आखिर मानवीय चोला जन्मेपछि मर्नु नै पर्दछ । मात्रै ढिलो या चाँडो भन्ने हो । जीवनका अनेकन आरोह अवरोहबीच पछिल्लो समय क्यान्सर रोगको शिकार भएका गिरी उपचारकै क्रममा आफ्नो देह लीला समाप्त गर्न वाध्य भए । सिराहाको बस्तीपुर गाउँमा २००४ सालमा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरी उमेरको कुरा गर्ने हो भने औषत उमेरमै अस्ताए । तर देशलाई ठूलो क्षति हुन गयो । 

राजनीतिक पृष्ठभूमिको परिवार र आफ्ना बुबाको प्रेरणाबाट सानै उमेरमा राजनीतिमा लागेका गिरी २०२५ साल र २०४२ सालमा गरी करिब चार वर्ष जेलमा बसे । भारतस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र तथा दर्शनशास्त्रमा स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुची राख्ने गर्दथे । गिरी कांग्रेस संस्थापक नेता वीपी कोइराला निकट मानिन्थे । भारतको वनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै उनको सामिप्यता वीपीसँग थियो । तथापि लामो समयसम्म कांग्रेस सत्तामा हुँदा पनि वीपीको विचारलाई विशिष्ट स्थान दिन नसकेकोमा उनी सदैव चिन्तित थिए ।
स्वर्गीय गिरीले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएका थिए । कांग्रेसको राजनीतिमा रहे पनि गिरीले मार्क्सवादको अध्येतासँगै बौद्धिक नेताको छवि बनाएका थिए । त्यसैले उनी राजनीतिमा सबै तहका व्यक्तिमाझ उत्तिकै लोकप्रिय थिए भने कम्युनिष्ट विचारधाराका नेता तथा कार्यकर्तालेसमेत उनलाई निकै श्रद्धा गर्दथे । पदीय हिसाबले उनको ढोका बारम्बार अवसरले घेरे पनि त्यसको बेवास्ता गर्दै गिरीले पूर्णरुपमा पद बाहिर बसी सादगी जीवन बिताए । समाजवादी विचारको अनुशरण गरिरहे ।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गिरी २०५६ सालको आमनिर्वाचनमा पराजित भएका थिए भने २०६४ र २०७० को संविधान सभामा समानुपातिक तर्फबाट सभासद बनी संविधान लेखनमा योगदान गरेता पनि गिरीले संविधानमा हस्ताक्षर गरेनन् । गिरीले २०७४ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जिते । उनी चार पटक सांसद भए तर मन्त्री बनेनन् । पार्टीबाट उनलाई मन्त्रीको प्रस्ताव आए पनि उनले चासो दिएनन् वा मन्त्री बन्नका लागि उनी कहिल्यै पनि लालयित भएनन् । 

उनी भन्थे, ‘मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ, सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने, जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफू सकिने डर हुन्छ । यसर्थ मेरो जीवन सत्यको चिन्तन गर्ने र समाजवादको बाटो बनाउने तर्फ मात्रै केन्द्रित गर्नुछ ।’ 

जुनसुकै अध्ययनमा अद्भूत, विचारमा विलक्षणता र बोलीमा प्रष्टता देखिने गिरीको प्राथमिकता जहिले पनि अग्रजभन्दा युवातर्फ रहन्थ्यो । त्यसैले उनले सत्ता, संसद, समाज र व्यवस्था मात्र होइन दलभित्र पनि निरन्तर प्रतिपक्षी आवाज बन्न आफ्नो उर्जा खर्च गरिरहे । यसैले पनि गिरीलाई कम्युनिष्ट नेताहरुले मार्क्सवादका अध्यताको रुपमा लिने गर्दछन् । किनकि कम्युनिष्टहरुलाई थाहा नभएको मार्क्सवाद प्रदीप गिरीले व्याख्या गर्दथे । त्यस्तै ‘राजनीतिमा वैचारिक दृढता र दूरदर्शिता हुनुपर्दछ’ भन्ने अडान भएका गिरी वातावरणीय संरक्षणलाई समाजवादसँग जोडेर बोल्न सक्ने क्षमता राख्दथे भने जीवन र जगतको चिरफार गर्ने अद्भूत शक्ति उनीमा निहीत थियो ।

एक संभ्रान्त परिवारमा जन्मिएका भए पनि गिरीले आफ्नो वैभवतर्फ कहिल्यै आशक्ति देखाएनन् र आफ्नो भएको सम्पत्तिसमेत आश्रमका नाममा दिइसकेका छन् । उनले निकै सरल र सादा जीवन बाँचे । साधारण कुर्था सुरुवाल लगाएर देश घुमे, मार्क्सवाद, वीपीको प्रजातान्त्रिक समाजवाद,  समाजशास्त्र लगायतका विषयहरुको गहन अध्ययन गरे । फलस्वरुपः युवादेखि वृद्धसम्म, प्राज्ञिकदेखि श्रमिकसम्म सबैका प्रिय बन्न सफल भए । 

गान्धीको शान्ति र अहिंसाको मार्ग अनुशरण गर्ने उनले जीवनभर अन्याय, अत्याचार र हिंसाको विरोध गरे । भारतीय समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता विशिष्ट व्यक्तित्वहरुको संगतले उनलाई लोकतन्त्र र समाजवादप्रति दृढ बनायो । उनले पछिल्लो समयमा पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरुलाई राज्यको मूलप्रवाहमा ल्याउन नसक्दा लोकतान्त्रिक गणतन्त्र कमजोर भएको विचार प्रवाह गरिरहेका थिए । त्यस्तै गणतन्त्रले सबै क्षेत्र, जातजाति, भाषाभाषीलाई समेट्नु पर्ने धारणा राख्ने गिरी वास्तवमा भन्नुपर्दा कांग्रेसभित्र संघीयता र गणतन्त्र प्रवेश गराउने नेतृत्वकर्ता थिए ।

वीपीपछि गिरी कृष्णप्रसाद भट्टराईका प्रिय पात्र बने । तर कृष्णप्रसाद भट्टराई मध्यावधि निर्वाचन २०५१ मा लडनु हुँदैन भन्ने अभिव्यक्ति दिएर भट्टराईको इच्छा र रुची बेगर आफ्नो भिन्न छवि बनाउन खोजेका थिए । नतिजा पनि गिरीले भनेजस्तै भयो, भट्टराई पराजित भए । अर्कोतर्फ २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा उनलाई जिताउन सिराहा पुगेका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आम सभामा भनेका थिए, ‘तपाईहरु प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्रीसहित प्रधानमन्त्री बनाउँछु ।’ तर गिरीले चुनाव जितेनन् र हारेपछि भनेका थिए, ‘मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो, किनकि मैले किसुनजीको आग्रह टार्न सक्दिनथें, तर भगवानले चुनाव हराएर त्यो अवस्थाबाटै मुक्त गरिदिए ।’

वास्तवमा प्रदीप गिरीको खास रुचीको विषय राजनीति होइन भन्ने गरिन्छ । उनको रुची त साहित्य, अध्यात्म र लेखन थियो । तर उनको चर्चा राजनीतिकै कारण बढी भयो । किनकि उनी राजनीतिमा घुमाउरो कुरा नगर्ने, मन्त्री वा लाभको मोह कहिल्यै नराख्ने, पार्टी ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने व्यक्ति थिए । गिरी मुलुकमा देखिएका राजनीतिक विकृति तथा विसंगतिप्रति स्पष्ट धारणा राख्ने निर्भिक नेता थिए । आफ्ना पार्टीका शीर्ष नेतालाई मात्र होइन अन्य राजनीतिक दलका नेता कार्यकर्तासँग पनि आँखामा आँखा जुधाएर उनीहरुका कमजोरी औंल्याउने हिम्मत भएका गिरीलाई गान्धीवादी नेता मान्ने गरिन्छ । सबैजसो दलले बौद्धिक नेताका रुपमा मान्ने गिरीको छवि मित्रराष्ट्र भारत सहितका अन्य देशहरुमा पनि प्रभावकारी थियो । 

प्रदीप गिरीमा भएको आलोचनात्मक चेत र धारिलो बौद्धिक क्षमताको कारण भाषणमा विरोधी पार्टीहरुको पनि रोजाइमा पर्ने गर्दथे । आफ्नो पार्टी र नेताहरुको मात्रै नभइ अन्य पार्टी र तिनका नेताको कमजोरी सीमा, बाध्यता, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको विगत, वर्तमान र भविष्यबारे तार्किक, सूक्ष्म तथा सान्दर्भिक विश्लेषण गर्न सक्ने खुबी उनमा थियो । त्यसैले गिरीको भाषण सुन्न मानिसहरु जहिले पनि लालायित बन्ने गर्दथे । 

विभिन्न ऐतिहासिक पौराणिक सन्दर्भ, दन्ते कथा र धार्मिक ग्रन्थहरुलाई आफ्नो भाषा र भाषणमा घुसाउन खप्पिस गिरी बौद्धिकहरुको लागि बौद्धिक खुराक पनि थिए । उनको बोली सामान्य तर बोली भित्रको वाणीमा निकै दम भएको र मान्छेलाई बोलीले नै मन्त्रमुग्ध पार्न सक्ने सामथ्र्य गिरीमा थियो ।

भनिन्छ स्वतन्त्रता, समानता र शान्तिका पक्षपाती उनको जीवनशैली भने व्यवस्थित थिएन । उनी कहाँ खान्थे, कहाँ सुत्थे, के गर्दथे लगायतका कुराहरुको कुनै ठेगान थिएन । हुन पनि यस्ता चिन्तकको जीवनशैली यस्तैखालको हुने गर्दछ । किनकि व्यवस्थित जीवनशैली अवलम्वन गर्ने व्यक्तिले गहन अध्ययन गर्नै सक्दैन । त्यसैले उनी नेपाली राजनीतिमा निकै अग्ला कदका नेताका रुपमा उदाए । वास्तवमा प्रदीप गिरी वीपी कोइराला पछिका समाजवादी चिन्तक र बौद्धिक व्यक्तित्व थिए ।

यतिसम्मकि काठमाडौमा प्रायः भाडावालकै रुपमा रहेका गिरीले समयमा भाडा नतिर्ने वा आफूसँग भएका बेला घरबेटीलाई जति पनि पैसा दिने गर्दथे । उनको स्वभाव भाडा तिरेको वा बाँकी रहेको हिसाब नराख्ने खालको थियो । घरधनीले महिनौंसम्मको बिजुली, पानी, फोन लगायतको बिल जोड्ने तर त्यसको हिसाब मिल्दैनथ्यो । गिरी भने मैले सबै भाडा चुक्ता गरिसकेको छु भन्ने खालको हुँदा घरधनी र उनीबीच बेला बेलामा विवाद भइरहन्थ्यो । गिरीको यस्तो स्वभाव गलत मनसायले प्रेरित थिएन । उनको अव्यवस्थित जीवनशैलीको उपज थियो ।

चिन्तक तथा दार्शनिकहरु कहिल्यै मर्दैनन् । अरस्तु कहिल्यै मर्दैनन् न कार्लमाक्र्स मर्दछन् । त्यस्तै महात्मा गान्धी सदा जीवित रहन्छन् र वीपी पनि सधै अमर नै हुन्छन् । यसरी नै प्रदीप गिरी पनि एक चिन्तक र वैचारिक नेताका रुपमा कहिल्यै मर्ने छैनन् । तर उनको भौतिक शरीर अब हामी माझ रहेन । कहिल्यै पनि लाभको पदमा नबसेका गिरीको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पार्टी नेतृत्वको सरकारले उपचार खर्च ब्यहोर्ने प्रस्ताव गरेकामा उनले त्यसलाई अस्वीकार गरे । उनले पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकले गर्ने सहयोग बाहेक राज्य तहबाट हुने कुनै पनि आर्थिक सहयोग लिएनन् ।

त्यस्तै विचार नमिल्नेप्रति कहिल्यै घृणा भाव व्यक्त नगर्ने, दृढ विश्वास अभिव्यक्त गर्न कहिल्यै नछाड्ने, तथ्य बदलिँदा आफू बदलिने तर त्यसलाई वैचारिक विचलन नठान्ने, समाजवादको अभ्यास वैचारिक र परोपकारी दुवै रुपमा गर्ने, ज्ञान, दर्शन, स्मरणशक्ति र प्रखर अभिव्यक्तिका पुञ्जका रुपमा प्रदीप गिरीलाई लिन सकिन्छ । साथै गिरी एक अध्ययनशील चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याताको रुपमा नाम र प्रभाव जमाएका व्यक्ति थिए । यसर्थ नेपालको हकमा पदीप गिरीको निधनसँगै समाजवादको एउटा विश्वविद्यालय सदाका लागि बन्द हुनुका साथै अब कांग्रेसमा वीपी विचारको अन्त्य हुने हो कि भन्ने चिन्तासमेत छाएको छ । एक निर्भिक निष्ठावान् नेता प्रदिप गिरीप्रति हार्दिक श्रद्धाञ्जली !!! (लेखक अधिवक्ता हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ